Apr 26, 2024, 04:16 AM

FOLLOW: FacebookTwitterYoutube

अल्छिहरुबाट मुलुक बन्दैन

अल्छिहरुबाट मुलुक बन्दैन
प्रदीप नेपाल
गोरखापत्र १८ कार्तिक

नेपालमा कति दिन विदा हुन्छ ? बाउन्न दिन शनिबार भै हाल्यो । नयाँ वर्ष, पर्व र जात्रा विदाहरु पचास दिन जति होलान् । नेपालमा नयाँ वर्ष नै आधा दर्जन भन्दा बढी छन् र ती सबै नयाँ वर्षमा विदा हुन्छ । धर्तीमा नेपाल मात्र एउटा यस्तो मुलुक हो जसले एक वर्षमा सात दिन त नयाँ वर्ष मनाउँछ । यसका लागि खालि सरकारलाई, मन्त्रीलाई गाली गरेर पुग्दैन । पचहत्तर प्रतिशत जानेबुझेका नागरिक यसका लागि जिम्मेदार छन् । फलानोले विदा पाउने हामीले किन नपाउने भन्ने त मैले नै सुनेको छु । ल्होसार मान्ने साथीलाई ‘कमसेकम तपाईंहरु एउटा ल्होसार मनाउनुस् न’ भन्दा पाएको उत्तर हो यो मैले । यो भन्दा पनि लाजको कुरो पनि सुुनेको छु मैले । तीज जस्तो शुद्ध महिलाको पर्वमा पनि पुरुषले विदा खोजिरहेका छन् । यसपालि भारत र चीनका राष्ट्रपति नेपाल आउँदा नेपाल सरकारले सार्वजनिक विदा दिने घोषणा गरेपछि कोकाहोलो मच्चियो विदाको विरुद्धमा । तर केही यस्ता विद्धान देखिए जसले चीनिया राष्ट्रपति राजकीय भ्रमणमा जााँदा पाकिस्तानले पनि सार्वजनिक विदा दिएको थियो भन्ने कुतर्क गर्दै विदाको पक्षमा बहस गर्न मैदानमा उत्रिए । कुनै पनि मुलुकको राष्ट्रपति काठमाण्डौ ओर्लिंदा सार्वजनिक विदा दिने कुरो कसै गरे पनि सही सावित हुँदैन । यो गलत निर्णय हो ।
अल्छिहरु विदाका पक्षधर हुन्छन् । कर्मीहरु विदाका विपक्षमा हुन्छन् । हाम्रै नेपालमा केही यस्ता संस्थाहरु छन्, जो वर्षभरिमा शनिवार बाहेक पच्चिस दिन मात्र आफ्ना कर्मचारीलाई विदा दिन्छन् र तिनले प्रगति पनि गरेका छन् । धनधान्यले सम्पन्न बैङ्कहरु नै सबै नयाँ वर्षको विदा दिँदैनन् । दशैँको पन्ध्र दिन विदा पनि दिँदैनन् । त्यसैले त कमाइरहका छन् पैसा उनीहरुले । नीजि व्यवसायीहरु विदा लिने दिने गर्दैनन् । त्यसैले उनीहरु पनि वर्षैपिच्छे सम्पन्नताका सिँढी चढिरहेका हुन्छन् ।
अल्छिहरुको तर्क हुन्छ – हाम्रो मुलुकमा त सातामा एक दिन मात्रै विदा हुन्छ । पश्चिममा त सातामा दुई दिन विदा हुन्छ । सुविधा खान पश्चिम देखाउने वुद्धिजीविलाई थाहा हुनु पर्ने – तिनै दुई दिने विदा खानेले दान दिएको पैसाले हामी अल्छिहरु, क्रमशः दुःखी मगन्ते राष्ट्रका नागरिक भएका छौं । हाम्रो स्वाभिमान निहुरिएको छ । हाम्रो आत्मसम्मान मरेको छ ।
दुई दिने विदाको एउटा रमाइलो अनुभव छ हामीसँग । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनु भएको बेला उहाँले पनि नेपालमा पनि हप्तामा दुई दिने विदा दिने चलन थाल्नु भयो । म बजार र गाउँको सङ्गममा हुर्किएको मान्छे । मेरा गाउँलेहरु मुखिया, बैदार वा परिचरको जागीर खाँदै फुर्सदको समयमा खेतबारीमा काम गर्थे । एक दिनको ठाउँमा दुई दिन काम । मैले यत्ति बुझैं । दुई दिन विदा हुँदा कर्मचारी खेतबारीको काममा बढी ध्यान दिन पाउने भए, उत्पादन बढ्ने भयो भनेर प्रधानमन्त्रीको प्रस्तावको पक्षमा गीतै गाएँ । म थिएँ काँठको प्रतिनिधि । ‘एकदिन छुट्टी हुँदा त लोग्नेमान्छेहरुले दिनभरि तास खेलेर, रक्सी खाएर महिलालाई सताइरहेका थिए । अब दुई दिन विदा दिँदा महिलाहरुको जीवन नर्क हुन्छ,’ भनेर धेरै साथीले भनेपछि मैले गीत गाउन छोडेको थिएँ ।
कुनै कुरा पनि निरपेक्ष हुँदैन । सबै काम समयसापेक्ष हुन्छ । पश्चिमाहरुले पहिले कठोर मिहिनेत गरेरै सम्पन्नताको चुली चढे । अहिले थोरै मिहिनेत गर्दा पनि उनीहरुको जीवन चल्ने र हामीजस्तालाई यसो अलिकति फ्याँकिदिने हैसियतमा पुगे ।
तर हामी, आजका नेपाली सुकुलगुण्डे चरित्रका भैसकेका छौं । गाडी र त्यसका पाटपुर्जाहरु नेपालमा बन्दैनन्, गाडी चलाउने इन्धन पनि नेपालमा उत्पादन हुँदैनन् । तर नेपालमा गाडी आएको आयै छ । राज्य सबैभन्दा ठूलो व्यापारी भएको छ नेपालमा । भारतमा दश बाह्र लाख पर्ने गाडी नेपालमा अठतिस, चालिस लाख पर्छ । र पनि हामी चढिरहेकै छौं । गाडी र इन्धनको आयात बढेको बढ्यै छ । पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने वैकल्पिक उत्पादनको जानकारी पनि नेपालमा आइसकेको छ र त्यस्ता कच्चा पदार्थको उत्पादन पनि डङ्गुर हुन्छ । तर हामीलाई काम गर्न मनै लाग्दैन । 
फिनल्याण्डमा एकजना भद्र महिलाले मलाई भनेकी थिइन, ‘नेपाल संसारको सबैभन्दा धनी मुलुक हुने क्षमता राख्छ । तर तिमीहरु कामै गर्दैनौँ । । एस.एल.सी पास गरेकाहरु गोबर छुन मान्दैनन् । पढेको मान्छेले शारीरिक श्रम गर्नु हुँदैन भन्ने गलत सोचमा बाँचेका छौ तिमीहरु । यता तिमी देखिरहेका छौ । कुनै उमेरको मानिस पनि फुर्सद मानेर बसेको छैन । क्षमता अनुसारको काम सबैले, स्वेच्छाले गरेका छन् ।’
यो उनको गफ थिएन । किनभने मैले स्वीट्जरल्याण्डमा कृषि इन्जिनिरिङमा स्नातकोत्तर गरेको विद्धानसँग एक बिहान बिताएको थिएँ । उ आफ्नो गाई पालनमा रमाइरहेको थियो । उसले मसित गर्विलो भाकामा भनेको थियो, ‘म साह्रै धनी मान्छे होइन । म आफ्नो काम आफैँ गर्छु । राज्यलाई कर तिर्छु । मलाई नेपाल मन पर्छ । नेपाल जाँदा स्कूलका गरीब विद्यार्थीका लागि उनीहरुलाई मन पर्ने उपहार लैजान्छु ।
अब तुलना गर्नोस् । घुम्ने कुर्चीमा खुट्टा घुमाएर खाने हैसियत भएको मान्छे, नोकरी गर्ने कुरालाई तिरस्कार गर्छ र आफ्नो स्वाभिमानप्रति गौरब गर्दै भन्छ, ‘म आफैँ कमाएर खान्छु, राज्यलाई कर तिर्छु, गरीब दुःखी मानिसलाई सहयोग गर्छु । 
नेपालमा यसरी गर्व गर्ने मानिस कति जना होलान् ? म आफैँले एकजना भेटेको छु । दश जना जतिको बारेमा पढेको छु । हाम्रो देशमा काम गरी खाने जनसङ्ख्या एक करोड भन्दा बढी नै होला । तर मेरो काम मै गर्छु, राज्यलाई कर तिर्छु, कसैको सामू निहुँदिन भन्ने मान्छेको सङ्ख्या कति होला ? एकाध लाख !
अल्छि भएकै हुनाले नेपालीको प्रवृत्ति नकारात्मक छ । अरुले गरी खाएको देखी नसक्ने, आपूmलाई अगाडी बढाउन अर्कोको खुट्टा तान्ने, अर्काको काममा खोट देखाउने, खुब जान्ने भो भनेर खिल्ली उडाउने, यी हाम्रो जीवनका आम प्रवृत्ति हुन् । यिनै जनताको प्रतिनिधि हुन्छ नेपाल सरकार । सरकारका मन्त्री र कर्मचारीहरु यसै कारण गरी खानेलाई सघाउँदैनन् । काम गर्नेलाई प्रोत्साहन दिने तिनको चरित्र नै हुँदैन । सबै कुराको निर्धारण हुन्छ कमिशनको आधारमा । घुसको आधारमा ।
स्वाभिमानका उदाहरणहरु खोज्न धेरै टाढा जानु पर्दैन । अघिल्लो हप्ता तिहारको रमझममा भारतका व्यापारीहरुले चीनिया सामान बहिष्कार गर्ने निर्णय गरे । सरकार त झन जोगीजुलन्तरीको । उसलाई पनि ठीकै लाग्यो होला । तर चीनले चिन्ता जाहेर गरेन । उसले भनिदियो, ‘यो कर्मले हामीलाई होइन, भारतलाई नै घाटा हुन्छ । भारतसँगको हाम्रो व्यापार त कूल निर्यात व्यापारको दुई प्रतिशत मात्र हो ।’
यी त भए गन्थन । राम्रो काम कसरी गर्न सकिन्छ भन्ने विकल्प पनि गन्थनकर्तासँग् हुनु पर्छ । सबैभन्दा पहिले हामीले काम गर्नु पर्छ । त्यसका लागि बाउन्न शनिबार र बढीमा एक महिनाको सगोल बिदाको व्यवस्था गर्नु पर्छ । यो एक महिना नै सबैको पर्व विदा हो । नयाँ वर्ष, जात्रा, नाटक, पुजापाठ जस्ता सबै कर्मलाई यही एक महिना भित्र पार्नु पर्छ । दशैँ तिहार मान्नेले पनि महिना दिन पाउँछन्, इद या इस्टर मान्नेले पनि यही महिना दिन पाउँछन् । बाउन्न र तीस गरेर बयासी दिन हुन्छ । तीन सय पैँसट्ठी दिनमा बयासी दिन विदा अरु दिन काम ।
पछिल्लो समयमा सरकारको योजनाको आधारमा होइन, स्वतस्फुर्त हिसाबले व्यवसायिक खेती र पशुपालन बढेको छ नेपालमा । तर विचरा तिनले सरकारी पक्षबाट कुनै सहयोग पाएको देखेको छैन मैले । जिल्लामा सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको दायित्व देखिएन यस्ता काममा । नागरिकले गरेका छन् । र, रामभरोसे चलेका छन् । कम्तिमा पनि जिल्लास्थिति कृषि कार्यालयले आफ्ना प्राविधिकको अनिवार्य उपस्थितिमा माछा पालन, बस्तु पालन, तरकारी खेती, बेमौसमी खेतीको शिक्षण र अनुगमन गराउनु पर्छ ।
इमान राजनीति गर्नेहरुको मात्र कर्तव्य होइन । त्यो उद्योगपतिको, व्यापारी व्यवसायीको, भिन्न भिन्न पेशाका नागरिक, कर्मचारी र शिक्षकको पनि हो ।