Apr 25, 2024, 02:09 PM

FOLLOW: FacebookTwitterYoutube

धम्की राजनीति होइन

धम्की राजनीति होइन
प्रदीप नेपाल 
गोरखापत्र १२ फागुन

मधेशी नेता भन्दा मधेशी जनताको अपमान हुने हुनाले, मधेशमा चुनाव हारेका नेतालाई मधेशी नेता भन्नु उचित होला जस्तो लाग्दैन । उनीहरुलाई ‘भारतीय मूल के मधेशी’ भनेको पनि मन पर्दैन । भलै यो परिचय भारतीय सञ्चार माध्यमले नै दिएको हो । नेता नभन्ने हो उनीहरुलाई झन पिरोलो हुन्छ । त्यसैले मैले सगोलमा स्वयम्भू मधेशी नेता भन्ने विशेषण उपयुक्त होला भन्ने लागेको छ । अहिले  उनीहरुको आन्दोलन धम्कीको डिलमा आएर उभिएको हुनाले पनि मैले उनीहरुलाई स्वयम्भू बनाइदिएको हुँ ।
दुःखको कुरा हो, हाम्रा यी स्वयम्भू मधेशी नेतााले पहिले जनताबाट तिरस्कृत हुनु प¥यो । उहाँहरु सबै आआफ्नो क्षेत्रको प्रतिनिधि सभाको निर्वाचन हार्नु भयो । चुनावी हारका कारण उहाँहरुको मन्त्री हुने सपना चकनाचूर भयो । दिल्लीतिर गएर – हरुवालाई पनि केन्द्रीय मन्त्री परिषदमा राख्ने व्यवस्थाका लागि कडा दवाव दिइयोस् अन्यथा नेपालमा भारतको राजनीतिक प्रभाव घट्नेछ भनी गरिएको अनुनय पनि अरण्यरोदनमा रुपान्तरित भयो । गलत नियतसहित ल्याउन खोजिएको ‘असंवैधानिक संशोधन’ पनि धरापमा प¥यो । यसरी जताततैबाट पराजयको उपहार पाएको मधेशी मोर्चाका स्वयम्भू नेताहरु यतिबेला आफ्नो अस्तित्व जीवित रहेको देखाउन हामी चुनाव हुन दिन्नौं भन्दै धम्की दिने काममा लागेका हुन् । यो पनि भारतीय मूल के मधेशी नेताका लागि ‘टाँय टाँय फिस’ हुनेछ ।
कतिपय पत्रकार साथी पनि मलाई मधेश विरोधी ‘नेता’ भन्छन् । तर म स्पष्ट छु – म मधेश विरोधी होइन । मधेशको नाममा सत्ता, भत्ता र लुटपाटको राजनीति गरिरहेका, मधेशी जनतालाई चिन्न पनि नचाहने, स्वयम्भू मधेशी नेताको चाहिँ विरोधी हुँ । यी मधेशी नेताहरु मधेशका जनतालाई चिन्दैनन् मात्र होइन, चिन्न पनि चाहँदैनन् । काठमाण्डौका आलिसान महलहरुमा बसेर लैनचौर, दिल्ली र पटना धाउने अनि मधेशी जनताले अधिकार पाएनन् भनेर मारकाट र आगजनी मच्चाउनेलाई म कुनै परिभाषामा पनि मधेशी जनताका वास्तविक नेता मान्नै सक्दिन । काठमाण्डौमा म पनि आप्रवासी नै हुँ । म भोजपुरमा जन्मिएँ, हुर्किएँ । काठमाण्डौमा पढ्न आएँ । काठमाण्डौबाटै राजनीतिमा होमिएँ । पन्ध्र वर्ष मेची, लुम्बिनी, भेरी र उपत्यकामा काम गरें । तर त्यो लामो कालभरि मैले भोजपुरको माटोमा राजनीति गरिन । प्रतिनिधि सभाको सदस्य पनि काठमाण्डौ क्षेत्र नं १ बाटै भएँ । ०४८ सालको पहिलो चुनावमा पार्टीले मलाई भोजपुर जिल्लाको उम्मेद्वारीको अवसर पनि दिएको थियो । तर, आफ्नो जन्मभूमि भोजपुर मेरो राजनीतिक कर्मभूमि नभएको हुनाले, चुनावमा जीत सुनिश्चित हुँदा हुँदै पनि म भोजपुर गइन । मेरो यही चेतनाले म आपूmलाई मधेशको मसिहा बताउनेहरुलाई तराईमधेशको नेता मान्न सक्दिन । स्वघोषित मधेशी नेताहरुको, नेपाली मधेशमा, कुन कुन निर्माणमा, कुन क्षेत्रको सामाजिक काममा, तराईबासी चेतना माथि उठाउने राजनीतिक योजनामा नेतृत्व रह्यो ? २०४७ यताको चौथाइ शताब्दीको हिसाब गर्दा, काठमाण्डौमा बसेर लैनचौर र बालुवाटारमा ओहोर दोहोर गरेर मालदार मन्त्रालयको मन्त्री हुने बाहेक उनीहरुको परिचय बोक्ने मधेशी नेताको कुन कर्ममा जनपक्षधरता देखियो ? बहुदलको स्थापनापछि, कुनै पनि मन्त्री परिषदमा मधेशी नेताको अनुपस्थिति छैन । तर मधेशी जनताको हितार्थ गरे के तिनले ? मन्त्री भएपछि गरीब मधेशी नेपालीको पक्षमा तिनले भाषणका दुई वाक्य समेत बोलेनन् । भारतीय पुलिसले नेपालको आफ्नो निर्वाचन क्षेत्रको नागरिकलाई गोली हान्दा समवेदना समेत दिन नचाहने स्वयम्भू मधेशी नेताहरु कसरी मधेशी जनताका प्रतिनिधि हुन सक्छन् ? जनताबाट चटक्कै चुँडिएको हुनाले नै आपूmलाई मसिहा मान्ने मधेशी नेताहरुले आआफ्ना निर्वाचन क्षेत्रमा लज्जाजनक पराजय बेहोर्नु परेको सत्यलाई बिस्तारै तिनले महसुस गर्न थाले होलान । त्यसैले अब तिनीहरु धम्कीको भाषा बोल्न थालेका छन् ।
धम्की, पराजित मानिसकताको अन्तिम अस्त्र हो । राजनीतिमा हार्दै गएकाहरु पहिले अनुनय विनय गरेर आफ्नो अस्तित्व जोगाउन चाहन्छन् । रोनाधोना अस्तित्व रक्षाको दोश्रो चरण हो । बाह्यशक्तिबाट सिफारिश, दवाव र हस्तक्षेपको आग्रह आपूmलाई बचाउने तेश्रो चरण हो । त्यो पनि असफल भएपछि धम्की स्वरक्षाको अन्तिम अस्त्र हो । अहिले स्वयम्भू मधेशी नेताहरु यही चौथो चरणमा प्रवेश गरेका छन् । जसरी तिनका पुराना गतिविधि राजनीतिसँग पराजित भए, त्यसरी नै यो धम्की पनि पराजित हुनेछ । यसका लागि सरकारमा, राजनीतिक समस्याको समाधान राजनीतिक परिपाटीबाटै खोजिनु पर्छ भन्ने राजनीतिक ज्ञान हुनुपर्छ । प्रजातान्त्रिक अभ्यासमा आवधिक निर्वाचन हुन्छ, निर्वाचनमा जित्ने सांसद, मन्त्री आदि इत्यादि हुन्छ । हार्नेले अर्को अवधिसम्म जनताको घरदैलामा घुमेर आफ्नो उपस्थितिलाई जीवित राखेर आगामी चुनावमा विजयप्राप्तीको बाटो खन्छ । यो नै सङ्घीय भने पनि नभने पनि लोकतान्त्रिक परिपाटीको वाध्यात्मक पद्धति हो । यो पद्धतिलाई कुनै पनि प्रजातान्त्रिक नेता, सरकार या सँस्थाले चुनौती दिन मिल्दैन ।
अहिले मधेशका स्वयम्भू नेताले गरेको नकाम यही चुनौती हो । र यो यस्तो चुनौती हो – जो कुनै पनि राजनीतिकर्मीका लागि सुहाउँदो काम होइन । धम्कीले नेतालाई बर्बर बनाउँछ, सभ्य होइन । 
सँगसँगै सरकारलागि पनि यो एउटा चुनौती हो । सरकार धम्कीसँग डराएर प्रजातान्त्रिक अभ्यासलाई तिरस्कार गर्छ कि धम्कीलाई तिरस्कार गरेर प्रजातान्त्रिक अभ्यासलाई अगाडि बढाउने हो, हेर्न बाँकि छ । किनभने सत्ताको चक्रब्युहमा जोजस्ता महारथीको हैकम छ – ती कोही पनि राजनीतिक संस्कार बोकेका छैनन् भन्ने मेरो एकल निष्कर्ष छ । सबै यो निष्कर्षमा सहमत हुनुपर्छ भन्ने दुराग्रह पनि मसँग छैन ।
एकपछि अर्को नकाम गरेर आफ्नो अस्तित्व नै लोप गराउने गिद्देभीरको यात्रामा लागेको वर्तमान सरकारले आपूmलाई बचाउने झण्डै झण्डै अन्तिम अवसर पाएको छ । यसलाई पनि सरकारले गुमायो भने राम राम त सबैले भन्लान् । तर काँध हाल्न कोही आउँदैनन् । सत्ता संचालकलाई यत्ति भए अहिलेलाई पुग्ला । प्रधानमन्त्रीज्यूले, ‘तीन तहकै चुनाव गराउन सरकार दृढ छ’ भनेर जसरी भनिरहनु भएको त्यो बोली सार्थक होस् । अहिले दिन सकिने शुभकामना यत्ति हो ।
राम्रा र नराम्रा कामहरु सँगसँगै हिंडीरहेका हुन्छन् । नराम्रा कामहरुले राम्रो परिणाम दिने कुरालाई अपवाद मान्नु हुँदैन । बितेको १० वर्षमा मधेश मुद्दाले नयाँ उचाइ प्राप्त गरेको छ । सबै समाजमा दुई खाले मान्छे हुन्छन् । हुकुम दिने र हुकुम पालन पालन गर्ने । मधेशमा पनि ती छन् र मधेश मुद्दाले तिनको चिनारी नेपालव्यापी बनाएको छ । यो चिनारीमा मधेशवासी जनताको राजनीतिक चेतना अभूतपूर्वरुपमा बढेको छ । आन्दोलन अघि मधेशको राजनीति हुकुमेहरुको नियन्त्रणमा थियो । पहिलो मधेश आन्दोलनपछि हुकुमेहरुको वर्चस्व घट्यो । त्यसैले दोश्रो संविधान सभाको चुनावमा उनीहरु सबै पराजित भए । यो तराई–मधेशका मतदातामा बढेको राजनीतिक चेतनाको अभिव्यक्ति हो । 
अर्को राम्रो पक्ष भनेको नेपाली मधेशीको अधिकार प्रतिको जागरुकता हो । मधेशमा दुईखाले मधेशी छन् । एकखाले ‘भारतीय मूल के मधेशी’ अर्काखाले नेपाली मूलका मधेशी नागरिक । भारतीय मूलका अङ्गीकृत नागरिकले बढी सुविधा लिएको, नेपाली मधेशीको हक खोसेको आवाज नेपाली मधेशी समुदायबाट उठ्नु भनेको राम्रो कुरा हो । वंसजको अधिकार अङ्गीकृतले खोस्ने कुरा अनौठो होइन । सरकारका प्रतिनिधिले पैसा खाएर कसरी नागरिकताको प्रमाणपत्र बेच्दा रहेछन् भन्ने सत्यको ठोस प्रमाण हो – भारत, सोनवर्षाका राजेन्द्र महतो पहिले नेपालको नागरिक भए । सोही कार्यालयबाट दुई वर्षपछि उनका बाबुले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाए । यो कुशासनको एउटा अनौठो नमूना हो । यस्ता दुष्कार्यहरु कति भए होलान् ? अहिले एक्कीन गरेर भन्न  सकिंदैन । यस्ता नक्कली नागरिकहरुको सङ्ख्या दश लाख भन्दा बढी नै होला । यसलाई हचुवा नै भनिदिनु भए पनि हुन्छ । यो मेरो अनुमान हो । 
किनभने नक्कली नागरिकहरुको नेपाल आगमन २०२० सालदेखि नै निरन्तर छ । तर त्यो वितण्डावादीले भनेको जस्तो चालिस या पचास लाख छैन । पंचायतकालदेखि सीमान्तीकृत जीवन बाँच्न बाध्य भएका, अशिक्षित, गरीव, दलीत मधेशी मूलवासीहरुले समयमा नागरिकता नपाएको पनि उत्तिकै साँचो हो । बहुदल आएपछि जनकपुरतिर आँपको बगानमा नागरिकता फल्न थालेको र त्यो नागरिकता टिप्न भारतीयहरु दौडादौड गरेर नेपाल पसेको हल्ला पनि विश्वसनीय छैन ।
विदेशीलाई नागरिकता दिने मापदण्ड भारतको जस्तै बनाइदिए दिल्ली र हाम्रा स्वयम्भू मधेशी नेतालाई अलि सन्चो हुन्थ्यो कि !