Apr 27, 2024, 01:57 AM

FOLLOW: FacebookTwitterYoutube

इतिहास पुनर्लेखनको आवश्यकता

इतिहास पुनर्लेखनको आवश्यकता
प्रदीप नेपाल
राजधानी चैत

नेपालमा हामी जस्तो विषयलाई इतिहास भनिरहेका छौं, वस्तुतः त्यो कथा हो । सुन्दा झनक्क रिस उठ्ला इतिहासलाई अनुसन्धानको विषय नबनाउनेहरुलाई । तर दर्जनौं उदाहरण छन्, हाम्रो इतिहासलाई बिगार्ने त्यस्ता प्रमाणहरु ।
पौराणिक कालमा नेपाल भूमिलाई देवभूमि भनिन्थ्यो । तर काठमाण्डौ खाल्डोलाई लामो समयसम्म नेपालको इतिहासको एक मात्र धरातल मानियो । महामन्जुश्रीले मच्चाएर चोभार काटेका हुन् भनेर रचिएको कथा अहिले पनि इतिहासको परिचय बोकेर सुतिरहेको छ । वागमती र विष्णुमतीको दोभानमा ने नाम गरेका मुनीले तपस्या गरेर धर्माकरलाई राजा बनाएको हुनाले हाम्रो देशको नाम नेपाल रहन गएको हो भन्ने कथालाई पनि हामीले अहिलेसम्म इतिहास मानिरहेका छौं । 
यस्ता किंवदन्तीलाई केही वैज्ञानिक तथ्यहरुले खारेज गरिसकेका छन् । काठमाण्डौ उपत्यका ठूलो पोखरी थियो । पानीले निकासको ढोका खोल्छ  । त्यो निकास चोभार भयो । यो निकास खोलिन हजारौं वर्ष लाग्यो । पानी सुक्दै जान थालेपछि अग्ला ठाउँहरुमा मानव वस्ती बस्न थाल्यो । उत्खनन गर्ने जाँगर नभएका कारण धेरै चिनारीहरु धर्तीमा छोपिएका छन् । तर कुन करो सत्य हो भने मानव बसोबास र सभ्यताको विकास वागमती विष्णुमतीको दोभान होइन, पश्चिमको मातातिर्थ, थानकोट, उत्तरको बुढानिलकण्ठ, पूर्वको साँखुजस्ता ठाउँहरुबाट हुन थाल्यो । जति जति पानी सुक्दै गयो त्यति त्यति नै मानव वस्ती तल तल झर्न थाल्यो । थानकोटबाट सतुंगल हुँदै बल्खु आइपुगेको बसोबास हो काठमाण्डौको । 
बरु चिनियाहरुले दिएको विवरण नेपाल नामाकरणको बस्तुसम्मत देखिन्छ । उनीहरुले यसलाई ‘उनको देस’ भनेका छन् । भेडा पाल्ने, उन निकाल्ने, त्यसबाट विभिन्न खाले कपडाहरु बनाउने र तिब्बततिर लगेर बेच्ने कुरो स्वभाविक देखिन्छ । यदि हामी ने मुनिको तपस्याको वैज्ञानिक कारण दिन सक्दैनौ भने हामीले यो किंवदन्तीको चर्चा गरिरहन सुहाउँदैन ।
नेपालमा भृकुटी र सीता दुबैलाई विशिष्ट व्यक्तित्व मानिन्छ । ती दुबै बजैहरुलाई राष्ट्रिय विभूति मानिएको छ । हाम्रा राष्ट्रकविले ‘सीताले सारा भिजाइन् दक्षिण लंका भारत, भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत’ भनेर उनीहरुको सुन्दर, काव्यात्मक परिचय पनि दिएका छन् । तर यी दुबै बजैहरु इतिहास होइन, किंवदन्तीका पात्र बनाइएका छन् । भृकुटीलाई अँशुवर्माकी छोरी भनिएको छ । नेपालका क्षेत्री महासामन्तकी छोरीको विवाह भोटे राजा श्रङचन गम्पोसँग गराइएको छ । यो आफैंमा अस्वभाविक छ । तर पनि अँशुवर्मा र भृकुटी बीचको सम्बन्धलाई सुन्दर कथाको इतिहास बनाइएकै छ । 
धरातलीय यथार्थ अर्कै रहेछ । तत्कालीन समयको सत्ता संघर्षमा हारेपछि  सामन्तहरुको भागेर जाने ठाउँ तिब्बत रहेछ । भृकुटीका बाबु ध्रुवदेव भागेर उतै बसेका रहेछन् । उनको परिवार उनीसँगै गयो । भृकुटी तिब्बती सभ्यताप्रति अभ्यस्त पनि भइन् । उतैको सहयोग लिएर ध्रुवदेवले नेपालमा आफ्नो हैसियत बनाए । तिब्बतमा वाल्यकाल बिताएको र तिब्बती सम्राटप्रति अनुग्रह प्रकट गर्नु पर्ने अवसर पनि पाइने भएको हुनाले ध्रुवदेवका सन्तानहरु श्रङचन गम्पोसँग भृकुटीको विवाह गर्न सहज भएको बुझ्न सकिन्छ ।
सीताको जीवन यो भन्दा बढी रहस्यमय छ । उनको जन्म नै रहस्यको मूल कारण हो । शीरध्वज जनकले हलो जोत्दा सीताजी पृथ्वीबाट उत्पत्ति भइन् । पृथ्वीबाट कोही जन्मिदैन । यो सबैलाई थाहा छ । रामायण, गण्डकी किनारमा बसेर संस्कृतका आदिकवि वाल्मिकीले लेखेको महाकाव्य हो । दक्षिण भारतका विद्धानहरुले रामायणको भौतिक उपस्थितिप्रति असहमति जनाएका छन् । तमील विद्धान मक्कामल नागभुषणमले रामायणमा दक्षिण भारत र श्रीलंकाको जस्तो चित्रण गरेको त्यो नितान्त काल्पनिक भएको र कवि वाल्मिकीको युगचेतना जबलपुर भन्दा उत्तरतिरै फनफनी घुमेको ठोकुवा गरेका छन् । भौतिकवादी पुराणवाचक वालकृष्ण पोखरेलको खसजातिको इतिहास पढ्दा रामकथा उत्तरी अफ्रिका र भूमध्य सागरतिर गएर रिङ्न थाल्छ । तर मिथिला वा विदेह राज्य थियो । शीरध्वज जनक पनि थिए । यो इतिहास प्रमाणित कुरो हो । सीताको जन्म पनि कुनै न कुने हिसाबले भयो होला । तर रामसँग सीताको विवाह, वनगमन, रामरावण युद्ध अहिलेसम्म गाथामा मात्र उनिएका छन् । तिनको वैज्ञानिक अनुसन्धान भएको छैन । 
यहाँ मैले भृकुटी चाहिं राष्ट्रिय विभूति हुन सक्छिन् तर सीता बजै हुन सक्तिनन् भन्न खोजेको होइन । यस्तो आशय प्रकट भएमा भारतीय प्रधानमन्त्री र उहाँका घनिष्ट सहयोद्धाले फेरि नेपालमा नाकाबन्दी लगाउन बेर छैन । मैले भन्न खोजेको यत्ति मात्र हो – जसरी ताङ वृत्तान्तबाट भृकुटीको विवाह पुष्टी भएको छ, त्यसरी नै प्राचीन मिथिलाको इतिहास उत्खनन गर्ने जिम्मेवारी नेपाल र भारतका विद्धानहरुको जिम्मेवारी बनेको छ ।
यहाँनेर रामायण र .महाभारतको तुलनात्मक अध्ययनको आह्वान गर्नु पनि सान्दर्भिक होला । समाज विकासको वैज्ञानिक ज्ञानको आधारमा भन्ने हो रामायण भन्दा महाभारतको समय पुरानो छ । महाभारतमा मातृतन्त्रका अवशेष भेटिन्छन । जस्तो बिहे नगरी राधा–कृष्णको जोडी बन्नु, बिहे नगरी कुन्ती आमा बन्नु, गणनेताको परिवारमा समेत परपुरुषबाट सन्तान उत्पादन गर्नु, द्रौपदीको पाँच पति हुनु, यी विवरणले ओरालो लागेको मातृतन्त्रको समय जनाउँछ । तर रामायणमा नारी सम्पूर्ण हिसाबले पुरुषकी पछुवा भएकी छ । दासी भएकी छ । महाभारतको बहुपति प्रथा रामायणमा बहुपत्नी प्रथामा रुपान्तरित भएको छ । महाभारतकी स्वतन्त्र नारी रामायणमा पतिको दासी भएकी छ । महाभारतमा अपमानित द्रौपदी विध्वंशकारी युद्धको कारण भएकी छ भने त्यस्तै युद्धको कारण अपमानित भएकी सीता, झन अपमानित भएर आत्महत्या गर्न वाध्य भएकी छन् ।
पुराना कुरामा धेरै नजाउँ । यो विद्धत समुदायको गहन अध्ययनको विषय हो । पछिल्ला दिनमा पनि,  नेपालको इतिहास, वास्तविक इतिहास बन्न सकेको छैन । जस्तो पृथ्वीनारायण शाहकै कुरा गरौं । पृथ्वीनारायण शाह साहसी मात्र होइन दुस्साहसी युवा थिए । उनी आगो जस्तै खरा थिए । नुवाकोटको जित उनको राज्य विस्तारको अभियान थिएन । आफ्ना बाबु नरभुपाल शाहलाई नुवाकोटेहरुले पराजित गरेको हुनाले उनी तिनलाई दण्ड दिन चाहन्थे । नुवाकोट जितेपछि उनी त्यहीँ आफ्नो राजधानी बनाएर बस्न चाहन्थे । उनले नुवाकोटको फराकिलो डाँडामा निर्माण गरेका संरचनाले यो सच्चाइको  पुष्टि गर्छन् ।
तर पृथ्वीनारायण शाह, आफ्नो वंशका मात्र होइन, सिंगो नेपालका दूरदृष्टि भएका राजनयिक थिए । नुुवाकोट युद्धमा विजय पाएपछि उनको अहं शान्त भएको थियो । तर उनले भारतमा व्यापारिक कंपनीको आवरणमा आएको बेलायती उपनिवेशवादको खतरालाई पनि देख्न थालेका थिए । भारतमा राजाहरु कि युद्धमा मर्दा थिए, कित अंग्रेजको दासत्व स्वीकार्दै अपमानित जीवन जिउँदै थिए । सुरा थिए पृथ्वीनारायण शाह । उनले दासत्वको मरण चाहेनन् । त्यसैले उनले बेलायती उपनिवेशको सिरानमा एउटा स्वतन्त्र राज्य खडा गर्ने अभियान संचालन गरे । उनी मरे पनि उनको अभियान मरेन । त्यसैले उनको मृत्युपछि पनि स्वतन्त्र नेपाल राज्यको सीमाना फैलिंदै गयो ।
तर यो घाम जत्तिको उज्यालो सत्य पनि कथा बनेको छ नेपालको इतिहासमा ।  जस्तो, गुरु गोरखनाथको छाद खाएको भए, पृथ्वीनारायण शाहको विजय अभियान सोचेजति नै हुन्थ्यो । तर त्यो छाद उनको खुट्टामा झरेको हुनाले जित्ने राज्यको भूमिमा उनले टेक्नै पर्ने भयो । यस्तो उटपटाङ सोच पनि हाम्रोमा इतिहास भएको छ । पृथ्वीनारायण शाहसँगै जोडिएको अर्को एउटा कथा पनि इतिहासमा अटाएको छ ।
घाइते भएर मृत्युको मुखमा पुगेका जयप्रकाश मल्लसँग पृथ्वीनारायले सोधे – तपाईंको अन्तिम इच्छा के छ ? जयप्रकाश मल्लले जवाफ दिए – छाता र जुत्ता । बाठा पृथ्वीनारायण छाता र जुत्ता भनेको राज्यको अधिकार हो भनेर बुझे । त्यसैले उनले भने – मेरो नातीको पुस्तामा तपाईंले छाता जुत्ता पाउनु हुनेछ । 
तिनै जयप्रकाश मल्ल रणबहादुर शाह भएर जन्मिएका हुनाले तिनले बहुलट्ठीपूर्ण राज गरेका हुन् ।
यस्तो पनि हुन्छ इतिहास ? नेपालको शाहकालीन इतिहासले प्रमाणित गरेको एक र अन्तिम सत्य हो – पृथ्वीनारायण शाहपछिका गद्दीका कुनै पनि हकदार योग्य भएनन् । तिनका छोरा, नाती कोही योग्य भएनन् । सुख सयल र भोगविलाशमा रमाएका तिनका सन्तान, राज्यको विस्तारमा कहिल्यै लागेनन् । यो काम राजा होइन, पृथ्वीनारायण शाहका गद्दीका अधिकारीद्धारा बेस्सरी सताइएका कान्छा छोरा बहादुर शाह, तथा पृथ्वीनारायण शाह र बहादुर शाहको पौरखबाट प्रभावित भएका रानी र चौतरियाहरुबाट अघि बढेको छ ।
म इतिहासको विज्ञ होइन । मैले पछिल्लो समयमा पढेका एक दर्जन जति किताबहरुले मलाई माथिको टिप्पणी लेख्ने ज्ञान दिएका हुन् । नेपाल, दक्षिण एशिया मात्र होइन, विश्वका थोरै सभ्य र सम्पन्न मुलकमा सूचीकृत हुने सामथ्र्य राख्छ । नेपालमा मानव बसोबासको प्रमाणित समय छ हजार वर्षसम्म पुगेको छ । ऋग्वेदको सम्पादन यही नेपाल भूमिमै भयो । गौतम वुद्धले यसै भूमिमा ल्याए शान्तिको नौलो बिहान । ऋग्वेदको संपादनलाई पैंतिस सय वर्ष परसम्म तानेका छन् विद्धानहरुले । 
तर हामी कतिसम्म हुर्मतहारा भयौं भने, जुन गौतम वुद्धले देवी देवता, पूर्वजन्म, पुनर्जन्म सबै भ्रम हुन् भनेर साढे दुई हज्जार वर्ष अघि भनिसकेका थिए, अहिले हामीले तिनै वुद्धलाई भगवान बनाइदियौं ।