Apr 26, 2024, 05:22 PM

FOLLOW: FacebookTwitterYoutube

सबैले अाफ्नाे काम गर्नु नि


प्रदीप नेपाल
थाहा कात्तिक १

हामीजस्ता नागरिकको सपना हो । राजनीतिले सपनालाई सम्बोधन गर्दैन । तर पनि मनको कुरो लेख्नु पर्दो रहेछ । 
जस्तो, अमेरिकाले पूर्वको कोरियाली प्रायद्धीपमा तनाव बढाउनुको साटो, मध्यपूर्वमा हवाई आक्रमण गर्नुको साटो, दक्षिण अमेरिकामा कू गराउनुको साटो अथवा विश्वमा अमेरिकाको हैकम बढाउनुको साटो, आफ्नो देशका घरबारबिहिन र मगन्तेहरुलाई सुविधा दिए अमेरिका साँच्चै स्वर्ग हुने थियो । संसारलाई सहयोग गर्नुको साटो आफ्नो मुलुकमा सबैलाई आवास, सबैलाई निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य गरिदिए संसारले अमेरिकाको गीत मात्र गाउने थियो । गफ जति गरे पनि, अहिले पनि अमेरिकामा गोरा र कालाहरुका बीचमा चर्को विभेद छ । मार्टिन लुथर किङको आन्दोलनपछि त्यसमा कटौती आएको होला, तर त्यो मरेको छैन । राजनीतिमा महिला, स्वतन्त्र नागरिक हुने नम्बरमा पनि अमेरिका अगाडि छैन । नेपाल जस्तो मुलुकमा महिलाहरुले राजनीतिमा आफ्नो भूमिका स्थापित गरेका छन् अमेरिका भन्दा बढी । चार सय वर्षमा अमेरिकाले आफ्नो मुलुकलाई एउटा महिला राष्ट्रपति दिन सकेन । एउटा नेटिभ अमेरिकन राष्ट्रपति दिन सकेन । जब कि नेपालले गणतन्त्रको दश वर्षमा, महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधान न्यायधिश दिइसकेको छ । अर्थात लोकतन्त्रका तीनै अवयव प्रमुखमा महिलालाई स्थापित गरेको छ । यस मामिलामा अमेरिका भन्दा नेपाल अगाडि छ । महिलाको सम्मानित र स्वतन्त्र अधिकारमा नेपाललाई भेट्टाउन अमेरिकाले अझै तीन चार ओटा चुनाव पार गर्नु पर्छ । नब्रास्का र ओहायोमा भेटिएका महिला समूहले मलाई यो कुरो २००१ मा भनेका थिए । उनीहरुले त्यतिबेला अमेरिकामा महिला राष्ट्रपति हुन अझै पचास वर्ष लाग्छ भनेका थिए । 
ट्रम्प आइसकेपछि यो अतिवाद झनै बढेको छ । उत्तर कोरियालाई किन जिस्क्याइ रहनु ! उत्तर कोरियाली मरुन् कि बाँचून् अमेरिकालाई किन चासो ! जति बम अमेरिकाले उत्तर कोरियामा खसालेको छ, त्यसको एक प्रतिशत पनि कोरियाले अमेरिकामा हानेको छैन । अब हाना हान नगरौं, हामीलाई खान पुगेकै छ तिमीहरु जेसुकै गर, बाँचे बाँच मरे मर,  भनेर अमेरिकाले भनिदिए कोरियाली प्रायद्धीपको सम्पूर्ण तनाव एकैचोटी समाप्त हुन्थ्यो । 
यस्तै, भारतले सबै छिमेकीलाई बिर्सिदिए छिमेकीको भलो त हुने नै थियो । त्यो भन्दा बढी भारतको भलो हुने थियो । किटेर भनी दिए हुन्छ – दक्षिण एशियामा भारत कसैको साथी हुन सकेको छैन । यही ताल हो भने कहिल्यै हुन पनि सक्दैन । छिमेकीका लागि भारत सन्त्रास हो । पाकिस्तानका लागि भारत स्थायी शत्रु भएको छ । बाङलादेशमा सरकार परिवर्तनसँगै भारतसँगको संबन्ध पनि परिवर्तन हुन्छ । यो २१ औं शताब्दीमा पनि भारत भुटानलाई दास बनाउने षडयन्त्रमा लागेको छ । चीनसँग पनि संबन्ध जोड्नु पर्छ भन्ने भुटानी सरकारलाई दिल्लीले डाँडा कटाई दियो । चीन र भुटानको सीमानामा रहेको डोक्लामलाई हाम्रो हो भनेर चीनसँग युद्ध गर्ने धम्की दिएको धेरै दिन भएको छैन । भारत, चीन र भुटानको न्यायधिश त हैन नि ! 
उसै पनि अर्काको सीमाना मिच्ने काममा भारत उहिल्यैदेखि खप्पीस छ । १९४८ सम्म नेपाली भएको ठूलो भूखण्ड अहिले भारतको भएको छ । १९६० सम्म नेपाललाई मालपोत तिर्ने गाउँहरु अहिले भारतीय सेनाको कब्जामा छन् । भारतले त नेपालको चिहानडाँडो पनि छोडेको छैन । दिल्लीले नेपालतिर टेढो आँखा लगाउँदा भारतीय जनताले के नाफा पाउँछन् ! दिल्लीको अहम् तुष्टी बाहेक अरु केही पाउँदैनन् तिनले । भारतले बुझे हुन्छ – नेपाल र भुटानलाई केही दिनु पर्दैन । यिनले पाउने अन्तर्राष्ट्रिय अधिकार मात्र दिए पुग्छ । भुटान र नेपाल दुबैलाई भारतले सहयोग नदिए पनि हुन्छ । यी दुई देशलाई दिने सहयोग कटाएर, आफ्नो देशका मान्छे भोकै नमरुन्, आफ्नो देशका किसानले आत्महत्या नगरुन् भनेर सोचिदिए पुग्छ । भारतका किसानलाई आत्महत्या गर्न लगाएर, गरीब नागरिकलाई भोकभोकै मराएर दिल्लीले नेपाललाई आर्थिक सहयोग दिनु र हामीले त्यो लिनु भनेको अपराध हो । भारतले आफ्नालाई गरोस्, हामी आफ्नालाई खुवाउन सक्छौं । भारतले भोलि घोषणा गरोस, हामी नेपाललाई आर्थिक सहयोग दिन सक्दैनौं भनेर । हामी खुशी भएर त्यसको स्वागत गर्नेछौं । भारतसित हामीले खालि एउटा सभ्य छिमेकीको ब्यवहार मागेको मात्र हो । कहिले नाकाबन्दी लगाउने, कहिले कलकत्ता बन्दरगाहमा दुःख दिने, हामीले पाउनु पर्ने बाङ्लादेश मार्ग सँचालन हुन नदिने जस्ता गलत अनि नचाहिँदो काम गरेर हामीलाई दुःख नदिने हो भने भारतसँग नेपालको मैत्री सुमधुर नहुने कुरै छैन । दिल्लीले के मात्र बुझिदिए हुन्छ भने नेपालका केही अन्तर्राष्ट्रिय अधिकार छन्, जसको सम्मान भारतले गर्नु पर्छ । त्यसपछि भारतले नेपालको नाम बिर्सिदिए पनि हुन्छ ।
तर भारतीय जनताले जति सुख पाउने भए पनि यस्तो राम्रो काम हुनु दक्षिण एशियामा संभव छैन । भारत यस्तो काम गर्नै चाहँदैन । देशका किसानले आत्महत्या गरी रहुन्, तर छिमेकी मुलुकका स्थानीय मामिलामा हस्तक्षेप गर्न छोडिंदैन – यो दिल्लीको चेतना हो ।
मिथ्यांकशास्त्रीहरुले जे जस्तो गफ गरे पनि केही अपवाद राष्ट्रलाई छोडेर सबै राष्ट्रका नागरिकमा गरीबहरु झन गरीब र धनीहरु झन झन धनी बन्दै गएका छन् । यो मैले नेपाल सन्दर्भमा मात्र भनेको होइन । भारतको हालत पनि यस्तै हो । नेपालमा आधारभूत रेखामुनिको गरीबी घट्यो भन्ने पनि पढियो । आर्थिक वृद्धि प्रतिशत साढे सातसम्म जान्छ भन्ने पनि पढियो । नेपालमा बेरोजगारको संख्या दश हजार मात्र छ भन्ने पढियो । गहिरिएर हेर्ने हो भने यी कुनै तथ्याङ्कमा सच्चाइ छैन । रोजगारी न्यूनिकरण गर्ने भनेको आधारभूत रुपमा बैदेशिक रोजगारी हो । बैदेशिक रोजगारीमा कुनै सुरक्षा हुँदैन । अपमान र मृत्यु बैदेशिक रोजगारीका नयाँ आयाम हुन् । मुलुकको भ्रष्ट व्यवस्थाका कारण नेपालबाट बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षा प्रत्याभूति समेत हुँदैन । 
‘लम्पसारवाद’ नेपाली राजनीतिमा एउटा नयाँ शब्द जन्मिएको छ । यो लम्पसारवादका प्रणेता नेपालका प्रधानमन्त्री श्रीमान शेरबहादुर देउवा हुन् । सबैले भन्दै आएको यो शब्द मैले यहाँ उल्लेख गरेको मात्र हुँ । राजनीतिमा उहाँलाई नचिन्ने कोही छैनन् ।