Apr 25, 2024, 04:20 PM

FOLLOW: FacebookTwitterYoutube

जाउँ न त सङ्घीयतातिर

जाउँ न त सङ्घीयतातिर
प्रदीप नेपाल 
गोरखापत्र २६ फागुन

सङ्घीयताको म आरम्भदेखि नै विरोधी रहें । परिचय पनि त्यस्तै बन्यो । गएका दश वर्षमा सङ्घीयताका विरुद्धमा मैले जमेरै लेखें । समयले नै मानिसलाई सिकाउँछ । मलाई पनि समयले सिकायो । यही सिकाइको कारण आज मैले सङ्घीयताको पक्षमा पहिलो टिप्पणी लेखेँ । नेपाली चेतनामा जोडिएको सङ्घीयता पढ्न पाएको हुनाले आगामी दिनमा पनि म सङ्घीयताको पक्षमा लेखिरहने छु ।
तर मलाई थाहा छ, यति निहोरा गर्दा पनि नेपालका नेताहरु मेरो सङ्घीयता प्रस्तावप्रति विश्वास गर्नु हुन्न । किनभने उहाँहरुको दिमागमा म सधैं सङ्घीयता विरोधी थिएँ, छु र रहिरहने छु । हाम्रा बुढा नेताहरु अल्जाइमर जस्तो रोग हो – नयाँ ज्ञान र परिवर्तनलाई स्वीकार गर्न नसक्ने । त्यसैले म आफ्नो प्रष्टिकरण दिन चाहन्छु – आरम्भदेखि नै म सङ्घीयता विरोधी थिएँ, आजभन्दा पन्ध्र दिन अघिसम्म पनि मेरो सङ्घीयता विरोधी अडान निरन्तर थियो । तर यो टिप्पणी लेखिरहँदा म सङ्घीयता पक्षधर भएको छु ।
यसलाई अझै प्रष्ट पारौं । कुनै पनि विचार समय सापेक्ष हुन्छ । जतिबेला मैले सङ्घीयताको विरोध गरेको थिएँ, त्यतिबेला सङ्घीयता आकाशबाट टप्किएको थियो । त्यो आतङ्की पनि थियो । सिंहदरबारले टिप्पणी उठाउने, अन्तर्राष्ट्रिय सभा भवनले सदर गर्ने अनि सिंहदरबारले नै लागू गर्ने । सङ्घीयता भनेको समुदायको शासन हो भन्ने मेरो मान्यता हो । त्यतिबेला जारी गरिएको सङ्घीयतामा समुदायको भूमिका सुनिश्चित गरिएको थिएन । सङ्घीयतामा सहीछाप गर्ने पनि बलियो केन्द्र, त्यो भन्दा कम अधिकार भएको प्रदेश अनि माथिबाट चुहिएर झरेको अधिकार पाएको स्थानीय तह ।
बितेको १० वर्षमा नेपाली जनताको चेतनामा अभूतपूर्व परिवर्तन आएछ । काठमाण्डौमा मात्रै बसेर होला मेरो संज्ञानले राजधानी बाहिर नागरिक चेतनामा आएको उफानलाई मैले महसुस गर्न नसकेको रहेछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको हामी नागरिक समुदायको शासन प्रणाली हो भनी बुझ्नेहरुको सङ्ख्या धेरै बढेछ । यसको अद्भूत प्रमाण हो लुम्बिनी अंचलको जनप्रतिवाद । सिंहदरबारले, हे लुम्बिनीका मान्छे हो, तिमीहरु आफ्नो बरब्यवहार मिलाउ, अब लुम्बिनीको छाति चिरिन्छ, पहाडकाहरु मधेश नझर, मधेशीहरु पहाड नचढ भनेर आदेश थियो । तर हावा खायो सिंहदरबारको आदेशले पहिलो पटक । सरकारी आदेशको विरुद्धमा लुम्बिनी जुरुक्क उठ्यो । यो जागरणले लुम्बिनी अंचलमा पार्टीको घेरा भत्काइ दियो । मतदाताको शक्ति छर्लङ्ग देखियो । टायर बाल्नु परेन । तीर तरकश निकाल्नु परेन । ढुङ्गा मुढा गर्नु परेन । मारकाट पनि गर्नु परेन । मृतकलाई पचास लाख रुपैयाँ दिन्छौं पनि भन्नु परेन । प्रलोभन बिनाको मानव सागर आफ्नो शक्ति प्रदर्शन गर्दै, सडकमा, बजारमा अनि गाउँ गाउँमा जाग्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नागरिक चाहना सबैभन्दा माथि हुन्छ । सिंहदरबारको मनपरी आदेश अब स्वीकार्य हुँदैन भन्ने सत्य लुम्बिनी अंचलमा स्थापित भयो । मेरो चेतनालाई अर्तिको थप्पड दिएर समुदायको शक्ति बोध गराउने पहिलो घटना भयो – लुम्बिनीको जनआन्दोलन ।
सङ्घीयताको चेतनालाई राप दिने अर्को घटना भयो – भारतीय नाकाबन्दी । स्वयम्भू मधेशी नेताले जे भने पनि काठमाण्डौलाई तह लगाउन भारतको अग्रसारितामा नेपाल विरुद्ध नाकाबन्दी भएको हो । आन्दोलनकारी नेता सबै आआफ्नो क्षेत्रमा हारेकाहरु नै थिए । त्यसैले उनीहरुले जनआन्दोलन संचालन गर्ने कुनै संभावना थिएन । जनआन्दोलनबाट जनता जगाउन नसकिने हुनाले नै उनीहरुले हिङ्साबाट आन्दोलनको थालनी गरे । आन्दोलनको थालनीमा तिनले कैलालीमा निहत्था र निर्दोष प्रहरी मारे । त्यो मारकाट तन्किएर महोत्तरी र धनुषासम्म आयो । विरामी प्रहरीलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर मार्ने अपराधलाई आन्दोलनसँग जोडियो । तर पनि उद्दण्डतापूर्व चलाइएको आन्दोलनले मधेसी जनतालाई आकर्षित गरेन । राती राजमार्गमा गुडिरहेका बसहरुमा ढुङ्गा हान्ने अनि दौडिएर जङ्गल खेतमा लुक्ने आन्दोलन गर्दा पनि मधेशी जनता जागेनन् । कसै गर्दा पनि मधेश नतातेपछि भारतीय भाकाका ‘भारतीय मूल के मधेसी’ नेताले सीमानाको दशगजामा नाकाबन्दी आन्दोलन आरम्भ गरे । तर त्यो नाकाबन्दीले नेपाली मधेशीलाई झन कष्ट दियो । जनताको सहारा नपाएपछि नाकाबन्दी आन्दोलन असफल भयो । यो असफलता नै ‘मधेश आन्दोलन भाग २ को पटाक्षेप हो ।
यो आन्दोलनले तराई–मधेशका जनताको चेतनालाई अभूतपूर्व रुपमा माथि उठायो । उनीहरुले जे देखे, भोगे र परिणामको जानकारी पाए, त्यसले नेपाली मूलका मधेशी जनतामा आन्दोलनकारी नेताहरु जनताको हित होइन, नीजि हितका लागि गडबडी मच्चाई रहेछन् भन्ने सत्यबोध गरे । आफ्नै अनुभवले उनीहरुलाई, भारतबाट आएका अङ्गीकृतहरुले ठगिरहेको सत्य चिन्न पाए । रैथाने मधेशीको अनौपचारिक समूह जन्मिनु अनि त्यसले अङ्गीकृतको शोषण दमनका विरुद्ध आवाज उठाउने घटना नेपालको तराई–मधेशको उन्नत चेतनाको अभिव्यक्ति हो । काठमाण्डौले अहिलेसम्म बुझ्न नसकेको यो सत्यलाई ती अङ्गीकृत नेताहरुले उहिल्यै बुझे र अर्को हलो अड्काए यसरी – स्थानीय तहको आन्दोलन निर्दलीय हुनु पर्छ । वाह रे नेताज्यू, कति सजिलै आउन सकेको हो १८० डिग्रीको फन्को ! पहिले ‘एमालेबिहिन मधेश’ को घोषणा अनि तात्तातै स्थानीय तहमा निर्दलीय चुनाव । सजिलो हिसाब हो यो । निर्दलिय चुनाव हुने बित्तिकै मधेशबाट नेकपा एमालेको अस्तित्व समाप्तीको घोषणा ।
प्रायोजित अभिव्यक्तिलाई छोडिदिने हो यतिबेला अङ्गीकृत नेतृत्व पराजित भएको छ मधेशमा । नेकपा एमालेका बरिष्ट नेता माधव नेपालको गौरमा संपन्न भएको नवप्रवेशी कार्यक्रमलाई ‘कडा सुरक्षा’ भित्र भनिए पनि पाँच सय नागरिकलाई पार्टी प्रवेश गराउने कार्यक्रम निर्विध्न सफल हुनु मधेशमा एमालेको हैसियतको उदाहरण हो । 
यतिमात्र पनि होइन, नेकपा एमाले र यसका जनसङ्गठनहरुले मधेशी नेताको ‘एमाले बिहिन मधेश’ नाराको खिल्ली उडाउँदै मधेशका भित्री गाउँमा समेत ठूला ठूला कार्यक्रम आयोजित भए । आपूmलाई मधेश मसिहा घोषणा गर्ने एक दर्जन पार्टीले एक्लै अथवा सगोलको आयोजनामा, अन्तको कुरो गर्दिन म, धनुषा या महोत्तरीमै पनि एउटा जनसभासम्म गर्न सकेनन् । मारकाटबाट जनतालाई तर्साउन सकिन्छ, तर आमसभामा सहभागी गराउन सकिन्न ।
यो असहयोग केको द्योतक हो ? गहिरिएर अध्ययन गर्दा थाहा हुन्छ – यो असहयोग राजेन्द्र महतो लगायतका बाठा अङ्गीकृत नेताहरुप्रतिको असहयोग हो । रैथाने मधेशीमा जागेको आत्मपरिचय र स्वाभिमानको अभिव्यक्ति हो ।
सङ्घीयताको सफल प्रयोग भएका दुई मुलुकमा म पुगें । पहिलो थियो – स्वीट्जरल्याण्ड । शिक्षामन्त्रीको हैसियतमै म स्वीट्जरल्याण्ड पुगेको थिएँ । नेपालको मन्त्री पेरिसबाट रेल चढेर स्वीट्जरल्याण्डको राजधानी बेर्नमा आएको कुरो उनीहरुका लागि अनौठो थियो । रेलबाट ओर्लिंदा पहिलो स्वागत गर्ने महिलाले ‘आर यू रियल्ली अ मिनिस्टर ?’ भनेर सोध्दा म छक्क परेको थिएँ । बाटामा हिँड्दै उनले प्रष्टिकरण दिएकी थिइन, ‘हाम्रो निम्तामा आउने नेपालका मन्त्री वा नागरिक कोही पनि ट्रेनबाट आएका थिएनन् । मन्त्री भएर पनि तिमी कसरी रेल चढेर आयौ भनी मैले आश्चर्य मानेकी हुँ ।’ यो परिचयको व्यङ्ग हो । रेलको ढोका बाहिर कुनै मोटर थिएन । उनले भनिन् ‘हामी हिँडेरै होटलसम्म जाने हो । मन्त्रीजीको झोला म बोकूँ ?’ 
लाज लाग्यो मलाई । मैले झोला दिइन । तर ती महिलासँग कुरा गर्दै हिँड्दा मैले के बुझें भने स्वीटजरल्याण्डको सङ्घीयतामा मन्त्री, राष्ट्रपति, सभामुख या प्रधानमन्त्री जनता भन्दा माथि हुँदैनन् । जिम्मेवारी ठूलो भए पनि नागरिक परिचयको हिसाबमा कम्युन (स्थानीय तह) का नागरिक र राष्ट्रपति बराबर हुन् ।
समय सधैँँ स्थीर हुँदैन । त्यो परिवर्तनशील छ । त्यस्तै मानव चेतना पनि स्थीर हुँदैन । त्यो परिवर्तन भैरहेको हुन्छ । सङ्घीयता भनेको केन्द्र र प्रदेशको हितार्थ होइन, आधारभूत रुपमा त्यो स्थानीय तहको अधिकार र कर्तब्यसँग जोडिएको प्रणाली हो । तीन हजार वर्ष पुरानो सामन्तवादको शोषण, दमन र उत्पीडनमा जलेको रैथाने मधेशी समुदाय यतिबेला जागेको छ । हिजो केन्द्रको प्रतिनिधि रहेको प्रमुख जिल्ला अधिकारीले राजेन्द्र महतो र उनका बाबुलाई फटाफट नागरिकताको प्रमाणपत्र दिए जसरी अब मधेशको कुनै पनि गाउँ वा नगरपालिकामा रकमको मोलभाउ गरेर आफ्नो अधिकार खोस्ने भारतीयलाई नागरिकता दिँदैन ।
समयले जनता जगायो । नेताले जनतातिर हेरुन्, जनताबाट सिकून् र बुझुन् – हामीलाई दक्षिण एशियाको कुनै गुरु चाहिँदैन । नेपाल सधैं अविजीत रह्यो, रहेको छ र रहिरहने छ । मित्रता हाम्रा लागि स्वीकार्य छ । मालिक्याईंलाई हामी तिरस्कार गर्छौं । यो अठोट हो हिमाल, पहाड तराइका स्वाभिमानी नेपालीको ।