Apr 23, 2024, 11:48 PM

FOLLOW: FacebookTwitterYoutube

नेपाल लोडशेडिङ कथा

नेपाल लोडशेडिङ कथा
प्रदीप नेपाल 
थाहा खबर बैशाख२

कुलमान घिसिङले लोडशेडिङ समाप्त पार्ने प्रकृया शुरु गरेर राम्रो काम गरेका हुन् । भार व्यवस्थापनमा दक्षता देखाएर उनले काठमाण्डौ उपत्यकामा चौबिस घण्टा उज्यालो दिएको कुरालाई सबैले सकारात्मक रुपमा लिनु पर्छ । कुलमानको गीत गाउनेहरुले एकैचोटी सिङ्गो नेपालमा बिजुलीको अँध्यारो अन्त भएको हल्ला गरेर हैरान पारे । सत्य के हो भने कुलमानजीले पहिले उपत्यकामा लोडशेडिङ अन्त गरे र सिङ्गो नेपाललाई चोबिसै घण्टा उज्यालो दिने उनको अभियान अहिले पनि जारी छ । कुलमान घिसिङको प्रयत्नले सफलताको पाइला चुमोस । यो मेरो शुभकामना !
यो सफलतालाई माओवादीको प्रचारयन्त्रले अत्यन्तै वितण्डावादी ढङ्गले प्रचार गरेको देखेर म छक्क परेको छु । ‘केपी ओलीको १८ घण्टा अँध्यारो, माओवादी सरकारको २४ घण्टा उज्यालो’ अथवा ‘एमाले आउँछ कुलमान हटाउँछ’ आदि आदि । आपूmसित सकारात्मक परिणाम नहुनाले माओवादी केन्द्रका प्रचारविज्ञहरुले यो वितण्डा मच्चाएका हुन् । यथार्थमा केपी ओलिको  पालामा १० घण्टा भन्दा कम अँध्यारो थियो । तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीले कुलमानलाई हटाएकी होइनन्, उनको म्याद नथपेकी मात्र हुन् । कुलमान त्यतिबेला चिलिमेका प्रमुख थिए । 
अहिले एमालेका केही केही नेता कार्यकर्ता, केपी ओलीले एक वर्षमा लोडशेडिङ हटाउँछु भन्नु भएको थियो, अहिले त्यही कुरो भएको मात्र हो’ भनेर रक्षात्मक प्रतिवाद गरिरहेछन् । यो पनि बेकारको कोशिस हो । लोडशेडिङ समाप्तीको जस कुलमान घिसिङलाई नै जान्छ । अरु कसैले दावी नगर्नु राम्रो ।
यो माओवादी वितण्डा, जलश्रोत क्षेत्रको काङ्ग्रेसी वितण्डा जस्तै हो । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद भङ्ग गरेपछि विश्व बैङ्कले अरुण तेश्रोमा ऋण संझौता गर्ने प्रकृया थाल्यो । नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपालले विश्व बैङ्कलाइ एउटा पत्र लेखे – चुनावी सरकारसँग दीर्घकालीन असर पार्ने सम्झौता नगरियोस भनेर । एमालेका नेताहरु अरुण तेश्रोको जस लिन चाहन्थे । त्यसैले माधव नेपालको पत्रमा चुनावी सरकारसँग होइन, चुनावपछि आउने सरकारसँग मात्र यो संझौता गरोस् भन्ने सोच लुकेको थियो । चुनावी माहोल पुरै एमालेको पक्षमा थियो र एमालेका नेताहरु दोश्रो प्रतिनिधि सभामा बहुमतको सरकार बनाउछौँ भन्ने सोचमा थिए । त्यसैले माधव नेपालको पत्र अरुण तेश्रो प्रति सकारात्मक थियो । आपूmले जस लिन पाउने आशयको थियो । 
तर चुनावी सरकारसँग दीर्घकालीन असर पार्ने भन्ने वाक्यका कारण अरुण गयो, एमालेले अरुण खायो भन्ने वितण्डा मच्चाएको हो नेपाली काङ्ग्रेसले । अरुण तेश्रो प्रकरणमा राम्रो जानकारी राख्ने मान्छे अहिले पनि जीवितै छन् । यति ठाडो झुट त बोल्नु हुँदैन नि ! रामशरण महत, गोपाल चिन्तन शिवाकोटी, मातृका तिम्सिना, अर्जुन कार्की, हरिप्रसाद पाण्डे । अरुण तेश्रोका जीवित साक्षी हुन् । नेपाली काङ्ग्रेस, अरुण तेश्रोको जस एमालेले नपाओस् भन्ने चाहन्थ्यो र त्यो चाहना स्वभाविक पनि थियो । रामशरण महत विश्व बैङ्कसँग निकट हुनुहुन्थ्यो र नेपालमा संसदीय निर्वाचनमा पराजित भएर पनि राष्ट्रिय योजना आयोगको शक्तिशाली उपाध्यक्ष हुनुहुन्थ्यो । गोपाल चिन्तन, मातृका तिम्सिना र अर्जुन कार्की, तीनै जना वातावरण बचाउ अभियानका अभियन्ता हुनुहुन्थ्यो । एउटा ठट्टा चलेको पनि थियो उतिबेला – पुतली बचाउनेहरुले अरुण तेस्रो आउन दिएनन् । हरि प्रसाद पाण्डे एमालेका जलश्रोत मन्त्री हुनुहुन्थ्यो । उहाँ आफ्ना विज्ञ सहयोगीहरु सहित विश्व बैङ्कको केन्द्रीय कार्यालय पुग्नु भएको थियो । उहाँलाई नै हो विश्व बैङ्कका अधिकारीले अरुण तेश्रोमा लगानी नगर्ने अन्तिम निर्णय सुनाएको ।
तर एउटा गंभिर पक्षतिर कसैको ध्यान गएको देखिएन । यो लोडशेडिङ समाप्तीमा भारतबाट आयात गरिने बिजुलीको ठूलो हिस्सा छ । अहिले नेपालले ३७४ मेगावाट बिजुली भारतबाट आयात गर्छ । यो आयात रोकियो भने नेपाल फेरि ७–८ घण्टा लोडशेडिङको अँध्यारोमा जान्छ । भारत हाम्रो दुष्ट छिमेकी हो भन्ने सबैलाई थाहा भएकै कुरा हो । यो कुनै आरोप होइन । आपूmसँग अनुमति नलिई नेपालको संविधान जारी ग¥यो भन्ने रिसमा नेपालका विरुद्ध छ छ महिनासम्म पूर्ण नाकाबन्दी लगाउने मुलुक भारत नै हो । भोलि  उसलाई रिस उठ्यो भने भारतले नेपाललाई झ्याप्पै अन्धकारमय बनाउन सक्छ । यो खतरातिर नहेरी फुर्फुर गर्नुको कुनै अर्थ छैन । भारतले बिजुली नदिंदा पनि नेपाल झलमल्ल भइरहोस, हामीले यो दिशातिर सोच्ने हो ।
अर्को कुरातिर पनि हल्लाखोरहरुको ध्यान जान सकेको छैन । भारतबाट आयात गरिने प्रतियुनिट बिजुली ८ रुपियाँको आसपास तिर्नु पर्छ । विद्युत प्राधिकरणले नेपाली उत्पादकलाई पनि ८ रुपियाँ दिने हो भने नेपाल भित्रैबाट जति पनि बिजुली उत्पादन गर्न सकिन्छ । 
एमालेलाई जति आरोप लगाए पनि यतिबेला, संगठितरुपमा भन्ने हो त्यही पार्टीका कार्यकर्ताले बनाएका आयोजनाले कूल नेपाली उत्पादनको १० प्रतिशत ओगटेको छ । अहिलेसम्म एमालेको जलश्रोत तथा उर्जा विभागमा संगठित नेता कार्यकर्ताको लगानीमा १ देखि १४ मेगावाटसम्मका एक दर्जन भन्दा आयोजनाले राष्ट्रिय प्रसारणमा योगदान दिई रहेका छन् । यतिबेला २२ मेगादेखि ४२ मेगावाटसम्मका आयोजनाहरु निर्माणाधीन छन् । जसले आगामी तीन वर्षमा १०० मेगावाट राष्ट्रिय प्रसारणमा जोड्ने छन् ।
आज म इतिहास कोट्याउने र अरु पार्टीलाई लज्जित तुल्याउने पक्षमा छैन । नेपाली उर्जा विकासको इतिहासमा, अहिलेसम्म ठूलो रहेको कालीगण्डकी, विद्युत प्राधिकरणले नमूना मानेको चिलिमे र केही समयपछि नेपालको सबैभन्दा ठूलो हुने क्षमतामा निर्माण भैरहेको माथिल्लो तामाकोशी निर्माणको श्रेय पनि एमालेकै खातामा जान्छ । माथिल्लो तामाकोशी नर्वेलाई दिने मनस्थितिमा थियो नेपाली काङ्ग्रेस । तर विद्युत प्राधिकरणका केही इन्जिनियर, नेकपा एमाले, माथिल्लो तामाकोशी सरोकार समाज र स्थानीय जनताको चर्को दवावका कारण काङ्ग्रेस पछि हटेको थियो । इलामको पुवा खोलाको सुरुङमा दुई दुई पटक मै छिरेको थिएँ । तर उद्घाटनको श्रेय चाहिं पशुपति शमशेरजी खातामा गयो । यसमा कुनै गुनासो नगर्नु नै राम्रो होला ।
लोडशेडिङको यो यथार्थ कथा पढेपछि पाठकलाई पनि लाग्नु पर्ने हो – कुनै पनि सरकारले दश हजार र बीस हजारको भाषण नगरी, बिजुली बेच्ने सपना नदेखी नेपाल र नेपालीका लागि मात्र बिजुली उत्पादन गर्ने वातावरण बनाइदिने हो भने नेपाल कहिल्यै अँध्यारो हुने छैन । त्यसैले आजको नारा हुनु पर्छ – आत्मनिर्भर विद्युत उत्पादनःसमृद्धिको अभियान ।