Nov 29, 2020, 10:13 AM

FOLLOW: FacebookTwitterYoutube

अब चल्दैन कोल्टे न्याय

अब चल्दैन कोल्टे न्याय
प्रदीप नेपाल
थाह खबर भदौ२

यतिबेला उत्तर कोरिया चर्चाको शीखरमा छ । अमेरिकाको लहैलहैमा विश्वका केही मुलुकहरु उत्तर कोरियाको विनाश गर्ने मुर्खतामा उत्रिएका छन् । उत्तर कोरियाले पनि ‘अमेरिकी साम्राज्यवादलाई आफ्नो सबैभन्दा ठूलो शत्रु मानेको छ । यसको कारण पनि छ । एउटा कोरियालाई दुइटा कोरिया बनाउने, दक्षिण कोरियामा पौने शताब्दीदेखि उपनिवेशतहको शासन चलाउने, उत्तर कोरियालाई उभिन पनि नदिने भनेको ‘अमेरिकी साम्राज्यवाद’ नै हो भन्ने बुझाइ कोरियालीहरुमा छ । आफ्नो देशमाथि कुनै पनि बेला अमेरिकाले आणविक आक्रमण गर्छ भन्ने आशङ्का होइन, विश्वासमा बाँचेका छन् उत्तर कोरियालीहरु । त्यसै हुनाले आफ्नो सुरक्षाको लागि प्रतिरक्षात्मक प्रणाली विकास गर्नु हाम्रो दायित्व होे भन्ने टुङ्गोमा बाँचेका छन् तिनीहरु ।
इतिहासको अध्ययन गर्दा उत्तर कोरियालीहरुको सोच सही छ । दोश्रो विश्वयुद्धको समाप्तीपछि, अकारण अमेरिकाले कोरिया माथि आक्रमण ग¥यो । चार वर्षको भयङ्कर युद्धमा कोरियाको उत्तरी भागमा ठूलो विनाश भयो । चार वर्षपछि एउटा कोरियालाई दुइटा बनाइयो । उत्तर र दक्षिण कोरिया । यो सिमाना कोर्ने काम गरेको थियो – अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घले । सन् १९५४ देखि नै कोरियालीहरु युद्धको त्रासमा बाँचेका छन् । ६५ वर्ष लामो युद्धको त्रासमा बाँचेको जीवन ! कल्पना गर्न सक्छ कुनै नेपालीले ? सक्दैन । अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घले लगाएको जस्तो नाकाबन्दी भोग्नु प¥यो भने नेपालमा हरेक वर्ष एक लाख भन्दा बढीले आत्महत्या गर्ने छन् । सन् १९९६ मा पुगेको थिएँ म उत्तर कोरिया । उनीहरुले मलाई दक्षिणी सीमा पानमुन्जोम, पश्चिमी सीमाको समुद्रमा बाँध बाँधेर गरिएको नूनखेती, पूर्वी सीमामा अमेरिकी सीमा सैनिकहरुले गरेको प्रचार युद्ध देखाएका थिए – त्यहाँ लेखिएको थियो ‘ए खान नपाउने गरीब हो, तिमीहरु हामीतिर आउ । हामी तिमीलाई एउटा घर, एउटी स्वास्नी र एउटा मोटर दिन्छौं ।’ दोभाषेले मसँग भनेका थिए, ‘हाम्रो अपमान गर्ने अधिकार अमेरिकी साम्राज्यवादलाई कसले दियो ?’ अनौठो सीमाना देखेको थिएँ मैले त्यतिबेला – खेतका डीलमा राइफलहरु रोपिएका थिए अनि किसानहरु खेतमा काम गरिरहेका थिए ।
र पनि कोरियामा मैले जीवन भेटेको थिएँ । हाम्रो भ्रमण टोलीलाई प्योङयाङको एउटा रिजोर्टमा राखिएको थियो । ‘नेपाल कम्युनिस्ट पार्टीको सूचना संचार तथा जलश्रोत मन्त्री भएकोले तपाईं जहाँ जान चाहनु हुन्छ, त्यहीं लगिदिनु र हाम्रो सुन्दर कोरिया देखाइदिनु भन्ने आदेश छ,’ दोभाषेले मलाई भनेका थिए । दिल्ली र प्यारिसको कोरियाली दुतावासका प्रथम सचिव भएर काम गरेका ती दोभाषे पनि कोरिया बाहिरका कुपमण्डुकले अनुमान गर्ने जस्ता मठ्ठु थिएनन् । 
उनको कुरा सुनेपछि मैले गाउँ जान चाहें । उनले हामीलाई ६८ घर भएको एउटा गाउँमा लगे र भने ‘बुर्जुवा देशको मन्त्री भएको हुनाले तपाईंलाई हाम्रो गाउँले पाहुना घरमा खान मन लाग्दैन होला भनेर हामीले दिउँसोको खानाको व्यवस्था नजिकैको बजारको होटेलमा गरेका छौं ।’ तर गाउँ हाम्रो भन्दा सफा थियो, साना एक तले घरहरु, पानी र बिजुलीको राम्रो व्यवस्था, एउटा किनारमा स्वास्थ्य चौकी र विद्यालयको व्यवस्था गरिएको त्यस्तो गाउँ अहिले पनि हामी नेपालीको सपनाको गाउँ हुन्छ । पीच बाटोले छोएको, स्वास्थ्य चौकी, विद्यालय, पर्याप्त बिजुली र खाने पानी ! अनि के चाहियो ? झुरुमुट्ट गाउँ, ओरिपरि गहुँ खेती । 
‘रेलबाट जानु पर्छ, तर महामहिमलाई इच्छा छ भने, लुम्फिनी पार्क लगिदिनु भन्ने आदेश आएको छ मलाई’ बेलुका विदा हुने बेलामा दोभाषेले भने ।
उत्तर कोरियामा लुम्बिनी पार्क ! म छक्क पर्नु पनि स्वभाविक थियो । मैले लु जाउँ भनेँ ।
हामी बाटो लाग्यौं । रेल भारतको भन्दा सफा थियो र भीडभाड पनि थिएन । अकस्मात एउटा गाउँले स्टेशनमा रेल रोकियो । निकै बेर रेल हल्लिन नमानेपछि मैले दोभाषेलाई रेल नचल्नुको कारण सोधें । उसले भन्यो, ‘रातभरिको पानीले अगाडिको खोलो बढेछ । पुल सुरक्षित छैन रे । त्यसैले तपाईंलाई यहीं आराम गराएर कारबाट लुम्फिनी पार्क लैजाने व्यवस्था हुँदैछ ।’
उत्तर कोरियामा मैले कुनै बेन्ज वा लेक्सस कारको कल्पना गरेको थिइन । रुसी गाडीहरु नै होलान् सडकमा गुडेका । मैले चढेको गाडी पनि रुसी नै थियो । दुई घण्टा त्यहाँ बसियो । एउटा गाउँले रेल स्टेशन जस्तो हुनु पथ्र्यो, त्यो त्यस्तै थियो । कुनै विशिष्ट अतिथि कक्ष त्यहाँ थिएन । सामान्य यात्रु कक्षमै म पनि बसें । त्यस्तो कुनै सुरक्षा व्यवस्था पनि थिएन । आएकै दिनदेखि मसँग रहेका दोभाषे र सुरक्षा अधिकृत नै मेरा साथी थिए । मैले सौच गर्ने कुरा गरें । उनीहरुले अप्ठ्यारो माने । तर गाउँले स्टेशनको सन्दर्भमा शौचालय राम्रै थियो । मेरो तुलनाको आधार भारतकै रेल थियो ।
एक कप कफी र थोरै बिस्कुट खाएर हामीले त्यो दुई घण्टा बितायौं । दुई घण्टापछि आएको कालो कारमा हामी बाटो लाग्यौं । ‘हामी आज लुम्फिनी पार्क पुग्न सक्दैनौं । आज हामीले होटलमा बास बस्नु पर्छ ।’ दोभाषेको कुराले मलाई छोएन भन्दा पनि हुन्छ । 
बिहानको ब्रेकफास्ट होटलमै लिएर हामी ‘लुम्फिनी पार्क’ तिर लाग्यौं । एउटी महिला थिइन् परिचारिका । ‘यिनले राम्रो अङ्रेजीमा तपाईंलाई वुद्ध कथा बताउने छिन् । आज मलाई फुर्सद मिल्यो ।’
नभन्दै तिनले मलाई वुद्ध कथा बताइन् । शायद बीचमा हाम्रा दोभाषेले तिनलाई म नेपाली हुँ भनेर जानकारी गराए हुनन् । एकछिनपछि साह्रै लाज मान्दै तिनले भनिन्, ‘तपाईं नेपाली भएको मलाई थाहा थिएन । हामीले जापानी भिक्षुबाट सुनेको वुद्ध कथा हो यो । गल्ती भए माफ गर्नु होला ।’
तर तिनले कुनै गल्ती गरेकी थिइनन् । थोरथार वर्गीय दृष्टिकोण राखेकी थिइन् । हाम्रो देशका वुद्धको बारेमा यति राम्रो ज्ञान राखेकोमा मैले तिनलाई धन्यवाद दिएँ ।
यस्तो कोरियालाई किन नाकाबन्दी लगाउँछ संयुक्त राष्ट्रसङ्घ । अमेरिकाले जे गरे पनि हुने, अनि उत्तर कोरियाले केही गर्न नपाउने यो कस्तो न्याय प्रणाली हो संयुक्त राष्ट्रसङ्को ! यदि राष्ट्रसङ्घ अहिले पनि विश्वयुद्धका बिजेताहरुको हीत गर्ने सङ्गठन हो भने हामीजस्ताका लागि त्यसको पनि आयु पुग्यो ।