Nov 29, 2020, 09:53 AM

FOLLOW: FacebookTwitterYoutube

नेपालका प्रधानमन्त्रीको समस्या

नेपालका प्रधानमन्त्रीको समस्या
प्रदीप नेपाल
थाहा भदौ पहिलो

नेपालका सबै प्रधानमन्त्रीको समस्या एकै खालको हुन्छ । राष्ट्रलाई माया गरेर काम गर्ने कि दिल्लीलाई रिझाएर कुर्सीमा टाँसिई रहने ! २००७ सालदेखि नै नेपालका प्रधानमन्त्रीहरु माथि दिल्लीको निगरानी चर्को रुपमा हुने गरेको छ । के ००७ – ०१५ को गन्जागोलको समय, के ०१७ – ०२७ को घोर निरंकुशतन्त्रको समय ।  के ०२८ – ०३६ पंचायत नीति तथा जाँचबुझको समय, के ०३७ – ०४६ को सुधारिएको पंचायतको समय । राजाहरुको सिङ्गो शासनकालमा पनि भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो हत्केलामा नचाई रह्यो । जो नाचे ती बाँचे । जो नाच्न मानेनन्, ती खुस्किए । खुस्किनेमा टंकप्रसाद आचार्य र विश्वेश्वर प्रसाद कोइराला हुन् भने पंच भएर बाँच्नेमा सूर्यबहादुर थापा हुन् । तर पंच हुँदै पनि ननाचे वापत छोटो कार्यकालमै बाहिरिनेहरुमा, कीर्तिनिधि विष्ट र मरिचमान सिँह श्रेष्ठको नाम नेपाली इतिहासमा दर्ता भएको छ । राजनीतिमा प्रधानमन्त्री हुनु भन्दा ठूलोे कुरो त्यो पदको गरिमा जोगाउनु हो । टंकप्रसाद आचार्य, वीपी कोइराला, कीर्तिनिधि विष्ट र मरिचमान सिँह बाहेक अरुले नेपालको प्रधानमन्त्रीको गरिमा जोगाउन सकेनन् । यो पूर्व पंचायत काल र पंचायत कालको कुरा भयो ।
बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र कालका हामी धेरै साक्षी छौं । गिरिजाप्रसाद कोइराला, नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूला खलनायक प्रधानमन्त्री भए । सबभन्दा लामो समय नेपालका प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले, आफ्नो नाममा नेपाली प्रधानमन्त्रीको छाप लगाउन सकेनन् । मनमोहन अधिकारी नेपाली प्रधानमन्त्री भए, त्यसैले उनलाई सवोच्च अदालतबाटै ‘कू’ गराएर विदा गरियो । शेरबहादुर देउवा विसङ्गति र विकारको नमूना नै भए । सिङ्गो संसदीय व्यवस्थामा अन्तरिम कालका कृष्णप्रसाद भट्टराई र संसदीय व्यवस्थाका मनमोहन अधिकारी बाहेक अरु कसैलाई नसंझिदा पनि हुन्छ ।
लोकतान्त्रिक गणतन्त्रमा दुई उल्टा परिचय बोकेका प्रधानमन्त्री भए । भारत रिझाउने लम्पसारवादी र देश बचाउने राष्ट्रवादी । लम्पसारवादीका दुबै प्रतिनिधिले दिल्ली भजनमा आपूmलाई समर्पित गरे भने के.पी. ओलीले दृढ साहसका साथ आपूmलाई राष्ट्रवादी घोषित गरे । तर उनी ‘हामी भारतको अहीत हुने कुनै काम गर्ने छैनौं’ भन्ने तमसुक गरेर आएका आफ्नै ‘कामरेड’ को छुरी धसाईमा परेर प्रधानमन्त्रीबाट ‘आउट’ भए । तीन महिना पनि भारतले आपूmलाई रोक्न सकेन । केपी ओली र पुष्पकमल दाहालका बीचमा एक एक वर्षको सत्ता साझेदारीको सम्झौता भएकै थियो । केपी ओलीको सरकारको नौ महिना बितिसकेको थियो । तीन महिना मात्रै पर्खिन सकेको भए दिल्लीले वर्तमान पुस्ताको तिरस्कार भोग्नु पर्ने थिएन । किनभने पछिल्लो गठबन्धन भारतको योजनामा बनेको हो भन्ने सबै नेपालीलाई थाहा भैसकेको छ ।
भारत छ त्यसैले सच्चा नेपालीमा राष्ट्रियताको रातो रगत बगेको छ । भारत छ, त्यसैले नेपालमा वर्षैपिच्छे प्रधानमन्त्रीहरु फेरिन्छन् । भारत छ र त नेपालमा राजनीतिक अस्थिरता छ । छिमेकमा भारत नहुँदो हो त नेपाल वास्तविकतामै सार्वभौमसत्ता संपन्न राष्ट्र हुने थियो । सुन्दर, शान्त, विशाल !
भारतसँग के त्यस्तो तत्व छ र नेपालका प्रधानमन्त्रीहरु, कुर्चीमा बस्ने बित्तिकै अक्षरधाम तिर कुद्न हतारिन्छन् । त्यताका जस्ता धार्मीक धामहरु हाम्रातिर पनि छन् । त्यताका वुद्धिजीवि जस्ता हाम्रातिर पनि छन् । पाठकलाई लाग्न सक्छ यो त अति भयो । भारतका जस्ता वुद्धिजीवि कहाँ पाइन्छन् नेपालमा भन्ने नेपाली पनि डङ्गुर छन् । तर मैले जे भनेको छु, त्यो नै सत्य हो । पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, बराहक्षेत्र, मनकामना, गुहेश्वरी आदि अनन्त धाम छन् नेपालमा । जहाँसम्म वुद्धिजीविको कुरा हो त्यसको सबैभन्दा पछिल्लो उदाहरणमा मात्रै जान्छु म । किनभने दर्जनौं श्रृङ्ला छन् यस्ता । 
कुरो दोकलामको हो । शुरुमा भारतीय संचार जगत पनि राज्यको लहै लहैमा कुद्यो । वुद्धिजीवि पनि संचारसँगै बगेको देखियो । पहिलो त दोकलाम, चीन–भारत सिमाको हिमाली पठार होइन । त्यो भुटान–चीन बीचको पठार रहेछ । तर तिनले भारत–चीन सीमामा विवाद भनेर सकेसम्म ठूलो स्वरमा ढोल फुके । यो अज्ञान भारतीय वुद्धिजीवि समुदायको एउटा परिचय हो । 
शेरबहादुर देउवाको भ्रमणमा भारतका आधा दर्जन वुद्धिजीविको विचार टेलिभिजनमा सुन्न पाइयो । शेरबहादुर देउवाको भ्रमणलाई बढाइचढाइ गर्नु त स्वभाविकै हो । तर शेरबहादुर देउवाको भ्रमणका कारण सप्पै विदको मुखारविन्दबाट ‘चीनलाई धक्का, चीन चिन्तित, चीन आतंकित जस्ता शब्दास्त्रहरु सुनेपछि दक्षिणको वौद्धिकताको मापो पनि चिनियो । हामी भुक्तभोगी जीवितै छौं । चीनले हाम्रा प्रधानमन्त्रीहरुलाई सधैं भन्ने गरेको छ – हामी तपाईंको सच्चा मित्र हौं । हामीलाई तपाईंहरुको अप्ठ्यारो थाहा छ । दक्षिणतिर विशेष ध्यान दिनु होला । नेपाल भारत संबन्ध राम्रो हुनु पर्छ । नेपाल भारत बीचको सुमधुर सम्बन्धले हामीलाई कुनै असर गर्दैन भन्ने कुरो खालि मनमोहन अधिकारी या माधव नेपाल अथवा केपी ओलीसँग मात्र भएको थिएन होला । 
जान्ने हामी यता छौं, नजान्ने उताकाले नेपाल–भारत बीचको मित्रता सुदृढ भएको हुनाले चीनको होस उडेको छ भनेर आतङ्कपूर्ण तर्क दिने मान्छेको विद्धतालाई कसरी सम्मान गर्न सकिन्छ ? यो कुरो कसैले बुझाइ दिए हामी सबैको ज्ञान वृद्धि हुने थियो ।
रोटी बेटीको संबन्धको चर्को भाषण गरे पनि, राम्रा राम्रा शब्द राखेर सन्धी सम्झौता गरे पनि, विकास अनुदानको भाषण गरे पनि भारतले नेपाललाई बन्धक बनाउने बाहेक अरु केही काम गरेको छैन । एकीकृत महाकाली सन्धी हस्ताक्षर गरेको छ महिना भित्र उक्त कार्यको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भनिएको थियो । अहिले हामी सन्धीको एक्काइसौं वर्षमा हिँडिरहेका छौं । तर ०५३ सालमा महाकाली सन्धी जहाँ थियो अहिले पनि त्यहीँ छ । (त्यो कहिल्यै नबनोस – यो चाहिँ मेरो कामना हो ।) त्यो भन्दा अगाडि दिइएको, नौमुरे बहुउद्देश्यीय आयोजना त अहिले नेपाल भारत दुबैतिरका सरकारले बिर्सिसके होलान् । सबैलाई थाहा छ – ०७२ सालको भूकम्पको पीडा समन गर्न घोषणा गरिएको रकम शेरबहादुर देउवाजी नेपाल अवतरण गरेपछि लुप लाइनको रेलमा चढने होला ।
त्यसैले भारत प्रधानमन्त्रीको भ्रमणमा जे जे दिन्छु भन्छ, त्यो कहिल्यै दिँदैन ।