Apr 25, 2024, 09:11 PM

FOLLOW: FacebookTwitterYoutube

काङ्ग्रेस माओवादी एकता

काङ्ग्रेस माओवादी एकता
प्रदीप नेपाल
गोरखापत्र साउन १२

यतिबेला नेपाली काङ्ग्रेस र माओवादी केन्द्र हनिमूनमा छन् । यो हनिमून सुखद अनुभूतिका साथ चलिरहेको छ । दुबै पार्टीका अध्यक्षहरु एउटै स्वभावका छन् । दुबै पार्टी, कमिटी होइन, भिडतन्त्रको परिचय बोकेर बाँचेका छन् । दुबै पार्टी एक अर्कोको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका छन् । गएको निर्वाचनमा माओवादीका लागि रुख प्यारो भयो भने गोलो घेरा भित्रको हँसिय–हथौडा काङ्ग्रेसको आफ्नो चिन्ह भयो । गएको निर्वाचनले यस्तो भान गरायो मानौं रुखको फेदमा हँसिया हथौडको झण्डा गौरवका साथ टाँगिएको छ । यो घरभित्रको कुरो भयो ।
घर बाहिर पनि दुबै रहरलाग्दो हिसाबले मिलेका छन् । दुबैको अन्तर्राष्ट्रिय केन्द्र एउटै छ । दुबैको क्षेत्रिय केन्द्र पनि एउटै छ । पाठकलाई  यो अतिरन्जना लाग्न सक्छ । तर सोसलिस्ट इन्टरनेशनलका महासचिवबाट ‘अफ्टर द डेथ अफ बीपी कोइराला एण्ड गणेशमान सिंह नेपाली काङ्ग्रेस इज नो मोर सोसलिस्ट’ (बीपी कोइराला र गणेशमान सिंहको निधनपछि नेपाली काङ्ग्रेस समाजवादी रहेन ।) भनी बोलिएको वाक्य मैले आफ्नै कानले सुनेको थिएँ । यो सन् २००६ को कुरा हो । समाजवादी नरहेपछि काङ्ग्रेस के हुन्छ ? पूँजीवादी । नेपालजस्तो मुलुकमा पूँजीवाद भ्रष्ट, सिद्धान्तहीन, गरीबमारा हुन्छ । नेपाली काङ्ग्रेसको वर्तमान ठ्याक्कै यो चरित्रसँग मेल खान्छ ।
जहाँसम्म माओवादी केन्द्रको कुरा हो – त्यसको सिद्धान्त चिनिया साँस्कृतिक क्रान्तिको नयाँ जनवादी अधिनायकत्व हो । साँस्कृतिक क्रान्तिको नयाँ जनवादले धेरै देशका कम्युनिस्ट पार्टीलाई समाप्त पा¥यो । यथा, थाई कम्युनिस्ट पार्टी, मलय कम्युनिस्ट पार्टी, फिलिपिन्स कम्युनिस्ट पार्टी आदि । पेरुका गोन्जालेज नयाँ जनवादका अन्तर्राष्ट्रिय नेता हुन खोज्दै थिए । तर उनी पक्राउ परेपछि त्यो पेरु पनि कम्युनिस्ट पार्टीको बाह्र वर्षे खडेरीमा प¥यो । कम्बोडियामा नरसंहारको नमूना बन्यो नयाँ जनवादी अधिनायकत्वको सिद्धान्त बोकेको कम्युनिस्ट पार्टी । जुुन जुन देशका पार्टीले साँस्कृतिक क्रान्तिकालीन नौलो जनवादलाई बेलैमा बाई बाई गरे, तिनले कम्युनिस्ट पार्टीलाई बचाए मात्र होइन – आन्दोलनलाई परिवर्तन र विजयको उचाइमा समेत पु¥याए । यथा, नेपालको नेपाल कम्युनिस्ट पार्टी (एमाले) । यहाँनेर रोजा लक्जमबर्गको रुसी क्रान्तिको भविष्यबारे गरिएको टिप्पणीको संझना गर्नु उपयुक्त हुन्छ । उनले भनेकी थिइन् – रुसी कामरेडहरु यतिबेला भविष्यको चौबाटोमा उभिएका छन् । उनीहरु प्रजातान्त्रिक बाटोमा अघि बढ्छन् कि अधिनायकत्वतिर लाग्छन् – यसै मुद्दाले उनीहरुको भविष्य निर्धारण गर्छ । प्रजातान्त्रिक बाटो अबलम्बन गरे भने समाजवादले प्रगति गर्छ । अधिनायकत्वतिर लागे भने रुसी समाजवाद ध्वस्त हुन्छ । माओवादी केन्द्र अहिले यस्तै दोबाटोमा उभिएको छ । 
म कुनै उपदेशक होइन, राजनीतिक भविष्यवेत्ता पनि होइन । अध्ययनले देखाएका तथ्य र तिनको निष्कर्ष नै मैले लेख्ने हो । केपी ओलीले हामीसँगै बसौं भनेर अनुरोध गरे पनि प्रचण्डजी एमालेसँग मिल्नु हुन्न । किनभने माक्र्सवादी कम्युनिस्ट पार्टीको सिद्धान्त, स्वतन्त्रताको पक्षपोषण हो भन्ने उहाँलाई थाहा छैन । लोकतान्त्रिक कम्युनिस्ट पार्टीलाई माओवादी केन्द्रले संशोधनवाद देख्छ । यसबाहेकका अप्ठ्यारा पनि छन् धेरै । एमाले, नेपाल हेरेर जनताको राजनीति गर्छ । तर माओवादी कार्यसूचीमा जनताको स्थान धेरै तल हुन्छ । माओवादीको राजनीतिको सार सत्ता राजनीति हो । उसले बोकेको सिद्धान्तका हिसाबमा यो सही पनि हो । ‘प्रतिकृयावादी सत्ता ढाल, कम्युनिस्ट पार्टीको नेतृत्वमा संयुक्त मोर्चा गठन गरी जनताको सत्ता थापना गर, यही नै जनवादी अधिनायकत्व हो’ । यो अहिले पनि माओवादीको शासकीय सिद्धान्त हो । सिद्धान्त बाहिरको व्यवहारले पनि प्रचण्डजीलाई एमालेतिर आउन दिँदैन । राष्ट्रवादलाई अरुले जति सरापे पनि नेपाली राष्ट्रियताको मुद्दालाई नेकपा एमालेले कहिल्यै छोड्दैन । तर प्रचण्ड कामरेडले दिल्ली दरबार सामू ‘हामी भारतीय हीत विरुद्ध काम गर्ने छैनौं’ भनी उहिल्यै तमसुक गर्नु भएको छ । त्यो तमसुकलाई दिल्लीले पटक पटक संझाइ रहेछ र त्यो तमसुकलाई बाँचुन्जेल प्रचण्ड कामरेडले च्यात्न सक्नु हुन्न ।
यस्तो स्थितिमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र बीच, तालमेल, सहकार्य र पार्टी एकता स्वभाविक हुन्छ । एमालेसँग नेकपा माओवादी केन्द्रको मिलाप हुनु भनेको नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नु जस्तै हो । त्यसैले नेकपा एमालेसँग मिल्नु पर्दा कम्तिमा पनि माओवादी केन्द्रका नेताहरुको सिद्धान्त र नेपाल राष्ट्रप्रतिको निष्ठा सार्वजनिक हुनु पर्छ । तर काङ्ग्रेससँग मिल्दा माओवादीले केही गरिहनु पर्दैन । दिल्ली दुबैका तिर्थस्थल हो । दुबै समाजवाद विरोधी भैसकेका छन् । अहिले समाजवादसँग काङ्ग्रेस र माओवादी दुबैको दूरी पाटिन नसकिने गरी टाढिएको छ । नेपाली काङ्ग्रेसमा शेरबहादुर देउवाको अनि नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व रही रहेसम्म, समाजवाद विरोधी काङ्ग्रेस माओवादी गठबन्धन कसैले तोडन सक्दैन ।
मधेशी नेताहरुको हैसियत खस्किनुका पछिल्तिरको प्रमुख कारण पनि यही हो । लैनचौरमा बोलाएर ‘जनकपुरमा दश हजारको जुलुश  पनि निकाल्न नसक्ने’ भनेर हुँकेपछि मधेशी नेताहरुले काङ्ग्रेस–माओवादीले आफ्नो दिल्लीतिरको हक खोसे भनेर बुझ्नु पर्ने थियो । तर तिनले बुझेनन् । मधेशी नेताहरुले बुझेनन् भनेरै होला, काङ्ग्रेसका नेता अमरेश कुमार सिँह मैदानमा उपस्थित भए । नेपाली काङ्ग्रेसका नेता अमरेशकुमार सिँहले माओवादी नेतृत्वलाई कसरी आफ्नो दवावमा राखेका छन् भन्ने सत्यको पोल भविष्यमा बाबुराम भट्टराईले खोल्ने छन् । किनभने ०६४ सालमा अमरेश कुमार सिँहले दिल्लीको धम्की दिएर कामरेड प्रचण्डलाई बेलुका आठ बजे हिसिला यमीको क्वार्टरमा बोलाएका थिए । त्यतिबेला हिसिला यमी र म दुबै मन्त्री थियौँ ।
नेपाली राजनीतिका सन्दर्भमा प्रतिस्पर्धी दलका रुपमा नेकपा एमाले र नेपाली काङ्ग्रेस मात्र रहने छन् । समयक्रममा अरु सबै दलहरु या त क्षेत्रीय या स्थानीय तहमा खुम्चिने छन् भने अहिलेका एक सिटे दलहरु इतिहास बन्ने छन् । सुन्दा नमिठो लागे पनि सबै पूँजीवादी मुलुकको नियती यही हो । त्यसैले भेडा भेडा सङ, बाख्रा सङ भएर पार्टीहरुले आफ्नो अवस्थिति खोज्नु राम्रो हुन्छ । यो काम नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबाट आरम्भ भएको छ । मान्छेको चाहना एमाले र माओवादी मिलिदिए हुन्थ्यो भन्ने छ । कतिपय स्थानीय तहमा भोलि एमाले र माओवादीकै बीचमा एकता हुने संभावना पनि उत्तिकै प्रबल छ । तर नेकपा माओवादी केन्द्रको वर्तमान नेतृत्व दक्षिण एशियाली  राजनीतिका कारण नेपाली काङ्ग्रेसलाई छोडन सक्ने अवस्थामा छैन । यदि त्यस्तो हुन्थ्यो केपी ओलीको नेतृत्वमा रामरी चलिरहेको सरकारको बिघटनमा माओवादी केन्द्रको प्रमुख भूमिका हुने थिएन । लुम्बिनी बिखण्डन जस्तो अपराधपूर्ण काममा माओवादी केन्द्रले काङ्ग्रेसलाई साथ दिने थिएन । यति मात्र होइन, स्थानीय तहको निर्वाचनमा केन्द्रीय नीतिमा नेपाली काङ्ग्रेससँग गठबन्धन गर्ने, स्थानीय तहमा एमालेसँग सहकार्य गर्ने काम पनि हुने थिएन । यति मात्र पनि होइन, माओवादी केन्द्रले आफ्नो पराजयको सारा दोष एमालेको टाउकामा हाल्ने पनि थिएन ।
नेपाली राजनीतिमा एउटा अनौठो शब्दावली जन्मिएको छ – प्रवेशको लहर । यसका बारेमा मैले धेरै लेखिरहनु परोइन । एकजना भाइ भेटन आएका थिए आफ्नो दाइको परिचय बोकेर । उनले मसँग अनुरोध गरे – हामी नेकपा एमालेमा प्रवेश गर्न चाहन्छौं, सरले पहल गरिदिनु प¥यो । चिन्नु न जान्नुका ती भाइका लागि मैले कुनै पहल गर्ने कुरो भएन । मैले उनलाई भने – तपाईं आफ्नो जिल्ला जानूस्, प्रकृया त्यहीँबाट आरम्भ गर्नुस् । हाम्रो पार्टीमा प्रवेश गर्न जिल्लाबाटै पहल गर्नु पर्छ । भाइ जिल्ला गए होलान् प्रवेशका लागि भनेर पर्खिरहेको मैले तिनलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष कामरेड पुष्पकमल दाहालबाट पार्टी प्रवेश गराउँदै गरेको देखेँ टेलिभिजनका पर्दामा । तिनले मसँग एमाले प्रवेशको अनुरोध गरेको र माओवादी केन्द्रको टिका लाएको बीचमा महिना दिन पनि टरेको थिएन । यति चाँडै एमालेको बहुदलीय जनवाद त्यागेर नौलो जनवादतिर जानेले पार्टीमा के योगदान दिन्छ ? अब ती भाइको एमाले वा माओवादी केन्द्र, मा पार्टी प्रवेशको अर्थै के भयो र ?
वर्तमान पार्टीहरुको परिचयको आधारमा भन्ने हो भने नेपालमा चार प्रकारका पार्टी छन् । बामपन्थी समाजवादी, दक्षिणपन्थी पूँजीवादी, राजावादी र जातिवादी । राजावादी र जातिवादी पार्टीहरु आधारभूत रुपमा दक्षिणपन्थी पूँजीवादी नै हुन् । भविष्यको राजनीतिक ध्रुवीकरण यसै आधारमा हुनेछ । यो ध्रुवीकरणको प्रतिस्पद्र्धामा नेकपा एमालेले दक्षिणपन्थी गठबन्धनलाई पराजित गरेर आपूmलाई श्रेष्ठ प्रमाणित गर्नु पर्नेछ ।