Apr 16, 2024, 10:49 AM

FOLLOW: FacebookTwitterYoutube

ओरालो लागेको देश

ओरालो लागेको देश
प्रदीप नेपाल
गोरखापत्र १९ असोज

नेपालका प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव मस्तैले विदेश भ्रमणमा जान्छन् । तर तिनीहरु किन विदेश जान्छन् ? के हेरेर फर्किन्छन् ?  केही सिकेर आउँछन् कि आउँदैनन् ? नेपालमा कसैलाई थाहा पाउँदैनन् । अरु सानातिनाहरुको कुरा नगरौं । तर विशेष गरेर, प्रधानमन्त्री, मन्त्री र मुख्यसचिव सहितका सचिवहरु आपूm गएको मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रमा आएको परिवर्तन, तिनको विकास प्रकृया, प्रगतिका कारणहरु खोज्छन् कि खोज्दैनन् नेपाली नागरिकलाई केही थाहा हुँदैन । जाने, भोजभतेर खाने, दृष्यावलोकन मात्र गर्ने हो मन्त्री र सचिवहरु विदेश भ्रमणमा जानुको सान्दर्भिकता भेटिदैन । 
सन १९६० मा नेपाल बराबरको हैसियतमा रहेका, नेपालको भन्दा कमजोर हैसियतमा रहेका, नेपाल भन्दा गरीव, सबै राष्ट्रहरु अहिले नेपालभन्दा अगाडि छन् । यति मात्र होइन, उनीहरु नेपाललाई दान दिने अर्थात सहयोग गर्ने हैसियतमा पुगेका छन् । किन ? यसबीचमा नेपाल सकृय राजतन्त्रबाट फड्को मारेर संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यो । तर आर्थिक सामाजिक विकासमा हामीलाई उछिन्ने अधिकांश मुलुकले राजनीतिक प्रणालीमा अलिकति पनि फड्को मारेका छैनन् । हिजोको गणतान्त्रिक कोरिया अहिले पनि त्यहीं छ । मलेशिया अहिले पनि उहिलेजस्तै सल्तनत प्रणालीमा छ । थाइल्याण्डमा राजतन्त्र जस्ताको तस्तै छ । तर तिनीहरु नेपाल भन्दा कता हो कता माथि पुगेका छन् । हामी झन झन ओरालो झरिरहेका छौं । किन ?
एउटा मात्र उदाहरण दिउँ । नेपालको शाही वायु सेवा निगम र थाइल्याण्डको रोयल थाइ एयरवेज एकैदिन आकाशमा उडेका रहेछन् । अहिले हामी कहाँ छौं र थाइ एयरवेज कहाँ छ ? सबैलाई  थाहा छ । थाइ एयरवेज अन्तर्राष्ट्रिय उडानको बादशाह भएको छ । हामी पुछारबाट गरिने गणनामा पर्छौं । थाइल्याण्डले, मध्यपूर्वका तेल राष्ट्रको जस्तो ह्वार्ह्वार्ती डलर भित्र्याएको पनि होइन । सन् ९० को दशकमा पनि नेपाली रुपैयाँ भन्दा थाई भाट सस्तो थियो । हाम्रो भन्दा आधै थियो । तर २०१४ मा थाइल्याण्ड पुगेको बेला मलाई थाहा भयो – डेढ दशकमा पैसाको भाउ ठिक्क उल्टो भएछ । थाई भाट भन्दा नेपाली रुपैयाको मूल्य आधै तल झरेछ ।
थाइल्याण्ड, नेपालका ठूला मान्छेका लागि पानी पँधेरो हो । उपचार गर्नु प¥यो थाइल्याण्ड । नेपालमा घुर्की लाएर लुक्न जानु प¥यो थाइल्याण्ड । आरामै गर्न पनि थाइल्याण्ड जानेको लर्को सानो छैन । उनीहरुको विकास र आफ्नो मुलुकको देखिरहँदा पनि हाम्रा प्रधानमन्त्री र अर्थमन्त्रीको निधारमा लाजको सानो धर्सो पनि देखिँदैन ।
दक्षिण कोरियालाई सन ६० को दशकमा नेपालले चामल पठाएर सहयोग गरेको थियो रे ! आपत्कालीन सहयोग गरेको भए पनि हैसियत बराबरकै थियो भनेर मानिदिउँ । तर अहिले दक्षिण कोरिया कहाँ छ ? अनि हामी कहाँ छौं ? कोरिया हिजोको नेपाल बराबरको साथी थियो । आजको नेपाल दक्षिण कोरियामा कामदार आपूर्ति गर्ने देश भएको छ ।
तिब्बतको प्रगतिको कुरो नगर्दा पनि हुन्छ । दलाई लामाको पालाको त्यो गरीब पठारले पनि सन् २०१४ मा नेपाललाई आर्थिक, भौतिक सहयोग गरेको थियो । नेपाल सरकारले लाजै नमानी त्यो सहयोग थापेको थियो । त्यतिमात्र होइन, अहिलेको नेपाल सरकार नयाँ र समृद्ध तिब्बत मुर्दावाद, हामीलाई पुरानै, अँध्यारो तिब्बत चाहिन्छ भन्नेहरुलाई गोप्य सहयोग गरिरहेछ । नेपालमा पालिरहेको छ । किन ? किनभने अँध्यारो तिब्बत माग्ने आन्दोलनलाई अमेरिकाको आशिर्वाद छ । र नेपाल सरकार स्वयम् पनि अँध्यारो मन पराउँछ ।
विकासको मापनकेन्द्र विकास होे । तर समाजवाद या साम्यवाद भाषण गरेर या बन्दुक पड्काएर आउँदैन । त्यसका लागि पहिले नेताहरुको चेतना रुपान्तरित हुनु पर्छ । सिद्धान्त एउटा मार्ग चित्र मात्र हो । गर्ने त व्यक्तिले हो । व्यक्ति प्रधान हो, संगठन गौण हो । विश्वेश्वर प्रसाद कोइराला पनि नेपाली कांग्रेसका सभापति भए । शेर बहादुर देउवा पनि सभापति भए । विचार, निष्ठा, स्वाभिमान, जनताको जीवन उत्थानको यी दुई सभापतिको तुलना गर्न मिल्छ ? मिल्दैन । वीपी कोइराला र शेरबहादुर देउवाका बीचमा भूगोलको जति लामो दूरी छ, बिचारको क्षेत्रमा पनि त्यत्तिकै फराकिलो दूरी छ । वीपीको समाजवादी चेतलाई उहाँकै भाइ गिरिजाप्रसाद कोइरालाले पनि बुझ्न सकेनन् । बिचारको हिसाबले भन्ने हो भने वीपीको कांग्रेस र जीपीको कांग्रेस बीच आकाश जमिनको दूरी छ । सोचेर भन्नु पर्दा दुबै नेताले एउटै पार्टीको नेतृत्व गरेका हुन् भन्ने एउटा पनि आधार कहीं, कतै देखिँदैन । भेटिँदैन ।
तर पनि कांग्रेस चलिरहेछ । समाजवाद उन्मूख परिवर्तनकारी काम तिरस्कार गरेर पूँजीवादी उदारवादमा जाँदा पनि वीपी कोइरालालाई खोपीको देउता बनाएर वर्ष दुई पटक श्राद्ध गरेर आपूmलाई वीपीको उत्तराधिकारी भन्ने ढाँट काम गरिरहेको छ ।
एमाले एकपल्ट चमक्क चम्कियो २०५१–५२ सालमा । तर बिचारको क्षेत्रमा एमाले अत्यन्तै गतिशील रह्यो । २०२८ सालको उग्रबामपन्थलाई जनमत संग्रहको विषद बहसपछि त्यसले आपूm भित्रबाट बाहिर निकाली दियो र आफूलाई जनताको बीचमा बस्ने कार्यकर्ताहरुको पार्टी बनायो । मजदुर, किसान, युवा, विद्यार्थी, महिलाका मात्र होइन, मानव अधिकारवादीहरुको संगठन बनाएर त्यसले आफ्नो दायरा फराकिलो बनायो । माओत्सेतुङ विचारधारालाई परित्याग गरेपछि त्यतिबेलाका राजनीतिक संगठनहरुसँग मिलेर ०४७ को प्रजातान्त्रिक आन्दोलनलाई नयाँ उचाइमा पु¥यायो । संसारमा सबैतिर पराजित भइरहेको माक्र्सवादलाई पुनर्जीवन दियो र पहिलो चुनावमा नेपालको बैकल्पिक राजनीतिक शक्तिको रुपमा आपूmलाई स्थापित ग¥यो । 
यो सिंगो प्रकृयामा मदन भण्डारीको नेतृत्व रह्यो । नेपाल कम्युनिस्ट पार्टीमा एक दर्जन महासचिव भए । स्वयम् तत्कालीन मालेमा पनि पाँच जनाको नाम टाँसियो । तर त्यो नेकपा मालेलाई, सिद्धान्त, विचार र संगठनका बलमा ठूलो र जनआधारित पार्टी बनाउने नेतामा मदनकुमार भण्डारीको नाम मात्रै अगाडि आयो । मदन भण्डारीले कोरेको मार्गचित्रलाई जोगाउने र त्यही दिशामा पार्टीलाई हिँडाउने काममा त्यसपछिका महासचिव र अध्यक्षहरुको भूमिका रहन सकेन । ०५१–५२ को सरकारमा मदन भण्डारीको चिन्तन प्रतिविम्बित भएको थियो । तर त्यसपछि एमालेका नेताहरुमा पनि सत्ता–राजनीति हावी भयो । ०५३ मा पन्चहरुसँग मिलेर संयुक्त सरकार गठन गरेपछि कांग्रेसले वीपीको श्राद्ध गरे जसरी एमालेले पनि मदन भण्डारीको श्राद्ध शुरु ग¥यो । पछिल्ला दिनहरुमा एमालेका लागि निर्वाचन नै बिचारको केन्द्र बन्यो । जनताको बहुदलीय जनवाद, सामाजिक सुरक्षाको प्रत्याभूति जस्ता समाजवाद निर्माणका सैद्धान्तिक र व्यबहारिक अवयवहरु मदन भण्डारीको सालिकसँगै मौन भएर बसे । एमाले सम्पूर्णरुपमा चुनावी पार्टी भयो । साम, दान, दण्ड, भेद गरेर भए पनि  चुनाव चाहिँ जित्नै पर्छ भन्ने चेतना जड भएर बसेको एमालले निकट भविष्यमा जनताको बहुदलीय जनवादलाई आत्मसात गर्ला भन्ने मलाई लाग्दैन । 
अरु पार्टीको धेरै कुरा गरिरहनु परोइन । माआवादी पार्टीका नेताहरु त एमालेसँग एकीकरण गर्न तयार भएका छन् भने नेपालको राजनीतिमा समाजवाद कहाँ भेटिएला ? नेपाल आर्थिक रुपमा समृद्ध हुन्छ भन्ने विश्वास कसरी गर्न सकिएला ?
यसपालि मलाई एउटा नयाँ कुरो भन्न मन लागेको छ । उत्तरी युरोपका केही मुलुकहरु, यथा फिनल्याण्ड, नर्वे, ले आपूmलाई समाजवादी राष्ट्र घोषणा गरे भने तपाईं पत्याउनु हुन्छ कि हुन्न ? म चाहिँ पत्याउँछु । किनभने मैले पाएको पछिल्लो शिक्षा भनेको माक्र्सवादले स्वतन्त्रताको सम्मान गर्छ र स्वतन्त्रताले मात्र समानता सुनिश्चित गर्छ भन्ने माक्र्सवादको आधारभूत निष्कर्ष हो ।
अमेरिकी म्यागाजिन न्युजविकले घोषणा गरेका कार्ल माक्र्स नेपालमा छैनन् । उनलाई मारिएको चौथाई शताब्दी पुरा भयो । अब नेपालमा स्टालिनहरु मात्र छन्, जो आपूmलाई सर्वज्ञ र अरुलाई मुर्ख ठान्दछन् ।