Apr 19, 2024, 03:49 PM

FOLLOW: FacebookTwitterYoutube

हिंसाः असफलताको बाहक

हिंसाः असफलताको बाहक 
गोरखापत्र २८ माघ

क्रान्ति । छलाङ । आमूल परिवर्तन । बलात् परिवर्तन । आन्दोलन । यी शब्दले नेपालमा सकारात्मक भाव राख्दछन् । झट्ट सुन्दा यस्ता शब्दहरु मिठा पनि लाग्छन् । तर यतिबेला यी शब्दको परिणाम भने गतिरोध, विद्धेष र विनाश मात्र भएको छ । यो कुनै कल्पना होइन । क्रान्ति प्रतिको अविश्वास पनि होइन । क्रान्ति भनेको परिवर्तन हो । परिवर्तन मानव चेतना हो । तर यी शब्दहरुले ल्याउने परिवर्तन, नेताहरुले भाषण गरेजस्तो हुँदो रहेनछ । यस्ता क्रान्तिकारी परिवर्तनहरु नेताको चाहना अनुसार पनि चल्दा रहेनछन् । नेपाली अनुभवले पनि सिकाएको छ – परिवर्तन एउटा प्रकृया हो । त्यस्तो प्रकृया जो आमजनताको चेतनासँग जोडिएर मात्र अघि बढ्न सक्छ । जनताको नेता भएर आएको परिवर्तन अर्थहीन र विनाशी हुँदो रहेछ ।
हामी आफ्नै इतिहाससँग जोडिएर यसको सच्चाइ प्रमाणित गर्न सक्छौं ।
नेपालको पहिलो ठूलो क्रान्ति भनिएको २००७ सालको राजनीतिक परिवर्तन हो । ००७ सालको क्रान्तिलाई नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन महासचिव पुष्पलालले ‘अपुर्ण क्रान्ति’ भनी सम्बोधन गरेको थिए उतिबेला । तर नेपाली कांग्रेसका वितण्डावादीहरुले, पुष्पलालको सत्यको नजिक रहेको निष्कर्षलाई उभिन पनि दिएनन् । त्यसलाई तिनीहरुले कम्युनिस्टको असन्तुष्टीका रुपमा लिए होलान् । तर जुन दिन कांग्रेसको भाकाका क्रान्तिनायक वीपी कोइरालाले ००७ को दिल्ली सम्झौताको पर्दा उघारिदिए, त्यतिबेला सबैलाई थाहा भयो – दिल्ली सम्झौता, यथार्थमा ००७ सालको सशस्त्र क्रान्तिप्रतिको धोका थियो । राजा, राणा र भारत मिलेर नेपाली कांग्रेसको नेतृत्वमा लडिरहेको मुक्ति सेनालाई निशस्त्र गरियो । राजनीतिक परिवर्तनको सपना बोकेका जानकार नेता र कार्यकर्ताको आँखामा छारो हालेर मुक्तियुद्धलाई बीचमै तुहाइयो । ००७ सालप्र्रति नेपाली कांग्रेसका नेताहरु किन गर्व गर्छन् मैले बुझ्न सकेको छैन । ००७ सालले त नेपाली कांग्रेसलाई धरधरी रुवाउनु पर्ने थियो । सम्झदा पनि अपमानित हुनु पर्ने थियो । कांग्रेसका युवाहरुले वीपी कोइरालाका ग्रन्थहरु पढुन् र ००७ सालमा नेपालका राजा, राणा र भारतको दिल्ली मिलेर क्रान्तिलाई कसरी तुहाएका रहेछन् भन्ने थाहा पाउन्
नेपाली कांग्रेसले नै २०१८ मा अर्को सशस्त्र सङ्घर्ष थाल्यो । ठाउँ ठाउँमा गोली चल्यो, । तरबार र खुकुरीको चोट खाएर पनि मान्छे मारिए । तर परिणाम ? शुन्य ।
नेपाली कांग्रेसले २०३० सालमा फेरि सशस्त्र संघर्ष गर्ने घोषणा गर्‍यो । यो त सिधै विनाशमा परिणत भयो । दुई दर्जन भन्दा बढी त्यागी, जुझारु कार्यकर्ता गुमाएर यो संघर्षले विसर्जित हुनु पर्‍यो ।
‘सामन्तलाई नगिंडे सैनिकसँग नभिडे, आउदैन है जनवाद छमछम नाचेर’ यो झापा सङर्षको गीत थियो । नारा पनि यही थियो । झापा सङ्घर्षको चरित्र नै स्क्वाड बनाएर एउटा एक्सन गर्ने थियो । स्क्वाड भनेको गुरिल्लाको सानो टोली र एक्सन भनेको मारकाट । डरलाग्दो आतङ्क मच्चायो झापा सङ्घर्षले । तर परिणाम ? उही शुन्य । सुखानीमा पाँच योद्धाको हत्या भयो । धनकुटामा एक दर्जनको हत्या भयो । देशभरिमा अरु दुई दर्जन जतिको हत्या भयो । झापा सङ्घर्षको भ्रुणबाट नेकपा (माले) जन्मियो । राजनीति खुला भएपछि त्यो नेकपा (एमाले) भयो । माले हुँदै त्यसले सशस्त्र सङ्घर्षको कार्यनीति छोड्यो । जनसङ्गठन, जनआन्दोलनको नेतृत्व गर्ने नीति लियो । पछिल्लो नीतिले नै नेकपा मालेलाई राष्ट्रव्यापी विस्तार दियो । 
२०४२ सालमा रामराजा प्रसाद सिंहको जनवादी मोर्चाले ‘बम विस्फोट’ गराएर गणतान्त्रिक युद्धको घोषणा गरेको थियो । तर अल्पकालीन आतंक बाहेक त्यसको अर्को कुनै प्रभाव रहेन । तीन दर्जन जति कार्यकर्ताको जीवनमा नकारात्मक प्रभाव छोडेर त्यो पनि इतिहासमा बिलायो ।
साउने झरी भएर ओइरियो माओवादीको जनयुद्ध । माओवादी नेताहरुले ८० प्रतिशत भूभागमा आफ्नो नियन्त्रण रहेको दावी पनि गरे । तर परिणाम ? जति ठूलो उपलब्धीको दावी उति ठूलो नोक्सानी । ‘गृहयुद्ध’ भनी राज्य र माओवादी दुबैले स्वीकार गरेको यो विनाशकारी हिंसाले अनाहकमा १७ हजार नेपाली जनताको ज्यान लियो । 
पछिल्लो कालको हिंसात्मक छलाङ थियो मधेस आन्दोलन । मधेस आन्दोलनका नाउँमा मच्चिएको मारकाटले सामाजिक सद्भाव भड्काउने र तराईको मध्यमवर्गलाई नाफा दिने काम बाहेक अरु कुनै परिणाम दिएन । यो सबैले देखेको र भोगेको विषय हो ।
यी विवरणहरु राजनीतिक आन्दोलनको इतिहासमा अंकित भैसकेका छन् । यहाँ तिनको समिक्षात्मक चिरफारको आवश्यकता परोइन । आत्मरतिका लागि यी आन्दोलनहरुले आमजनताको राजनीतिक चेतना वृद्धि गरे भन्ने गरिएको छ । तर त्यसको सकारात्मक परिणाम कतै देखिएको छैन । यदि हिंसात्मक संघर्षले जनताको राजनीतिक चेतना बढाएको थियो भने पछिल्लो समयमा राजा ज्ञानेन्द्रले सहजै सत्ता छोप्न सक्ने थिएनन् ।
यथार्थमा हिंसात्मक संघर्षको चेतना निम्नपूँजीवादी निराशाको अभिव्यक्ति मात्र हो । जनताको विश्वास गुमाएपछि आफ्नो वर्चस्व कायम राख्न ब्यक्ति वा समूहले मारकाटको सहारा लिन्छन् । यसको सबैभन्दा पछिल्लो र उदाहरण हो – जनमतबाट तिरस्कृत भएका, चुनावमा हारेका मधेशी नेताहर्लुे सञ्चालन गरेको मधेस आन्दोलन । निहत्था प्रहरीहरुको हत्याबाट आरम्भ भएको कथित मधेस आन्दोलनले पाँच दर्जन नेपाली नागरिकको रगत पिएर आफूलाई बिसाउने काम गर्‍यो ।
शोषण दमन उत्पीडनका विरुद्ध संघर्षको हतियार के हो त उसोभए ? राजनीति अनिवार्य रुपमै सत्तासँग जोडिन्छ । सत्ता हुँदैनथ्यो भने राजनीति पनि हुँदैनथ्यो । हतियार बोकेर मारकाट मच्चाए पनि अथवा शान्तिपूर्ण आन्दोलन गरे पनि राजनीतिको अभिष्ट सत्ता नै हो । सत्ताप्राप्तीको यो बाटोमा जनताको साथी भएर अघि बढ्ने कि बलात् परिवर्तनको छलाङ मार्ने भन्ने टुङ्गो गर्नु पर्ने कुरो यत्ति मात्र हो । 
जनता, राजनीतिको अनिवार्य पक्ष हो । जनता भए नेताले राजनीति गर्ने हुन् । जनता नभएका नेताले राजनीति गर्न सक्दैनन् । त्यसैले अपराधीको सानो जत्थालाई बोकेर मारकाट मच्चाउनु त्यस्ता नेताको वाध्यता पनि हो । यसको उदाहरण पनि हाम्रा सामू उपस्थित भैसकेको छ । त्यही मधेस हो जहाँ युवा संघले हजारौ जनताको उपस्थितिमा जिल्लैपिच्छे संविधान निर्माण प्रष्टोक्ति कार्यक्रम गर्‍यो । यस्तो तनावमा ‘युवा संघ निहुँ खोज्न मधेस पस्नु हुँदैनथ्यो’ भन्ने कर्मकाण्डीहरुले युवा संघको उपस्थितिलाई घटाउने र मधेसी मोर्चाको उपस्थितिलाई बढाउने काम गर्नु स्वभाविक थियो । तर तिनले समेत मधेसी बस्तीको रंगेलीमा युवा संघको भन्दा मधेसी मोर्चाको उपस्थिति आधा भन्दा कम थियो भनेर स्वीकार गरेका छन् । युवा संघले वीरगन्ज नाका कब्जा गर्‍यो, राजविराजमा कार्यक्रम गर्‍यो, रंगेलीमा युवा संघका नेता चढेको गाडीमा मोर्चाले आक्रमण गर्‍यो, कार्यक्रमका सहभागीहरु चढेर आएको बसमा मोर्चाका कार्यकर्ताले आगजनी गरे भन्ने समाचार छ्यास्छ्यास्ती छापिएकै हुन् । यी समाचारहरुले बताउँछन् – मधेसी मोर्चाले कतै पनि जनप्रतिकार गर्न सकेन ।
उग्रवामपन्थी सोचले छलाङलाई क्रान्ति र क्रमिक विकासलाई संशोधनवाद मान्छ । यो राजनीतिक अज्ञानताको राम्रो उदाहरण हो । यथार्थ के हो भने जनतालाई काम नलाग्ने औजार सबै पार्टीका लागि अस्वीकार्य हुनु पर्छ । बन्द र मारकाटको आन्दोलनले कहिल्यै पनि केन्द्रीय सत्तालाई दुख दिंदैन । त्यसले सधैंभरि जनतालाई मात्रै दुःख दिन्छ । कैलालीका ज्यानमाराहरु पुलिस मारिएपछि टुप्पी ठाडो पारेर भागे । त्यसपछि राज्यको वक्रदृष्टिमा टिकापुर क्षेत्रका सोझा जनता मात्रै परे । पाँच महिना चलेको भनिएको नाकाबन्दी र यातायातका साधन माथिको तोडफोडले न सुशिल कोइरालालाई छोयो, न केपी ओलीलाई । न त्यसले वामदेव गौतमलाई तर्सायो, न शक्ति बस्नेतलाई । सताइए को ? जोसँग सार्वजनिक बस सेवा बाहेक अर्को कुनै सवारी साधन थिएन । यस्तो कुरुप आन्दोलनको तस्वीर जनतालाई नचिन्ने नेताहरुको दिमागमा हुन्छ । र नेपालको राजनीतिमा सानाहरु सधैं ठूलाको दिमाग अनुसार चल्नु पर्छ । भलै त्यो दिमाग थकित,दिग्भ्रमित नै किन नहोस् ।
बन्दलाई आन्दोलन भन्ने, मारकाटलाई क्रान्ति ठान्ने उल्टो चेतले नेपालको राजनीतिलाई विनासको चिहानघारी बाहेक अन्त कतै लाँदैन । संघीयता स्वयम् प्रथमग्रासे मच्छिकापात हुनुको कारण पनि यही हो । यो संघीयता नेपाली जनताको माग होइन । या डेढ दुई दर्जन ठूला नेताको दिमागी उपज हो । नेताको दिमागी उपज भएकै हुनाले संघीयताको पराजय पनि निश्चित छ ।
आफू अघि अघि कुदेर डाँडामा पुग्ने र जनतालाई पछि आउँदै गर है भन्ने सामन्ती चेतको पुँजीवाद पनि पराजित हुनु अवश्यंभावी छ । नेताहरुमा चेत पलाओस् – जनता र उनीहरुको बीचको दूरी घटोस् । उनीहरुका निर्णयले जनतालाई दुःख नदेओस् ।