Apr 18, 2024, 08:53 PM

FOLLOW: FacebookTwitterYoutube

यस्ता नेतालाई कसरी पत्याउनु ?

यस्ता नेतालाई कसरी पत्याउनु ?
प्रदीप नेपाल
गोरखापत्र २१ वैशाख

पछिल्ला दुई वर्षमा नेपाली संचार माध्यममा सिक्किमीकरणको आतङ्कले अतिशय स्थान पाएको छ । भारतले सिक्किम खायो – यो आम भाषा हो । अब भारतले नेपाल खाने योजना बनाइरहेको छ, यसको तयारी सन् १९७५ मै भएको थियो – यो आतङ्कको भाषा हो ।  
तर भारतले नेपाल खाँदैन – यो मेरो निष्कर्ष हो । भुटान त नखाएको भारतले नेपाल खाने कुरै आउँदैन  । दक्षिण एशियाको कुनै एउटा मुलुक नखाए पनि भारत सबै छिमेकीको दुष्ट साथी हो । दक्षिण एशियाका सात राष्ट्रले भारतको ‘हुकुमत’ लाई जस्ताको तस्तै निलेनन् भने ती कुनै पनि राष्ट्रका नागरिकले सास्ती खेप्न तयार हुनु पर्छ । श्रीलङ्का, पाकिस्तान र नेपालका नागरिकले त्यो सास्ती खेपिरहेका छन् भने बाङ्लादेशसँगको संबन्ध पनि घामछायाँ भैरहेको छ ।
दक्षिण एशियाका, नेपाल बाहेकका सबै राष्ट्रको एउटा साझा परिचय छ, त्यो औपनिवेशिक शासन । भारत सहितका सबै दक्षिण एशियाली राष्ट्रहरु बेलायत लगायतका यूरोपेली राष्ट्रका उपनिवेश रहे । तर नेपाल कहिल्यै कसैको उपनिवेश रहेन । त्यसैले भारतको बक्र दृष्टि नेपाल र नेपालीका विरुद्ध सबैभन्दा बढी छ । अहिले पनि भारत बेलायती राष्ट्रमण्डलको सदस्य छ र त्यो बेलायती औपनिवेशिक चेतनाको बाहक भएको छ । त्यसैले भारतभित्रै भारतीय नेपाली प्रतिको बक्र दृष्टि, भुटानबाट नेपाली खेदिने अभियान भारतीय सत्ताको अग्रसारिता, नेपालीमूल माथि गरिएका भारतीय सत्ताका दुव्र्यवहारका नमूना हुन् ।
पछिल्लो समयमा मैले सिक्किम सागा र आगो अझै निभेको छैन दोहो¥याएर पढें । विश्लेषण पढ्दा मलाई लाग्यो – भारतले सिक्किम लिएको होइन, तत्कालीन सिक्किमे नेताहरुले भारतलाई सिक्किम बुझाएका हुन् । थिचोमिचो थियो होला भारतको तर सिक्किमेली नेताहरु तयार नहुँदा हुन् त भारतले सिक्किम खाने थिएन । लेण्डुप दोर्जेको नेतृत्वमा सिक्किमे नेताहरुले किस्तिमा राखेर सिक्किमको नक्सा भारतलाई बुझाएका हुन् । 
पुष्पकमल दाहाल प्रचण्डको सरकारले ल्याएको संविधानको दोश्रो संशोधनलाई संविधान विपरित, स्थानीय तहको अधिकारको कटौती मात्र भनेर मैले बुझ्न सकिन । यो पश्चगामी संशोधन नेपाललाई भारतको संरक्षित राज्य बनाउने षडयन्त्र हो भन्न मलाई रत्ति सङ्कोच लाग्दैन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनता पार्टीका उमेर बितेका नेताहरु प्रत्यक्षरुपमा यो काममा लागेका छन् । समग्र भारतमै नबोलिने हिन्दी भाषालाई नेपालमा राष्ट्रिय मान्यता दिने, अङ्गीकृत नागरिकलाई बंशज सरहको अधिकार दिने जस्ता अनुपयुक्त र दूरगामी नकारात्मक असर पार्ने संशोधन अगाडि ल्याएका छन् । यो अपराधपूर्ण कामलाई खर्लप्प नखाएका कारण तिनीहरुले नेकपा (एमाले) माथि स्थानीय तहको निर्वाचन विरोधी भन्ने आरोप लगाएका हुन् । राष्ट्रलाई बन्धकी राख्ने शर्तमा स्थानीय तहको निर्वाचनमा जानु पर्ने वाध्यता खडा गरेर एमालेलाई चेपुवामा पार्ने भद्दा षडयन्त्रमा यतिबेला संशोधन पक्षधरहरु लागेका छन् ।
पार्टी समग्रमा राम्रो या समग्रमै नराम्रो हुँदैन । पार्टी राम्रो या नराम्रो हुने कुरो त्यसको नेतृत्वमा भर पर्छ । एमालेको जीवनमा काला दिन पनि आए हुनन् । तर राष्ट्रियता, एमालेको अटुट नीति रही आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री र पशुपति शमशेर राणा जलश्रोत मन्त्री भएको समयमा गरिएको एकीकृत महाकाली सन्धीको समर्थन र विरोधका विवादमा एमाले पार्टी नै विभाजित भयो । त्यो विभाजनले नेपालको प्रगतिको यात्रालाई अँध्यारोतिर झा¥यो । महाकालीको कारण एमाले विभाजित भयो, तर अहिलेसम्म महाकाली परियोजना बनेको छैन । त्यो कहिल्यै नबनोस यसैमा नेपाल मुलुक र नेपाली जनताको हित सुनिश्चित छ । महाकाली अञ्चलमा भारतीय पीडाका तीन विषयहरुले नेपाललाई चौबिसै घण्टा पोलिरहने छन् । एउटा हो यही थाङ्ने सन्धी, अर्को हो कालापानी क्षेत्रमाथि भरतको अवैध कब्जा र महाकालीको दक्षिणपश्चिमको भूभागमा भारतीय हस्तक्षेप र स्थानीय जनताको प्रतिवाद ।
शेरबहादुर देउवाको सन्दर्भ यहाँ कोटिनुको कारण उहाँको भारतीय हीतप्रतिको समर्पण हो । उहाँ महाकाली अञ्चलकै नेता हो । भारतीय सेना बोलाएर शहीद भीमदत्त पन्तलाई मारिएको स्थान पनि महाकाली अञ्चल हो । तर यस्ता गह्रुँगा भावनाले उहाँलाई छुँदैनन् । उहाँलाई भारतको स्वार्थले यसरी छुन्छ मानौं उहाँ भारतको पोष्यपुत्र हो । पुष्पकमल दाहाल प्रचण्डकोे बारेमा धेरै लेख्नै पर्दैन । उहाँले त उहिल्यै, माओवादी सेनाको सुप्रिम कमाण्डर हुनु भएको समयमा – हाम्रो जनयुद्धमा हामीलाई सघाउने मुुलुकको हीत विरुद्ध हामी कुनै काम गर्ने छैनौं– भनी तमसुक गरेको कुरो एक वर्ष भन्दा पहिले नै भारतीय पक्षले सार्वजनिक गरिसकेको छ । ठूला र शक्तिशाली मुलुकका लागि दलालहरु औजार मात्र हुन् भन्ने सत्य पटक पटक सार्वजनिक भैरहेको छ । बीन लादेन, अमेरिकाले उचालेको आतङ्ककारी थियो । आफ्नो हातबाट फुत्किने संभावना देखेपछि अमेरिकाले नै उसलाई मारिदियो । सद्दाम हुसैन पनि अमेरिकाकै उत्पादन थियो । स्वतन्त्र ढङ्गले चलखेल गर्न थालेपछि आखिरमा अमेरिकाले नै अन्यायपूर्ण ढङ्गले सद्दाम हुसैनलाई मारिदियो । यो सत्य बुझेर होला पुष्पकमल दाहाल कतै आफ्नो अन्त पनि सद्दामको जस्तै नहोस् भनेर लुरुलुरु भारतीय सत्ताको पाउ पर्नु भएको होला । सबैले यसै कारण उहाँलाई लेण्डुप दोर्जेसँग तुलना गरेका होलान । सिक्किम राष्ट्र भारतलाई सुम्पिएपछि लेण्डुप दोर्जेले सिक्किम छोडेर कालिम्पोङ पलायन हुनु प¥यो । जहाँ उनको दुःखद निधन भयो । यति जानकारी त प्रधानमन्त्री प्रचण्डलाई पनि थाहा हुनुपर्छ । गोठालालाई कसैले पनि शिरमा बोक्दैन ।
यतिबेला, यो राष्ट्रघाती संशोधनलाई तीन सय अन्ठानब्बे कटाउने कसरतमा देउवाजी र प्रचण्डजी लाग्नु भएको छ । प्रचण्डजीसँग ढङ्ग होला नहोला म भन्न सक्दिन, तर देउवाजीले त सांसद खरिद तथा विदेश भ्रमण गराउने काममा महारत हासिल गरी सक्नु भएको छ । यसपटक पनि उहाँले आफ्नो यही कौशललाई दोहो¥याउने सम्भावना छ । 
एमालेका नेताहरु दुई तिहाई पु¥याउन दिन्नौं भनिरहेका  छन् । यो सामान्य संशोधनको अर्थको दुई तिहाई होइन । यो हो नेपाल नाम गरेको, कहिल्यै कसैको अधीनमा नरहेको राष्ट्रलाई भारतको संरक्षित राज्य बनाउने कि नबनाउने भन्ने गम्भिर मुद्दा ! ३९८ जनाको सहीछाप ठेसेर नेपाल आमाको छाति चिरेर दुई टुक्रा बनाउने कि नबनाउने भन्ने मुद्दा । 
अजम्बरी कोही छैन । हामी सबै मर्छौं । हामीले बोकेका पार्टीहरु पनि मर्छन । तर इतिहास कहिल्यै मर्दैन । हामीले कस्तो मरण मर्ने भन्ने निर्णय हामीले लिने हो । हाम्रो मरण लेण्डुप दोर्जेको जस्तो हुने हो कि शहीद भिमदत्त पन्तको जस्तो हुने हो ? सोच्ने आफैंले हो । तपाईं राष्ट्रको झण्डा बोकेर मर्न चाहनु हुन्छ कि छि  छि ! दुर् दुर् ! को मृत्यु मर्न चाहनु हुन्छ ? निर्णय तपाईंले नै गर्ने हो ।
यो प्रश्न संसदका ती ४९५ साँसदलाई हो । जसका हातमा अहिले नेपाल राष्ट्रको भविष्य अड्किएको छ ।
राजा आउ देश बचाउ भन्ने नारा अहिले हराएको छ । शायद राजा आएपछि राष्ट्र हिन्दु पनि हुन्छ र यो स्वतन्त्र पनि हुन्छ भन्ने लाग्या होला  कसैलाई । तर एक्लो राजाले देश बचाउन सक्छन ? सक्दैनन् । अब आउने राजाको शासन देखिएकै हो । भोगिएकै हो । राजाको शासनका शक्तिशाली मन्त्री कमल थापाजी सधैं मौसम अनुसारको राजनीति गर्न सक्ने नेता हो । ‘एनकेन प्रकारेण मन्त्री प्राप्त’ उहाँको सिद्धान्त हो । राष्ट्रवादी–राष्ट्रघाती–राष्ट्रवादीको वर्तमान नाटकले उहाँको असली चरित्र प्रदर्शित गरिरहेको छ । राजाको शासनमा फेरि पनि उहाँ नै शक्तिशाली मन्त्री हुनुहोला । उहाँकै अगुवाईमा अहिलेको राष्ट्रघाति संशोेधन कार्यान्वयन होला । यो कुनै स्वप्निल अनुमान होइन, यो हो कमल थापाजीको वास्तविक चिनारी ।
त्यसैले देश बचाउने हो भने प्रयत्न गर्ने अहिले नै हो । राष्ट्रद्रोही संशोधनको पक्षमा ३९८ मत नपुगोस्, सांसदहरुको आत्मा नबिकोस्, आत्मा बेचेका एक दर्जन नेताको तथाकथित उर्दी (ह्वीप) ले सांसदको विवेक नमारोस् । कथम कदाचित ३९८ मत पुगिहालेमा राष्ट्रियताका पहरेदारले संशोधन माथि जनमत संग्रहको माग गरुन् ।
प्रचण्डजी त अघिल्लो चुनाव हार्नुभएकै हो । बहिष्कारको धम्कीपछि उहाँलाई जिताइएको हो । अबको चुनावका डडेलधुराबासीले पनि शेरबहादुर देउवालाई हराउन् र शहीद भीमदत्त पन्तको सम्मानरक्षा गरुन् ।