Apr 19, 2024, 05:44 PM

FOLLOW: FacebookTwitterYoutube

आफ्नै सिक्का खोटो भएपछि

आफ्नै सिक्का खोटो भएपछि
प्रदीप नेपाल
गोरखापत्र १६ मार्ग

नेपाल, नागरिकता पीडित मुलुक हो । दक्षिणी छिमेकीका लागि मानव ‘सप्लाई’ केन्द्र नै भएको छ हाम्रो नेपाल । उत्तरका पनि शरणार्थीका नाउँमा नेपालमै छोरानाति जन्माएर बसिरहेका छन् । सबैभन्दा पहिले सन् २००० मा अष्ट्रेलियामा भेटेको थिएँ मैले दक्षिणबाट भित्रिएका नक्कली नेपालीहरु । उनीहरुले मलाई भनेका थिए, नेपालमा नागरिकता र पासपोर्ट बनाउन सजिलो भएको हुनाले हामीले अलिअलि पैसा खर्च गरेर यो काम गरेका हौं । ‘अलिअलि पैसा’ ले कटक्क मन खाएको थियो ।
लालबुझक्कड नेपालीहरु बहुदलपछि भारतीयहरुको ओइरो लाग्यो भनेर वितण्डा मच्चाइरहन्छन् । तर यो त पञ्चायती शासनको निरन्तरता रहेछ । नक्कली नागरिकता बहुदलको सन्तान होइन रहेछ । नागरिकता विवादको शीर्षस्थानमा हुनुहुन्छ राजेन्द्र महतो । उहाँले आफ्नो भारतभक्ति कहिल्यै लुकाउनु भएको छैन । लुकाउने आवश्यकता महसुस गर्नु भएको पनि छैन । त्यसैले नाकाबन्दी ‘आन्दोलन’ मा उहाँको नागरिकता प्रकरण छङ्गाछुर भएर बाहिर आयो । उहाँले २०२७ सालमा, अर्थात मुलुकमा ‘पन्चायती प्रजातन्त्र’ भएको समयमा अङ्गीकृत नेपाली नागरिकता लिनु भएको रहेछ । बहुदलीय ब्यवस्थामा डालामा हालेर भारतीयहरुलाई नागरिकता बाँडियो भन्ने विद्धान मित्रहरुलाई पनि यतिबेला थाहा भैसकेको हुनुपर्छ – त्यसको ठीक दुई वर्षपछि राजेन्द्र महतोका पिताजीले पनि अङ्गीकृत नागरिकता नै लिनु भएको रहेछ । पन्चायतकालमा कडाइ गरिएको थियो नागरिकता भन्ने मित्रहरुलाई ज्ञान होस् – भारतीय नागरिक भैरहेका छोरा र बाबुलाई पालैपालो नागरिकताको परिचयपत्र दिने उतिबेलाको शक्तिशालि जिल्ला प्रमुख, प्रमुख जिल्ला अधिकारी नै थिए । भारतीय नाकाबन्दीलाई चर्काउन ज्यान फालेर लागेकै हुनाले राजेन्द्र महतोको नागरिकताको खोजी भएको हो । चूप लागेर बसेका भए कसैले उहाँको नागरिकताको खोजी गर्ने थिएन । त्यसैले मुर्छा पर्ने गरी सीमानाको दौडधूपमा लागेर दिल्ली र पन्चायत दुबैको पोल खोल्ने महतोजीलाई म चाहिँ धन्यवाद दिन चाहन्छु ।
भारतीय भनेर जान्दा जान्दै राजेन्द्र महतोलाई नागरिकता दिने प्रमुख जिल्ला अधिकारी पक्कै पनि नेपाली नै थिए । स्वयम् त्यतिबेलाको प्रमुख जिल्ला अधिकारी पन्चमाथिको महापन्च हुन्थ्यो । त्यस्ता महापन्चहरुले, कति हजार महतोहरुलाई नागरिकता दिए होलान् ! यो चाहिँ गम्भिर खोजीको विषय बनेको छ । यसमा राजेन्द्र महतो भन्दा ‘अलिअलि पैसामा’ नागरिकता बेच्ने खाँट्टी नेपाली प्रमुख जिल्ला अधिकारी पहिलो कारबाहीका अधिकारी बन्नुपर्छ ।
बरु बहुदल आएपछि नागरिकता सम्बन्धी सार्थक बहस आरम्भ भयो । कार्यदल बन्यो, छानवीन पनि भयो । वास्तविक मधेशी–नेपालीको पहिचान भयो भनेर म सम्पूर्णतामा दावी गर्दिन । तर पन्चायतमा भारतीयहरुले जति सजिलरी नेपाली नागरिकता पाउँथे, त्यसमा थोरथार सुधार चाहिँ भएकै थियो । गन्जागोल भए पनि पहिले नागरिकता नपाएका दलीत, गरीव, सिमान्तीकृतहरुको एउटा निश्चित सङ्ख्याले आफ्नो देशको नागरिकता पायो । छिरे होलान् त्यसभित्र भारतीयहरु पनि । तर पन्चायतले आँखा लाउन पनि नमानेको मधेशी–नेपालीले बहुदल आएपछि नै नेपाली नागरिकता पाएको हो भन्ने सच्चाइलाई कसैले अस्वीकार गर्न सक्दैन ।
इतिहासको सच्चाई अब धेरै उद्घाटित भैसकेको छ । भारतले नेपाललाई सिक्किम बनाउने भयो, भुटान बनाउने भयो भनेर आतङ्क मच्चाउनुको कुनै अर्थ छैन । ‘अलिअलि पैसामा’ बिक्ने नेपाली भेट्टाएपछि भारत मात्र होइन मानव खरिदविक्री गर्ने कुन चाहिँ मुलुक रमिता हेरेर बस्छ । भारतले नेपाली मानव संशाधनमा कति ठूलो लगानी गरेको छ भन्ने सत्यको उद्घाटन ‘भारतीय मूल के मधेशियोँ का आन्दोलन’ कालको चलखेलले प्रष्ट पारिसकेको छ । भारतले नेपाली मान्छे किन्यो भनेर भारततिर फर्किएर थुक्नुको कुनै अर्थ हुँदैन । सत्तोसराप गर्नु पर्ने त ती नेपाली हुन् जो अलिअलि पैसामा बिकेका छन् । यी विकाउ नेपाली भन्दा कता हो कता महान छन् मलेशिया र अरबको भावरमा जीवनको बाजी लाएर काम गर्न गएका नेपाली कामदारहरु । नेपालभित्रका विकाउहरु भन्दा महान छन् त्यही भारतमा चौकिदारी गरेर सिङ्गो जीवन बिताउनेहरु । कम्तिमा उनीहरुले मुलुकका विरुद्ध गरिने षडयन्त्रमा हिस्सेदारी त जनाएका छैनन् ।
भारतले नेपाललाई सिक्किम र भुटान बनाउँछ भन्नेहरु तर्कहिन आशङ्का पढ्द म सधैंभरि छक्क पर्छु । त्यति ठूलो खर्च किन गर्नु पर्छ भारतले नेपाल माथि । हिजो सिक्किमलाई दिने सहयोगको तुलनामा भारतीय सङ्घमा गाभिएपछि भारतको राज्यकोषको खर्च बढेको छ । भुटानले यसो चीनतिर फर्किएर के हेरेको थियो, भारतको खर्च ह्वात्तै बढाउनु पर्ने स्थिति उत्पन्न भएको छ । एउटा सरकार ढाल्नु प¥यो । आपूm अनुकूलको अर्को सरकार बनाउनु प¥यो । सित्तैमा सरकार ढाल्ने बनाउने काम अन्त कतै हुँदैन ।
नेपालको सन्दर्भमा कति ढुक्क छ दिल्ली ! मधेश जाउ– त्यहीँ गोठाला छन् । पहाड जाउ– त्यहाँ पनि गोठालाको कमी छैन । सबैभन्दा ठूलो पार्टी भजनहारी भएको छ । एक फोनमा काम हुन्छ । एउटा दर्शनभेटमा सरकार पल्टिन्छ । अनि किन अतिरिक्त दुःख बेसाउनु प¥यो ?
समस्या दिल्ली होइन, हामीतिरै छ । भारतले युद्धको घोषणा गरेको छैन । भारतले पाकिस्तानसँग जस्तो अघोषित युद्ध पनि थालेको छैन । हो, सीमा मिचेको छ । सीमाक्षेत्रमा बस्ने नेपाली जनतालाई दुःख दिएको छ । तर परबाट हेर्दा नेपाल भारत बीचको सम्बन्ध सामान्य देखिने अवस्था अहिले पनि छ ।
यस्तो स्थितिमा, नेपालका राजनेताले चेतना र व्यवहारमा नेपाल निष्ठा देखाउनु पर्छ । दुई देशका प्रधानमन्त्रीको भेटमा हुने भन्दा बढी कुरा टेलिफोनमा हुँदा रहेछन् । त्यो पनि नचाहिने कुरामा । नोटबन्दी सबैभन्दा पछिल्लो प्रकरण हो । यो काम त दुई मुलुकका केन्द्रीय बैङ्कहरुले गर्नु पर्ने हो । हाम्रा प्रधानमन्त्रीलाई किन हतारो लागेको होला भारतका प्रधानमन्त्रीसँग उद्दारको आग्रह गर्न । बैङ्कहरुबाट समस्या समाधान भएन भने पो राजनीतिक समझदारीमा जानु पर्छ । उसै पनि भारतको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले पठाएका नोटहरु लिन्न भन्नै पाउँदैन । 
‘लम्पसारवाद’ एउटा विरुप शब्दावली आएको छ नेपाली व्यङ्गमा । त्यसलाई अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको नामसँग जोडिएको छ । यो मुखको तितो मात्र हो । नेपालमा ००७ सालपछि चालिस जना प्रधानमन्त्री भए होलान् । तर पदमा रहँदा नेपालका जम्मा जम्मी पाँच जना मन्त्री मात्र चोखा देखिएका छन् । यथा, विश्वेश्वरप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, मरिचमान सिँह श्रेष्ठ, मनमोहन अधिकारी र केपी शर्मा ओली । अरु पनि छन् भन्ने लाग्या छ भने नाम दिनु होला । मैले चाहिँ भेट्न सकेको छैन ।
वर्तमानका, खास गरेर साठी वर्ष नाघेका नेताहरु सबै असफल भैसकेका छन् । घुमाइ फिराइ अथवा आलोपालो गरी जति पटक प्रधानमन्त्री या पार्टी प्रमुख बनाए पनि तिनीहरुबाट राष्ट्रिय दायित्व पुरा हुँदैन । यो मेरो कसैप्रतिको आरोप होइन । म स्वयम् ६३ वर्ष पुगिसकेको छु । म आफ्ना सबै सहकर्मीलाई रामरी चिन्छु । लोभको जाँगर, दृष्टिकोणविहिन हेराई, खतराजन्य निर्णय गर्ने आँट मरेको, थाकेको साहस र इतिहासका गफ यो उमेरका नेताहरुको वास्तविक चिनारी हो । यो कुरो खालि दलका नेताहरुको सन्दर्भमा मात्र भनिएको होइन, राजा आउ देश बचाउ भन्ने अन्धभक्तहरुका लागि पनि हो । राजा आउ भनेर ज्ञानेन्द्र वीरविक्रम शाहलाई भनिएको हो । तर शाहजीको कुशासनको शिकार भएका लाखौँ नेपाली अहिले पनि जीवित छन् । 
मुुलुकले नयाँ आयाम खोजिरहेको छ – वास्तविक प्रजातन्त्रको आयाम । सही सङ्घीयताको आयाम । अब पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, महन्त ठाकुरजस्ता नेताहरु बसेर गरिने ‘सहमति’ का निर्णयहरु कुनै पनि हिसाबमा राष्ट्रिय हितको पक्षमा हुँदैनन् । यस्ता नेताहरुको निर्णय सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नागरिकले मान्नु पर्छ भन्ने वाध्यता पनि हुँदैन । जनता राष्ट्रियताका पहरेदार छन् भनेर जति दृढतापूर्वक भन्न सकिन्छ, त्यही विश्वासका साथ ठूला नेता पनि राष्ट्रियताका पहरेदार हुन्छन् भन्न सकिने स्थिति हाम्रा सामू छैन । नेता मात्र होइन, डाक्टर लेख्ने वा नलेख्ने वुद्धिजीविहरुको राष्ट्रिय निष्ठा पनि भारतीय नाकावन्दीको समयमा नाङ्गेझार भएर प्रदर्शित भएको छ ।
कोही वास्तविक नेपाली नेता हुनुहुन्छ भने तपाईं जनमत सङ्ग्रहसँग नडराउनुस् । ढुक्क हुनुस्, नेपालमा अब जनमत सङ्ग्रह मार्फत राजतन्त्र फर्किन सक्दैन, यो अब हिन्दु राष्ट्र पनि हुँदैन, सङघीयता पनि हराउँदैन । तपाईंहरुको मनको डरलाई उखेलेर फालिदिनुस् र मधेश प्रदेशकै सन्दर्भमा पनि जनमत सङ्ग्रहमा जानुस् । त्यसले कुनै घाटा पार्ने छैन । किनभने मतदान गर्ने नेपाली नागरिकहरुले वुद्धि बेचेका छैनन्, मन बेचेका छैनन्, आत्मा बेचेका छैनन् ।