Apr 27, 2024, 03:57 AM

FOLLOW: FacebookTwitterYoutube

विश्वशान्तिको बिहानी उदाएकै हो

विश्वशान्तिको बिहानी उदाएकै हो 
प्रदीप नेपाल
गोरखापत्र २७ बैशाख


छ महिना उत्तर कोरियाका कारण विश्व तरंगित रह्यो । पहिले, संसारमा लगाउन सकिने जति नाकाबन्दी सबै लगाउँदा पनि कसैलाई टेरपुच्छर नलाई पारमाणविक हतियार परीक्षणको आतंकले त पछि कसैले नसोचेको समयमा शान्तिवार्ताको पहल गरेको खुशियालीले । यो त्यस्तो खुशी हुनै पर्ने विषय त होइन । किनभने समस्या उत्तर कोरिया होइन, समस्या हो अमेरिका । तर यो भिडन्तमा उत्तर कोरियाको जीत भयो । हामीजस्ता साना राष्ट्रका लागि खुशीको कुरा हुनु पर्ने हो । आपूmलाई विश्वको एक्लो वादशाह मान्ने अमेरिकालाई सबै क्षेत्रमा कोरियाले हराइ दियो । अमेरिकाको आणविक धम्कीलाई कोरियाले पनि आणविक हतियारको धम्कीले नै जवाफ दियो । अमेरिकाले अफगानिस्तान र सिरिया माथि आक्रमण गरेजस्तो उत्तर कोरिया माथि आक्रमण गर्न सकेन । उत्तर कोरियालाई विनाशकारी युद्धकोे मनस्थितिमा बाँचिरेको तानाशाहको देश भन्छन् पश्चिमाहरु । तर उत्तर कोरियाले त्यसलाई पनि झुटो प्रमाणित गरिदियो ।
आजै मिसाइल हानिने हो कि भन्ने त्रासको स्थितिलाई पर्लक्कै उल्ट्याएर दक्षिण कोरियासँग पारिवारिक मैत्रीभाव जगाउने काम अमेरिकाले गरेका होइन । त्यो काम पनि उत्तर कोरियाले नै गरेको हो । समग्रतामा डोनाल्ड ट्रम्प भन्दा बुद्धिमान र शान्तिप्रिय देखिए उत्तर कोरियाली नेता किम जोङ उन । हप्तादिन अघिसम्म अमेरिकी मिसाइललाई आकाशमै प्रतिकार गर्ने र साह्रै निहुँ खोजे संघीय अमेरिकाको राजधानी नै नष्ट गरिदिने भाषण गरिरहेका किम जोङ उनले अहिले कोरियालाई परमाणु शस्त्रास्त्र बिहिन बनाउन सकिन्छ भन्ने ठाउँमा पुगेका छन् । यहाँ एउटा तर शब्द छ भनेर सोचे हुन्छ । अमेरिका जे जे भन्छ उत्तर कोरिया सोही सोही गर्छ भनेर कसैले नसोच्नु राम्रो हुन्छ । किम जुङ उनले हतियारको सन्दर्भमा अमेरिकालाई टक्कर दिँदा दिँदै शान्तिको पहल गरे । यस अर्थमा उनले कुटनीतिक युद्ध पनि जिते । अब शुरु हुन्छ वार्ता । त्यो पनि कसिलो नै हुन्छ । वार्तामा इमान रह्यो भने यसमा पनि किम नै अगाडी हुनेछन् ।
किम जोङ उनले भनेका पनि छन्, ‘मलाई थाहा छ, अमेरिकीहरु हामीसँग स्वभाविक रुपमा दुस्मनी साँध्छन् । तर तिनीहरुले हतियारको कुरा गरे भने म, दक्षिण तर्फ प्रशान्त महासागर वा अमेरिकामा आणविक हतियार खसाल्न नसक्ने मान्छे होइन भन्ने तिनले थाहा पाउनु पर्छ । अमेरिकासँग विश्वासको वातावरण तयार भयो भने, आक्रमण नगर्ने सुनिश्चितता गरियो भने हामी कठिनाइका साथ आणविक हतियार लिएर किन बस्छौं ?’ किमको भनाइ पढदा र अहिलेसम्मको अमेरिका–कोरियाको तनावको यात्रालाई हेर्दा भन्न सकिन्छ त्यहाँ पनि किम जोङ उनको पक्ष भारी हुनेछ । उनको स्पष्ट भनाइ छ – अमेरिकाले कोरियाली प्रायद्धीप आक्रमण नगर्ने सुनिश्चिता दिएमा खर्चिलो आणविक हतियार नष्ट गर्न उत्तर कोरिया तयार छ । अर्थात युद्ध समाप्त गरेर शान्ति स्थापना गर्नु भनेको दक्षिण कोरिया र जापानबाट अमेरिकी सैनिक घर फर्किनु हो ।
यो  वर्तमान विश्वको सकारात्मक अनुहार हो, यदि अमेरिका विश्वशान्तिको पक्षधर भैदिन सक्यो भने ।
अहिले भकुण्डो अमेरिकाको हातमा छ । उसले युद्ध चाह्यो भने कोरिया युद्ध गर्न पनि तयार छ, उसले पूर्वी एशियामा शान्ति होस् र आणविक खर्च कटौती गरेर आफ्नो पैसा अन्यत्र लगानी गर्न सकियोस् भन्ने चाह्यो अब विश्वशान्ति सुनिश्चित छ ।
अमेरिका नै विश्वयुद्धको मुख्य खतरा हो भन्ने सत्य स्थापित भएको समय हो अहिले । बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसौं शताब्दीको आरम्भको इतिहास खोतल्ने हो भने यो सत्य सजिलै प्रमाणित हुन्छ । आधा शताब्दी अघिको कोरियाली युद्ध  र भियतनाम युद्ध को कारण अमेरिका नै थियो । कोरिया र भियतनामले युद्ध चाहेका थिएनन् । अमेरिकाले उनीहरुको भूमिमा आक्रमण नगरेको भए उनीहरु अमेरिकाको विरुद्ध जाइलाग्ने थिएनन् । पछिल्ला दिनमा अफगानिस्तान पनि अमेरिका माथि आक्रमण गर्न गएको थिएन । इराकले त खालि आफ्नो स्वतन्त्रता खोजेको थियो । तर यी दुबै मुलुक अमेरिकी आक्रमणबाट ध्वस्त पारिए । अहिले सिरियाले पनि अफगानिस्तान र इराककै नियती भोग्नु परिरहेको छ । इराक र अफगानिस्तानलाई ध्वस्त पारेपछि अमेरिका सरक्क आफ्नो घरमा फर्किए जसरी सिरियाबाट उसले पनि बहिर्गमन गर्नै पर्छ । तर त्यतिबेलासम्म सिरिया एउटा कंकाल भैसक्ने छ ।
बाराक ओबामालाई अपवाद मान्ने हो भने अमेरिकी राष्ट्रपतिहरु आपूmलाई विश्वको शाहंसाह ठान्छन् । तर किन ? मैले बुझ्न सकेको छैन । संसारभरि उनीहरुको मनमाफिकको कानून लागू हुनु पर्छ भन्ने कुन आधारको तर्क हो उनीहरुको ! उनीहरु पनि औपनिवेशिक शासन खेपेरै आएका हुन् । के अमेरिकी सभ्यतामा मानवता मरिसकेको छ ? यस्तो त नहुनु पर्ने हो ।
यदि हो भने अमेरिकी ‘थिंक ट्यांक’ हरुले सोच्ने बेला यही हो । हिजो दुई ध्रुवीय विश्व थियो । अमेरिका र सोभियत संघ । अहिले त्यस्तो छैन । अहिले जताततै ध्रुव बनेका छन् र कोही पनि हिजोको जस्तो एक ध्रुवको पछौटे हुने अवस्थामा छैनन् । अहिले क्षेत्रीय शक्तिहरु बलशालि बन्दैछन् । संयुक्त राष्ट्रसँघको स्थायी सदस्यमा दक्षिण अमेरिकाबाट ब्राजिल र अफ्रिकाबाट दक्षिण अफ्रिकाको प्रतिनिधित्व हुनु पर्ने यही क्षेत्रीय शक्तिको बलाशाली अभिव्यक्ति हो । यतिमात्र होइन, अमेरिकालाई उत्तर कोरियाले समेत टक्कर दिएको समय हो यो । इरानले पनि अमेरिकालाई प्रभु मानेको छैन । ‘ओरेन्ज रिभोल्युसन’ को विरुद्धमा संबन्धित राष्ट्रमा बहस शुरु भएको छ । सानो राष्ट्र कतारले समेत ‘जैसा जैसा अमेरिका वैसा वैसा कतार’ भन्न मानेको छैन । अमेरिकाले आफ्नो क्षेत्र मानेको दक्षिण अमेरिकामा पनि अमेरिकी प्रभुत्व हिजो जस्तो छैन । मान्छेहरु अमेरिका र चिनको व्यापार युद्धले कस्तो विनास निम्त्याउने हो भनेर आतंकित छन् । रुस र अमेरिकाको द्धन्दले हिजोको सोभियत संघको शितयुद्धलाई सम्झाउन थालेको छ । त्यतिबेला सोभियत संघ कमजोर थियो, अमेरिकाको तुलनामा गरीब पनि थियो । तर अहिलेको अवस्था त्यस्तो छैन । 
चीनको कल्पनातीत विकासले अमेरिकी बर्चस्वलाई घाइते बनाउँदै लगेको छ । हिजोको जस्तो दक्षिण कोरिया, अमेरिकासँग टाँसिएर चीनलाई दुश्मन बनाउने पक्षमा छैन । दक्षिण कोरियाले चिनको शक्ति र विकासको रफ्तारको आकलन गरेर चिनसँगको मित्रतालाई प्राथमिकतामा राखेको छ । दक्षिण कोरिया भित्र पनि अमेरिकापरस्त दक्षिणपन्थी शक्ति बलियो छैन भन्ने सत्यलाई पछिल्लो चुनावले प्रमाणित गरिसकेको छ । कोरियाली शान्तिको सपना  एक्लो किमको मात्र होइन, त्यो दक्षिण कोरियाका मुन जाय इनको पार्टीलाई जिताउने जनताको पनि हो । स्वयम् दक्षिण कोरियाका राष्ट्रपति मुनको पनि हो ।
अमेरिका आफैंसँग पर्याप्त साधन श्रोत भएको मुलुक हो । संसारमा धनीहरुको संख्यामा पनि अमेरिका सबैभन्दा माथि छ । युद्धले पछिल्ला पचहत्तर वर्षमा अमेरिकालाई धन जनको बिनाश बाहेक अरु केही दिएको छैन । हतियार बिक्रीबाट नाफा त धेरै होला, तर त्यसको तुलनामा अमेरिकी आमाहरु कष्ट र पीडा धेरै भएको छ ।
म कार्लमाक्र्सका विचारबाट प्रभावित भएको मान्छे हुँ । कुनै राष्ट्रको अन्धसमर्थन र अन्धविरोध गर्न म सक्दिन । ब्यक्तिले चाहेमा गर्न नसक्ने केही हुँदैन । अहिलेसम्म अमेरिकी राष्ट्रपति संसारको सबैभन्दा शक्तिशाली मान्छे मानिएको छ । उनले परमाणु हतियार सम्पन्न सबै मुलुकका प्रमुखहरुसँग बसेर आणविक अस्त्र मुक्त विश्व निर्माण गर्ने काममा पहल गरे भने अमेरिकी राष्ट्रपतिको कति ठूलो मान हुँदो हो !
यो एउटा साहित्यकारको सपना न हो । राजनीतिले शत्रुता बढाउँछ, साहित्यले आत्मियता बढाउँछ । आउनु होस् हामी विश्वशान्तिको पक्षमा गीत गाउँ ।