Apr 20, 2024, 01:28 PM

FOLLOW: FacebookTwitterYoutube

विश्वव्यापी राष्ट्रियताको लहर

विश्वव्यापी राष्ट्रियताको लहर
प्रदीप नेपाल
गोरखापत्र २६ साउन

नेपालमा राष्ट्रियतालाई बुझ्ने राजनीतिक नेताहरुको अकाल छ । समस्या अध्ययनमा छ । हाम्रा कुनै पनि नेताहरु नयाँ नयाँ विषयको अध्ययन गर्दैनन् । उनीहरु आपूmलाई सर्बज्ञानी ठान्दछन् । नेपालमा त उनीहरु भन्दा जान्ने कोही छैनन् भन्ने भ्रममा उनीहरु बाँचिरहेका हुन्छन् । त्यसैले नेपालमा सल्लाहकार, बढिमा शक्तिशाली स्वकीय सचिव मात्र हुन्छ । तर उ कुनै हिसाबमा पनि सल्लाहकार हुन पाउँदैन ।
गएको हप्ता मैले चैतन्य मिश्रको माक्र्सवाद संबन्धी एउटा टिप्पणी पढेँ । नेपालका सबै कम्युनिस्ट पार्टीका नेताहरुले मनोयोगका साथ पढ्नु पर्ने लेख हो त्यो । म त्यसको समीक्षा या व्याख्यातिर जान्न । त्यसले मभित्र सलबलाएका प्रश्नको उत्तरतिर जान चाहन्छु । 
पहिलो हो – चिनिया क्रान्तिको चरित्र । मिश्रजीका अनुसार माओत्सेतुङको नेतृत्वमा लडिएका नयाँ जनवादी क्रान्ति र जापान विरोधी प्रतिरोध युद्धको चरित्र राष्ट्रिय पूँजीवादी थियो । निष्कर्ष तर्क सङ्गत छ । आठ थान अन्तर्राष्ट्रिय साम्राज्यवादी मुलुकले बाँडिचुँडी खाएको मुलुकको मुक्तिको जिम्मेदारी बोकेको थियो चीनको कम्युनिस्ट पार्टीले । साम्राज्यवाद विरोधी क्रान्तिको चरित्र स्वभाविक रुपले राष्ट्रिय हुन्छ । माओत्सेतुङले चीनको क्रान्तिलाई  नयाँ जनवादी भन्नु भएको हो भन्ने ज्ञान नेपालका सबै कम्युनिस्ट नेताहरुमा छ । जापानी आक्रमण विरोधी प्रतिरोध युद्धमा चीनिया कम्युनिस्ट पार्टीले कुओमिन्ताङको हातबाट राष्ट्रवादको झण्डा खोसेरै चीनलाई मुक्त गरेको हो । साम्राज्यवादी उत्पीडनको शिकार भएका मुलुकहरुमा नौलो जनवादी क्रान्तिको कार्यक्रम बन्नु त्यसैले स्वभाविक हो । अहिलेको ‘एक चीन’ को नारामा साम्राज्यवादी थिचोमिचो प्रतिको विरोध छ । त्यसैले साम्राज्यवादी दवाब समग्रमा समाप्त नभइन्जेलसम्म ‘एक चीन’ को नारामा चिनिया राष्ट्रवाद बाँचिरहने छ ।
तर नेपाल कहिल्यै कसैको उपनिवेश भएन । ब्रिटिश–भारतको स्थापनादेखि त्यसको दमन, थिचोमिचो र षडयन्त्रको शिकार भएको हो नेपाल । तर गोरा भारतीय या काला भारतीय कसैले पनि नेपाललाई आफ्नो उपनिवेश बनाउन सकेनन् । यस्तो मुलुकमा नयाँ जनवादी क्रान्तिको नारालाई जस्ताको तस्तै आयात गर्ने काम सही थिएन । नेपालका नेताहरुले आफ्नो राष्ट्रिय चरित्रको विश्लेषण गरेर नेपाली क्रान्तिको कार्यक्रम बनाउनु पर्ने थियो । कुनै पनि साम्राज्यवादी मुलुकको उपनिवेश नरहेको हुनाले नेपालको राष्ट्रिय अन्तरविरोध आन्तरिक रह्यो सधैंभरि । नेपाली जनताले आफ्नै शासकका विरुद्ध लड्नु प¥यो जहिले पनि । यति कुरो बुझ्न नेपालको कम्युनिस्ट आन्दोलनलाई चार दशक लाग्यो । नेपाल कम्युनिस्ट पार्टीले पचासको दशमा मुलुक सुहाउँदो एउटा कार्यक्रम ल्यायो । त्यो थियो जनताको बहुदलीय जनवाद । नेपालको राष्ट्रिय चरित्रसँग जोडिएर आएको हुनाले यसले व्यापक समर्थन पनि पायो र छोटो समयमै बहुदलीय जनवाद नेपाली राजनीति मात्र होइन, नेपाली जनतामा पनि स्थापित भयो । जनताको बहुदलीय जनवादको व्यवहारिक अभिव्यक्ति थियो ०५१–५२ को नेकपा (एमाले) ले ल्याएको लोकपृय कार्यक्रम ।
सारमा राष्ट्रवाद पूँजीवाद नै हो । बीसौं शताब्दी अन्तिम दशकमा सोभियत सङ्घलाई ढाल्ने पनि त्यही राष्ट्रवाद थियो । सोभियत सङ्घको पतनपछि केही समय पूँजीवाद केही काल आरामले बस्यो । तर त्यो आराम धेरै दिन रमाउन पाएन । पूँजीवाद फेरि संकटमा परेपछि पछिल्लो पटक यूरोपबाटै राष्ट्रवादको पुनरोदय भयो । सुन्दर युगोस्लाभिया गरा गराको असुन्दर मुलुक हुनु, पुरानो संकटबाट बच्न बनाइएको यूरोपियन संसदबाट बेलायत बाहिरिनु, स्वयम बेलायतबाट स्कटल्याण्डले विदा माग्नु, जस्ता सबै कामकारबाही त्यही राष्ट्रवादसँग जोडिएका छन् ।
राष्ट्रवादको झण्डा बोकेर पूँजीवाद पछिल्लो पटकको सङ्कटबाट पार पाउने कोशिस गरिरहेछ । चर्का कम्युनिस्टहरु भन्छन्, लडेपछि धुलो टक्टक्याउँदै उठने र फेरि सङ्घर्षमा जुटने । कम्युनिस्टमा त्यस्तो तागत कहिल्यै देखिएन । सोभियत समाजवाद ढलेपछि गल्र्याम गुर्लुम ढलेको समाजवाद कतै उठ्न सकेन । तर संकटमा परेको पूँजीवाद पटक पटक बौरिएको छ कहिले सामान्य सुधारका काम गरेर त कहिले हिङ्सा र मारकाटको हतियार उठाएर । 
यता हाम्रो दक्षिण एशियामा पनि बेलायतले रोपेको विषवृक्ष पछिल्लो समयमा त्यही राष्ट्रवादको जालोमा बेरिएको छ । बेलायतले एकतावद्ध बनाएको ब्रिटिश–इण्डिया यतिबेला अफगानिस्तान, बर्मा, पाकिस्तान, बाङ्लादेशमा विभाजित भैसकेको छ । काश्मिर त टाउको दुखाइ छँदै थियो । साँस्कृतिक रुपमा भारतमा द्रविड सभ्यताको पुनरोदयको चर्चा पनि हुन थालेको रहेछ । आफ्नो हितका लागि बङ्गालले केन्द्रीय सत्ताको विरोध गरिरहेको छ भने बङ्गाल भित्र गैरबङगालीलाई मार्ने र सिध्याउने काममा त्यो उत्तिकै चर्को रुपमा लागेको छ । सोचको हिसाबले नरेन्द्र मोदी र ममता बेनर्जी एकै ड्याङका मुला हुन् । त्यसैले बङ्गाल सरकारले सिक्किम राज्य र गोर्खाल्याण्डका विरुद्ध लगाएको नाकाबन्दी बङ्गाली राष्ट्रवादको हिंसाजन्य काम हो । भारतमा मौलाएको अधिकार प्राप्तीको यो लडाईं पनि राष्ट्रवादकै नारामा बेष्ठित छ ।
अब आफ्नै कुरामा लागौँ । भारत छ र नेपाली राष्ट्रवाद छ । भारतको थिचोमिचो र सीमा स्तम्भ भत्काउँदै नेपालतिर सार्ने, नेपालकै जमिनमा भन्सार, सुरक्षा चौकी बनाउने कामले नेपालको राष्ट्रवादलाई पुष्ट बनाउने काममा मलजल गरिरहेको छ । अन्धआलोचकद्धारा भारत समर्थक भनिने नेपाली काङ्ग्रेस सिद्धान्तकार वीपी कोइराला समेत भारतीय अपमान र थिचोमिचोका कारण राष्ट्रिय मेलमिलापको नारा बोकेर नेपाल फर्किएका थिए भन्ने सत्यको जानकारी अहिलेका काङ्ग्रेस सभापतिमा समेत छैन । वीपी कोइराला हदैसम्म कम्युनिस्ट विरोधी भएको हुनाले, कम्युनिस्ट नेताहरुले राष्ट्रिय मेलमिलापलाई राजा काङ्ग्रेस गठनबन्धन भनेका हुन् । कम्युनिस्टहरुको सन्दर्भमा यो निष्कर्ष सही थियो । तर वीपी कोइराला बाहेकका काङ्ग्रेसले पनि राष्ट्रिय मेलमिलाप कम्युनिस्ट विरोधी राजा–काङग्रेस  बीचको एकता थियो भनी बुझ्नु चाहिँ गलत थियो । यथार्थमा त्यो भारतका कारण खतरामा परेको राष्ट्र बचाउने वीपी कोइरालाको सुझबुझ सहितको राष्ट्रवादी निर्णय थियो ।
नेपालको श्रुति इतिहास छ हजार वर्षसम्म पुगेको पाएको छु मैैले । ककेशसबाट मानसरोबरको फेरो मार्दै आजको कर्णाली प्रवेश गरेका खसहरु नै नेपालका आदिबासी हुन् । ती खसहरु जातबिहिन थिए । विधर्मी थिए । तिनीहरु इश्वरको निराकार अवस्थितिमा विश्वास गर्थे । तिनीहरु मष्टोपूजक थिए । तिनीहरु कूलपुजक थिए । ती खसहरु कर्णालीबाट नेपाल भरि फैलिदै गए गढवालदेखि आसामसम्म । त्यसको तीन हजार वर्षपछि बल्ल वेदको संपादन गरियो । वेद जन्मिदासम्म पृथ्वी ठिक ठाउँमा थियो । त्यसपछिका कर्मकाण्डीहरुले वेदलाई अस्पृष्य संस्कृत साहित्य बनाउने अपराध गरे । तिनैले स्वर्ग जन्माए, नर्क जन्माए, तेत्तिस कोटी देवी देवता जन्माए । 
वेदमा विष्णु भगवानको अस्तित्व छैन । ब्रह्मा चटकीको रुपमा उपस्थित छन् । तर कर्मकाण्डीले तिनलाई सृष्टिकर्ता बनाई दिए । कान्यकुब्जी ब्राह्मणहरुको आगमन पछि नेपालको इतिहास बिस्तारै दक्षिणतिर सर्न थाल्यो । तिनै ब्राह्मणहरु गुरु पुरोहित भएर राजकीय सत्ता उपभोग गर्न थाले । बिस्तारै आदिवासी खश बाहुनहरु ओझेलमा पर्न थाले । नेपालको किंवदन्ती इतिहास लेखनको पनि थालनी भयो । ने मुनी त्यतिबेलै जन्माइएका हुन् । 
इतिहास जे होस्, त्यसको व्याख्या, पुनव्र्याख्या हुँदै जाला । खोज अनुसन्धानले नयाँ नयाँ तथ्यहरुको उपहार पनि देला । तर कुन कुरालाई सबैले स्वीकार्नु पर्छ भने आप्रवासीहरुको मुलुक भनी परिभाषित गरिएको संयुक्त राज्य अमेरिका, विश्वको सबैभन्दा विशाल प्रजातन्त्र भनिएको भारत जस्ता मुलुकहरु समेतले राष्ट्रवादलाई मूल नारा बनाएको वर्तमानमा दुई अरब पचास करोड जनसंख्याको चेपुवामा अवस्थित नेपालसँग राष्ट्रवाद बाहेकको अर्को कुनै नारा छैन आपूmलाइ बचाउने । पहिले पहिले काङ्ग्रेसले मात्रै विरोध गथ्र्यो राष्ट्रियताको । अहिले त माओवादी केन्द्र पनि ‘एमालेको अन्धराष्ट्रवादी अडान’ बाट पिरिन थालेछ ।
माओवादीलाई दिल्ली सरकार सामू गरिएकोे ‘भारतीय हीत विरुद्ध कुनै गतिविधि नगर्ने’ तमसुकको भूतले तर्साइरहेको छ भने काङ्ग्रेसका नेताहरुले हरिहर बिरहीको अझै आगो निभेको छैन शीर्षकको पुस्तक पनि पढेका छैनन् ।