Apr 18, 2024, 09:15 PM

FOLLOW: FacebookTwitterYoutube

लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता

लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता
प्रदीप नेपाल 
राजधानी फागुन 

निर्वाचन आयोगको तत्परता, प्रतिवद्धता र कृयाशीलताका कारण नेपालमा अब चुनाव होला भन्ने विश्वास पलाएको छ । निर्वाचनले मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गर्छ । त्यसैले जो अहिले निर्वाचनको पक्षमा छन्, तिनीहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक अभियन्ता हुन् । जो निर्वाचन विथोल्न चाहन्छन्, तिनीहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी तथा सामन्तवादका हिमायती हुन् । झट्ट पढदा अहिले यो टिप्पणी ‘भारतीय मूल के मधेशी’ नेतातिर तेर्सिएको जस्तो कसैलाई लागे पनि यो आम सिद्धान्त हो । लोकतान्त्रिक गणतन्त्रमा ‘नो भोट’ मा जान सकिन्छ – मलाई कुनै उम्मेदवार अथवा पार्टी मन परेन भनेर । तर नागरिक अधिकार कुण्ठित गर्नको लागि निर्वाचन बहिष्कार गर भन्नेलाई राजनीतिक नेता भन्न सकिँदैन । अथवा म र मेरो पार्टी यो चुनाव बहिष्कार गर्छौं भन्ने अधिकार चाहिं राजनीतिक नेताको अधिकार क्षेत्रभित्र पर्छ ।
स्वयम्भू मधेशी नेताको आँखा र दिमाग दुबै ठाउँमा पट्टी बाँधेको छ जस्तो लाग्न थालेको छ मलाई । सङ्घीयता हाम्रो माग हो भनेर उफ्रिने नेताहरु अहिले त्यही सङ्घीयता सिध्याउने खेलमा लागेका छन् । स्थानीय तहको चुनाव भयो भने उनीहरुको प्रदेशको पनि चुनाव हुन्छ । केन्द्रीय चुनावसँग उनीहरुको त्यत्ति चासो होला जस्तो लाग्दैन मलाई । किनभने उनीहरुको पहिलो माग प्रदेशको चुनाव हुँदै आएको छ अहिलेसम्म । लडाईं, झगडा र मारकाट पनि त्यही प्रदेशका लागि भएको छ । तर उनीहरुसँगको वार्तामा प्रधानमन्त्रीले जे भन्नु भए पनि माथिको केन्द्र या पुछारको स्थानीय तहलाई तिरस्कार गरेर उहाँ प्रदेशको निर्वाचन गराउन सक्नु हुन्न । 
राजनीति असफल भयो भन्ने निष्कर्ष निकालेर नयाँ नयाँ अवयवहरुको  जन्म भैरहेको समय हो यो । त्यस्ता अवयवहरुको सङ्ख्या यतिबेला आधा दर्जन पुगिसक्यो होला । सत्ता र भत्ताको मामिलामा पहाडे नेता भन्दा मधेशी नेता नै बढी विवादित छन् । मन्त्री हुने बाहेक अर्को कुनै उद्देश्य नभएको हुनाले स्वयम्भू मधेशी नेता, दोश्रो संविधान सभामा नराम्ररी पराजित भएका हुन् । नाकाबन्दीसँग जोडिएको मारकाट र दशगजा आन्दोलनले मधेशमै स्वयम्भू मधेशी नेताको छवि नराम्ररी अँध्यारिएको छ । रैथाने मधेशी सङ्गठनको स्थापना यही नाकाबन्दी, सप्तरी र सुनसरीमा भएको भारतीय हस्तक्षेप प्रति तिनको मौन समर्थनका कारण भएको हो । अर्को कुन सत्यलाई पनि, आन्दोलन आन्दोलन भनेर कराइरहेका मधेशी नेताले स्वीकार गर्नु पर्छ भने, मधेश उहाँहरुको विर्ता होइन । त्यहाँका जनता उहाँहरुका हरुवा चरुवा पनि होइनन् । निर्वाचन प्रकृयाको हिसाबमा भन्ने हो भने उहाँहरु त्यही क्षेत्रको पनि विस्थापित नेता हो । सुनसरीमा एमालेको कार्यक्रम हुँनै नदिने घोषणा गरेको भोलिपल्ट एमालेले तल्लो क्षेत्रमा भव्य आमसभा ग¥यो । रौतहटको ढुङ्गा मुढा पनि असफल भयो । कार्यक्रम विथोलेर माधव नेपाललाई लखेट्ने भनी गरिएको प्रचारले हावा खायो । उल्टै पाँच सय भन्दा बढी मधेशी मोर्चाका कार्यकर्तालाई माधव नेपालले नेकपा एमालेमा प्रवेश गराउनु भयो । यतिमात्र होइन, २०२५ सालमा नेपाली नागरिकता लिएकाहरुले पहाडबाट झर्नेहरु ‘औलो उन्मूलन भएपछि’ आएका हुन् भनेर आफैंलाई नाङ्गेझार नपार्नु नि ! माधव नेपाललाई २०३४ सालमा हामीले भेट्दा उहाँ खाँट्टी मधेशी हुनुहुन्थ्यो । नेपाली बोल्न उहाँलाई अप्ठ्यारो लाग्थ्यो । अरु कसैलाई थाहा नहोला । तर जुन प्रदेशलाई उहाँहरुले आफ्नो बिर्ता ठान्नु भएको छ त्यो सिङ्गो प्रदेशमा माधवकुमार उपाध्यायको रैथाने मधेशीको परिचय स्थापित भएको थियो माधव नेपाल । त्यतिबेला राजेन्द्र महतो नेपाली नागरिक पनि हुनुभएको थिएन ।
स्वयम्भू मधेशी नेताहरुमा नेपाल प्रतिको निष्ठा छैन । यसमा कुनै छलफल नगर्दा हुन्छ । छ महिनाको नाकाबन्दीमा उहाँहरु आफैंले बोली र व्यवहारमा यो मुद्दालाई सार्वजनिक गरिसक्नु भएको छ । नेपाल सरकारको विरुद्धमा दिल्ली उचाल्न पटक पटक उहाँहरु उता जानु भएको हो । नेपालको झण्डामा आगो लाउनु भएकै हो । दिल्लीको बल नपुगेर बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको भैंसी गोठमा पनि जानु भएकै हो । भारतीय संचार माध्यमले मधेशी नेताको यही भारतभक्तिलाई देखेर उहाँहरुलाई ‘भारतीय मूल के मधेशी’ भनेर सम्मान गरेको हो । लैनचौरको इशारामा चल्ने अनि नेपालीसँग झगडा गर्ने उहाँहरुको स्थायी चरित्र हो । यस्ता नेतालाई नेपाल निष्ठा भएका नेता मान्न मलाई अलिक गाह्रै परेको छ ।
‘संविधान संशोधन नगरी हामी चुनावमा जान्नौ’ भनेर उहाँहरुले के भन्नु भएको हो मैले बुझ्न सकेको छैन । यो संविधान संशोधन गर्नु असंवैधानिक काम हो भन्ने उहाँहरुलाई थाहा हुनु पर्छ । उहाँहरु सबै पटक पटक सांसद हुनु भएको छ । मन्त्री हुनु भएको छ । यतिमात्र होइन, उहाँहरु आआफ्ना क्षेत्रका मतदाताबाट तिरस्कृत हुनु भएको छ । डेढ वर्षे मधेश आन्दोलनमा कुनै पनि कार्यक्रममा दश हजार जनता उतार्न सक्नु भएको छैन । 
अनगिन्ती प्रश्नहरु छन् स्वयम्भू मधेशी नेताले उत्तर दिनु पर्ने । चुनाव हुन  दिन्नौ भन्नुको अर्थ संविधान असफल पार्छौं भन्नु हो । नेपालको संविधानलाई असफल पार्ने अधिकार उहाँहरुलाई कसले दियो ? दिल्लीले ? कि सोनवर्षाले ? नेपालीले त दिएका होइनन् । संसद भित्र यस्तै गज्याङ गर्नुहोला भनेर मधेशी मतदाताले उहाँहरु सबैलाई आआफ्नो क्षेत्रमा पराजित गरेका हुन् ।
स्वयम्भू मधेशीको व्यवहार यस्तैउस्तै हो । ओरालो लागेको जीवन र समाप्तीको डीलमा पुगेको राजनीति हो उहाँहरुको । जीवन र विजयदेखि निरास भएपछि मान्छेले गर्ने काम हो मारकाट । कैलाली हत्याकाण्ड, उहाँहरुको ओरालो लाग्ने कामको आरम्भ थियो । त्यो झरान अहिलेसम्म निरन्तर जारी छ । अब पनि आरामले रमिता हेरेर बस्नु भएन भने उहाँहरुको यो ओरालो झर्ने क्रम झनै तीब्र हुनेछ । त्यसपछि न दिल्ली, न भारतीय जनता पार्टी, न नेपालका सत्ता संयन्त्रका प्रमुख नत नेपालका प्रधानमन्त्रीले नै उहाँलाई बचाउन सक्छन् ।
हुन त यो टिप्पणी भैंस के आगे बीन बजाना होला । त्यसैले त्यता नलागौं ।
म नेपालका नेताहरुको ताल पनि सही देखिरहेको छैन । स्वयम्भू मधेशी नेतालाई रिझाउनु पर्ने खास कारण के हो ? हामी नेपाली नागरिकबाट लुकाएर एक दर्जन स्वयम्भू मधेशी नेताको धम्की र लहैलहैमा लाग्नुको कारण के हो ? तराई मधेशबाट जितेका जनप्रतिनिधिलाई तिरस्कार गरेर हारेकासँग हारगुहार गर्नुको अर्थ के हो ? 
भारतले भन्यो रे लौ, संविधान निर्माणमा सहमति खोज । कति दिन खोज्ने ? कति वर्ष खोज्ने ? सरकारको काम देश विकासको काम गर्ने हो कि हरुवा मधेशीसँग सहमति खोजेर बालुवाटारमा निदाउने हो ? कहिले सीमाङ्कनमा पहाड र हिमाल चाहिन्छ मोर्चालाई । कहिले हिमालबाट आएको कोशी होइन, रामधुनीबाट निस्किएको सुनसरी खोलाको सीमाना चाहिन्छ मोर्चालाई । कहिले एक मधेश प्रदेश, कहिले दुई मधेश प्रदेश त कहिले तीन मधेश प्रदेश चाहिन्छ मोर्चालाई ।
प्रधानमन्त्रीज्यूले थाहा पाउनु होस् । हरुवा मधेशीको सेवामा लाग्दा कतै आफ्नो हैसियत पनि त्यस्तै नहोस् । अघिल्लै चुनावमा खतराको घण्टी बजेको कुरामा प्रधानमन्त्रीको ध्यान जाओस । स्वयम्भू मधेशी नेता त ‘भारतीय मूल के मधेशी’ भए । तपाईं त त्यो पनि हुन सक्नु हुन्न । सधैं सत्तासीन हुने सपनामा रमाउने प्रधानमन्त्रीज्यूका लागि यो नै अन्तिम अवसर नहोस् ।
म दिल्लीको चाल पनि बुझ्न नसक्ने भएछु । पाँच हजार नागरिकको जुलुस समेत निकाल्न नसक्ने लुते नेतालाई कति बोकेको होला दिल्लीले ! राजनीति ओरालो लागेका, एउटा पार्टी पनि रामरी चलाउन नजान्ने, पचास प्रतिशत भूभागको दावी गर्ने तर संसदमा पाँच प्रतिशत प्रतिनिधिलाई पनि जिताएर पठाउन नसक्ने ‘भारतीय मूल के मधेशियों’ लाई किन च्यापी राखेको होला ? हजारौँ छन् ‘प्रतिष्ठित’हरु दिल्ली रिझाउन स्ट्याण्डबाई बसेका । दिल्लीमा पनि दिमागको खडेरी परेछ ।
अन्तिममा, प्रधानमन्त्रीज्यू, सबैभन्दा ठूलो जिम्मेवारी तपाईंको हो । सक्नु हुन्छ चुनावी प्रकृयालाई तीब्रता दिनुस् । सक्नु हुन्न सरक्क कुर्ची छोडेर ध्यानमा बस्नुस् । राम्रो प्रधानमन्त्रीलाई चुनाव गराउने मौका दिनुभयो भने तिनले तपाईंको ‘हेग आतङ्क’ लाई समाप्त पारिदिने छन् ।