Nov 29, 2020, 10:28 AM

FOLLOW: FacebookTwitterYoutube

The Translation

अंग्रजी शब्दको दुरुपयोग
प्रदीप नेपाल
थाहा खबर असार दोश्रो

अंग्रेजीका दर्जनौं शब्दहरु नेपालीमा  छिरे र ती नेपाली नै भए । जस्तो, कोट । नेपालीमा कोट सुहाउँदो कुनै शब्द थिएन होला । त्यसैले त्यो कोट नेपाली शब्द भयो । त्यसले अस्कोट नामको सन्तान पनि जन्मायो । तर अंग्रजीका सबै शब्दले आपूmलाई नेपाली भाषामा यसरी समाहित गर्न सकेनन् । तिनले त नेपाली भाषालाई कुरुप र अनर्थकारी बनाइ दिए ।
सन् १९९० को दशकमा ग्लोबलाइजेशन शब्द आँधिबेहेरी बोकेर आयो । ग्लोबबाट ग्लोबलाइजेसन भएको होला भन्ने अनुमान गरियो । ग्लोबलाइजेशन शब्दलाई गीता जसरी पढ्नेलाई सोध्दा उनीहरुले ग्लोबलाइजेसन भनेको भूमण्डलीयकरण हो भने । कुरो राम्रै लाग्यो । विश्व, एउटा कम्प्युटर भित्र साँघुरिएको हौवा चलेको बेलामा भूमण्डलीकरण शब्द ठिक ठिकै लाग्यो ।
यति राम्रो अर्थ राख्ने शब्द स्वाट्टै चलन चल्तीबाट बाहिरियो । हिजोका बलिया ग्लोबलाइजेसनवादीहरुले पनि ग्लोबलाइजेसन र भूमण्डलीकरण दुबै शब्द बोल्न छाडे । राम्रो अर्थ बोकेको शब्द यसरी चटक्कै नमर्नु पर्ने ! मैले अक्सफोर्ड डिक्सनरी पल्टाएँ । 
वाफ रे ! ग्लोबलाइजेसन शब्द त साम्राज्यवादको औरसपुत्र पो रहेछ । शक्तिशाली राष्ट्रहरुले गरीब र साना राष्ट्रहरु माथि थिचोमिचो गर्न र तिनलाइ आफ्नो आर्थिक प्रभाव क्षेत्र भित्र समेट्ने कामलाई अंग्रेजीमा ग्लोबलाइजेसन भनिएको रहेछ । नेपालमा ग्लोबलाइजेसन अंग्रेजीका उद्भट विद्धानहरुले नै भित्र्याएका थिए । पूरै उल्टो अर्थ लाग्ने अनुवाद तिनले किन गरेका होलान् ! ग्लोबलाइजेसनको भूमण्डलीकरण पनि अहिले शाब्दिक अस्तित्वमा छैन । त्यसैले अब कसैले पनि हिजो गरेको ढाँट कुराको जिम्मेवारी लिने छैनन् ।
अर्को शब्द आयो आतङ्क बोकेर ‘सबाल्टर्न’ । सुन्दै सातो जाने । अङ्ग्रेजीे शब्दकोषको सहारा लिनै प¥यो । सबाल्टर्न भनेको बेलायती सैनिकका तल्लो तहका, अर्थात क्याप्टेन भन्दा मुनिका जवानहरुलाई गरिने संबोधन हो भन्ने बुझें मैले । नेपालीमा पढ्ने सबाल्टर्न र अङ्ग्रेजीको सबाल्टर्नको साइनो संबन्ध कतै जोडिंदैन । फेरि पल्टाइयो उही अक्सफोर्ड डिक्सनरी । त्यसले बल्ल अर्थ खुलायो – थिचिएका, शोषित, पीडित । अर्थात सीमान्तकृत जनताको ठूलो समुदाय । यो त माक्र्सवादसँग जोडिएको शब्द पो रहेछ । शोषित पीडित भनेर लेख्न गाह्रो लाग्छ भने सीमान्तकृत नै लेखिदिएको भए के बिग्रन्थ्यो ? सरोकारवालाले नबुझुन भनेर शोषित पीडितलाई सबाल्टर्न बनाइएको होला भनेर दुःखद अनुभव गर्नु बाहेक यतिबेला गर्न नै के सकिन्छ र !
अनुवाद गर्न रहर गर्ने नेपाली विद्धानहरुका यस्तै उट्पटाङ कामका कारण हामी नेपालीहरु कतिपय स्थानमा हास्य पात्र हुने खतरामा हुन्छ । अँग्रजीमा ‘इण्डिजिनस’ र ‘एथ्निक’ दुइटा शब्द छन् । अनुवादमा इण्डिजिनस भनेको आदिबासी र एथ्निक भनेको जनजाती हुन्छ । अनुवाद गर्ने नेपाली विद्धानले फरक फरक अर्थ राख्ने यी दुइटा शब्दलाई एउटै बनाइ दिए – आदिबासी जनजाति भनेर । अङ्ग्रेजीमा इण्डिजिनस एण्ड एथ्निक लेखिएको छ । नेपाली विद्धानले त्यो एण्ड शब्दलाई पोलेर खाइदिए छन् । बसोबासको हिसाबले सबैभन्दा पुराना बासिन्दालाई आदिबासी भनिन्छ । इण्डिजिनस बसोबाससँग जोडिएको शब्द हो । नेपालका सबैभन्दा पुराना बासिन्दा भनेका खस हुन् । यिनीहरु मानसरोवरको बाटो हुँदै दक्षिण झरेका हुन् । यिनीहरुको इतिहास झण्डै छ हजार वर्ष पुरानो छ । यिनीहरु अहिले सीमान्तीकृत भैसकेका छन् । तर जनजाती भनेको बास होइन जातसँग जोडिएको शब्द हो । नेपालका केही जनजाती आदिवासी पनि हुन् । तर सबै जनजाती स्वतः आदिवासी हुन सक्दैनन् । अहिले जनजातिमा सूचीकृत कतिपय जातिहरुको नेपाली इतिहास दुई हजार वर्षको पनि छैन । 
अर्थात गलत अनुवादका कारण नेपालका आदिवासी त अन्यायमा परे नै । सँगसँगै जनजातिको परिभाषा पनि उटपटाङको भयो । इतिहास, भाषा, संस्कृति र वर्णव्यवस्थामा समाहित नेवार पनि जनजाति । आवास बनाइदिंदा पनि बस्न नमान्ने राउटे पनि जनजाति । जनजातिमा वर्णव्यवस्था हुँदैन । तर नेवारमा त बाहुन मात्र होइन, दलितहरुको ठूलो समुदाय पनि छ ।
अज्ञानताको भूँवरीमा फँसेका वौद्धिक नेताहरुले आदिवासी जनजातिको परिभाषा पृथ्वीनारायण शाहको एकीकरणसँग जोडिदिए । यसले हाम्रो समृद्ध इतिहासलाई मार्ने अपराध गरेको छ । अब भृकुटीलाई हामीले चिन्ने कि नचिन्ने ? सीता र जनकलाई हाम्रो भन्ने कि नभन्ने ? आर्यावर्तको सबैभन्दा प्राचीन इतिहासलाई नामेट गर्न खोज्ने अपराध हो यो ।
अज्ञानताले जन्माएको यो सबैभन्दा दुःखद पाटो हो । इतिहासकारहरुले यो गल्तीलाई सच्याउन् । अङ्ग्रेजी नेपाली अनुवादकहरुले पनि इण्डिजिनस र एथ्निकका बीचमा अङ्ग्रेजीको ‘एण्ड’ भन्ने शव्द छ भनेर जानुन् ।
यस्तै अनुवादको विकलाङ्गताले नेपालका माक्र्सवादीहरुलाई पनि अहिलेसम्म टाउकोले टेकाएर हिँडाइ रहेको छ । माक्र्सको भनाई यस्तो छ – व्यक्तिको विकासले सङ्ठनको विकास हुन्छ । तर नेपालीमा यसको ठिक्क उल्टो अर्थ लाग्ने अनुवाद गरिएको छ – व्यक्ति सङ्ठनको मातहत हुन्छ । त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बोधोपन हुर्काएको छ । सबै सदस्य केन्द्रीय कमिटीको मातहत हुन्छन् भनेपछि केन्द्रीय कमिटीमा बस्ने ठूला तल्ला कमिटीमा बस्ने साना भन्ने मानसिकता हुर्किएको छ । नेता हुन व्यक्तिले पहिले आपूmलाई योग्य बनाउनु पर्छ सही चेतना नेपालका कुनै पनि कम्युनिस्ट पार्टीमा छैन । 
हल्लै हल्लाको वितण्डाले नेपालको राजनीतिलाई विरुप बनाएको छ । वीपी कोइराला पनि यो हल्लाखोर वितण्डाको शिकार हुनु भएको छ ।  उहाँले भन्नु भएको छ – समाजवादमा अधिनायकत्व जोडिदियो भने त्यो साम्यवाद हुन्छ, साम्यवादबाट अधिनायकत्व झिकिदियो भने त्यो समाजवाद हुन्छ । उहाँको यो भनाइ गलत छ । समाजवाद र साम्यवाद समाज विकासका सिंढीहरु हुन् । विश्व सभ्यताको आरम्भ आदिम साम्यवादबाट भयो । त्यहाँ राजा थिएन, त्यसैले रैति पनि थिएनन् । त्यहाँ राजनीति थिएन, प्रधानमन्त्री र मन्त्रीहरु थिएन । त्यहाँ सेना र पुलिस कोही थिएनन् । तर पनि समाज चलिरहेको थियो । बिस्तारै मानिसमा लोभ हुर्कियो । त्यही लाोभले केहीलाई मालिक र धेरैलाई दास बनायो । यो थियो समाज विकासको दोश्रो चरण । सामन्तवादलाई समाज विकासको तेश्रो चरण मानिन्छ भने पुँजीवादलाई चौथो चरण । समाजवाद समाज विकासको पाचौं चरण हो भने साम्यवाद विकासको छैटौं चरण हो ।