May 8, 2024, 07:07 PM

FOLLOW: FacebookTwitterYoutube

story

घाइते बसहरु
प्रदीप नेपाल
(नागरिक)

म जाँदो थिएँ पोखरा । बस थियो माउन्टेन ओभरल्याण्ड । बिहानको आठ बजे कलंकीमा टिप्यो बसले मलाई । झोला र मलाई सिटमा बसालेर हान्नियो त्यो पश्चितिर ।
धनगढीबाट आएको बस भेटियो थानकोटमा । धनगढीलाई पछ्याउँदै आयो महेन्द्रनगरको बस । त्यसलाई पनि पछ्याउँदै आयो दैलेखको बस । 
बिहानको साढे आठ बजेको थियो नागढुङ्गाबाट पश्चिमतिर लाग्दा ।
धनगढी र महेन्द्रनगरको बस आइसकेको हुनाले नागढुंगा तिर पूर्वका बसहरु पनि रेलको डिब्बाहरु जोडिए जसरी आएका होलान् भन्यो मनले । तर विराटनगर, धरान, काकडभिट्टा र दैलेख जस्तै पहाडको पशुपतिनगर लेखिएका एउटा पनि बस आँखाका सामू उभिन आएनन् । मन कटक्क खायो ।
पूर्वका पनि बसहरु राम्रा थिए । ए.सी. र डिलक्स लेखिएका । पैसा तिर्न गाह्रो नलाग्ने खालका । यति बेलासम्म त तिनीहरु पनि आइसक्नु पर्ने हो । मन पूर्वबाट आउने गाडी नै खोजिरहेको थियो ।
म आफैं दश बाह्र चोटी पूर्वका बस चढेको थिएँ । 
तर सुदूर पश्चिम क्षेत्रका आधा दर्जन बसहरु आइसक्दा पनि मेचीका बसहरु आई नपुग्नु मेरो मन दुखाउने कुरा भयो । किन आउँदैनन् पूर्वका बसहरु !
नागढुङ्गा कटेपछि खानीखोला नआइन्जेलको बाटोको सास्ती कहिल्यै नसकिने रहेछ । २०२६ सालदेखि निरन्तर हिँडिरहेको छु यो बाटो । जति दिन बित्छ त्यति सप्रिनु पर्ने हो बाटो भन्ने लाग्छ । तर यो बाटो कहिल्यै सप्रिएन । पहिले सारै साँघुरो थियो । पछि फराकिलो त भयो, तर बाटो सैलुङको लहरे डाँडो जस्तो भयो । पचास वर्षमा पनि सप्रिन सकेन यो बाटो । घडक्क, घडक्क । गुल्थुङ, गुल्थुङ । भुक्क, भुक्क । उफ्रिएको हो कि रमाइलो गरेको हो ! यात्रीलाई भने सास्ती ।
एक पल्ट यतै कतै सुरुङ खनेर बाटो सजिल्याउने रे भन्ने सुनिएको थियो । तर दर्जनौं यस्ता गर्ने रे, सँग यो सुरुङ पनि काम गर्नु नपर्ने ऐतिहासिक प्रतिवेदनमा समेटिएर धुल्याहा नलाग्ने गरी कतै थन्किएको होला ।
म बहकिन थालें । लेख्ता यस्तै हुँदो रहेछ । 
मन र आँखा दुबैले कम्तिमा पनि एउटा काकडभिट्टा वा धरानको बस हेर्न खोजिरहेको थिए । तर आइरहेछन् लगालग सुदूरपश्चिमका बसहरु । 
चिया खुवाउने ठाउँ फेरेछन् पोखरा चल्ने पर्यटक बसहरुले । खानीखोला पनि आइनपुग्दै, सिक्रेखोलाका वारीपट्टको डाँडामा नयाँ बनेको चमेना गृहका अगाडि गाडी रोकियो । 
‘चिया खानुस है’ भन्दै सहचालक भाइले ढोका खोलिदियो । यहाँ पहिले चिया खुवाउने ठाउँ थिएन । घुम्ति काटेर बाटो मिलाउँदा पुरानो बाटोको निकास थियो कि जस्तो लाग्छ ।
पहिले ‘फ्रेस’ भइयो । यो हो सँस्कृतिक अतिक्रमणको भाषा । हाम्रो भाषामा पिसाब फेरियो ।
किन बेकारमा मानिसहरु फ्रेस भन्छन् ? फ्रेस भन्दा पिसाब फेर्ने भनेर बुभिंmदैन । हल्का हुनु, तरोताजा हुनु भन्ने अर्थ निस्किन्छ फ्रेस भन्दा । पिसाब फेरेर के को तरोताजा भइन्छ बसलाई घुल्डुक घुल्डुक उफार्दै हिँड्ने बाटोमा !
‘कफी छ ?’ बाटामा चिया भन्दा कफी खान मन लाग्छ मलाई ।
‘चिया छ ।’
कफी छैन नभनी भाइले भाइले आफ्नो पसलमा कफी नभएको जानकारी गराए ।
तातो पानी नभए चिसै पानीले नुहाउँ ।
चिया पिएर फेरि बाटो लागियो ।
तस्करी बढेछ कल्पना गर्न नसक्ने गरी । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भयो भनेर काठमाण्डौमा ढोल पिटिएको छ । तर यहाँ त हानाथाप गरेर गाडीहरु गुडिरहेछन् ।
‘इश्वरले चाहेमा पाँच सात दिनमा नाकाबन्दी खुल्छ भनेकी थिइन् ब्राह्मणपुत्री भारतीय विदेश मन्त्रीले । शायद उनलाई बाबु अथवा आमाले ज्योतिष ज्ञान सिकाएका हुनन् । 
तर मलाई लाग्यो अब नाकाबन्दी खुल्दैन । भारतीय विदेश मन्त्रीले नाका खोल्ने भविष्यवाणी गरे पनि तस्करहरुको बलियो समूले अब नाकाबन्दी खुल्न दिँदैन । तस्करको कुनै जात हुँदैन, कुनै देश हुँदैन, कुनै धर्म हुँदैन । अरु सबै त छाडिदिउँ, तस्करमा सामान्य मानविय संवेदना समेत हुँदैन । एक सय रुपियाँमा पाइने तेल पाँच सय रुपियाँमा बेच्न पाउने कारोबार कसले सजिलै छोड्छ ? भारतको नाकाबन्दीले तस्करीलाई राम्रो मल जल गरेछ ।
जोगी जुलन्तरीको राजमा कहाँ फलो न्याय र प्रगतिशिलता !
धार्केको ढाटमा त हामी जाममै प¥यौं । सातौ नम्बरमा थियो हाम्रो गाडी । हाम्रो अघिल्तिर उभिएका सबै गाडिहरु नीजि नम्बरका जीप थिए ।
देशलाई हरिकङ्गाल पार्ने तस्कर, तिनीहरुलाई तस्करी गर्न छुट दिने नेपाल र भारतका सुरक्षाकर्मीहरुलाई बेस्सरी सराप्यो मनले ।
एउटा अपराधबाट बच्न कतै हामी अर्को अपराधीलाई सहयोग त गरिरहेका छैनौं ?
गाडी गुडिरह्यो ।
पूर्वबाट आउने गाडीहरु अहिलेसम्म आइपुगेका थिएनन् ।
‘के सप्पै चालकका टाउका त फुटाएनन् मारकाटको आन्दोलन चलाइ रहेकाहरुले ? एउटा पनि गाडी नआउनुको कारण के हो ?’
सबैलाई मारकाट, त्यसमाथि एम्बुलेन्सको चालकलाई टाउको फुटाउने, एम्बुलेन्स डढाउने मधेस आन्दोलनको विशेष चरित्र भएको छ अहिले । मारकाट र आगजनी सहितको ‘भारतीय मूल के मधेसियों’ (भारतीय मिडियाको साभार) को नेतृत्वमा संचालित मधेस आन्दोलन भन्दा, अहिलेको आन्दोलनको सहि ‘पहिचान’ खुल्छ ।
धादिङ बजार जाने मोडमा एउटा अनौठो बस उभिएको देखें मैले । उहिले उहिलेका बहादुर योद्धाहरु फलामका कवच लाउथे । अहिलेका प्रहरीहरु ढुङ्गे आन्दोलनबाट जोगिन प्लास्टिकका ढाल बोक्छन् । बस पुराना योद्धाहरुको प्रतिरुप थियो । त्यसको अगाडिको ठूलो सिसा चक्राकारमा बुनिएका फलामे जालिले छोपिएको थियो । 
‘लु हान् त ढुङ्गा ! लु आइज, भिड्ने भए भिड्ने ! अझै हान्छस् ढुङ्गा ?’
बस त मलाई पो चुनौती दिइरहेको थियो ।
चालकको सिट पछिल्तिर बसेको थिएँ म । त्यसैले उताबाट आउने गाडि छ्याङ्ग देखिन्थ्यो । त्यो योद्धा बसको माथि हेरें मैले । खुसी लाग्यो । त्यहाँ लेखिएको थियो, काकडभिट्टा ¬– काठमाण्डौ ।
फलामे अङ्गवस्त्र लगाएको बस देख्ता पनि मन रमायो । बल्ल बल्ल पूर्वबाट एउटा बस आएको थियो । ढुङ्गामुढालाई चुनौती दिंदै आएको थियो ।
तर मेरोे खुशी दुई मिनेट पनि टिकेन । अगाडिको प्लास्टिक च्यातिएर ह्वाङ्गै भएको बस विस्तारै आँखा अगाडि आयो ।
‘लौ दाइ, तिमी जाउ है, तिम्रो त सिसा सद्दे रहेछ’ भन्दै काठमाण्डौ तिर लाग्यो । शायद गए राती यो बलियो प्लास्टिकले ढुङ्गा, मुढा या गँडासाको सामना गर्नु प¥यो होला ।
च्यातिएको प्लास्टिकको छिद्रबाट आएको चिसो हावालाई पन्छाउँदै बलियो छाति भएका ती चालक भाइले कसरी हाँकेर ल्याए हुनन् यति लामो बाटो ! 
मैले ती भाइलाई सलाम गरें । 
बिजोक देख्नु पर्ने अभागी खप्पर रहेछ मेरो । त्यसपछि जति बस भेटिए, ती सबै घाइते थिए । आधा दर्जनले अगाडिको सिसालाई माथि र तल दुबैतिर टिनले नै छोपिदिएका थिए । तिनलाई अगाडि चल्ने बस साथीहरु टुचिन लगाएर तानेका पनि थिएनन् । 
ती सबै बसका चालकहरुलाई मैले सलाम गरेँ । 
ती गाडीलाई अगाडिबाट तोडफोड गरेर चालकलाई सास्ती दिनेलाई सराप्नु मेरो स्वभाविक कृया थियो । अर्को गाडी मेरो आँखाबाट सररर बगेर गयो । मेरा आँखा ठूला भए । बसको टाउकामा लेखिएको थियो, काठमाण्डौ–सिराहा – माडर । गज्जब । प्रदेश नंबर २ को साइनबोर्ड लागेको गाडीमा कुनै तोडफोड भएको थिएन । त्यसको पछि पछि अर्को गाडी आइरहेको थियो । फेरि गज्जब । त्यो पनि प्रदेश नंबर दुई कै गाडी थियो । त्यसको टाउकामा लेखिएको थियो– राजविराज – काठमाण्डौ ।
    अर्थात ढुंगामुढा गर्नेलाई पनि थाहा रहेछ तोडफोड मच्चाउनु पर्ने गाडी कोशी पूर्वका मात्र रहेछन् ।
मलेखु माथिको डाँडामा जम्मा एउटा होटेल हुँदादेखि भात खान्थें म । बैकुण्ठपुरी नाम राखेका थिए साहुजीले त्यो उराठ डाँडोको नाम । हुँदा हुँदै त्यो डाँडो चिनिनै नसकिने गरी फेरियो । अहिले त त्यो गजुरीलाई चुनौती दिने भैसकेको थियो । 
मलेखु डाँडाको तल फेदमा खाना खुवाउने गरिंदो रहेछ । त्यो गहिरोलाई पनि मलेखु नै भनिदो रहेछ ।
एक जोडि दम्पतिको छेउमा उभिन पुगें म । दुबैले नमस्ते गरे मलाई ।
‘नचिनिकनै नमस्ते फर्काउनु प¥यो’ मैले अप्ठ्यारो मान्दै भनें ।
‘हामी हजुरलाई चिन्छौं । म हजुरको पाठक हुँ ।’ भाइले भने
मन न हो । चाँडै खुशी हुन्छ । 
‘टिभीमा देखेर हामी हजुरलाई चिन्छौं । हजुरले हामीलाई देख्ने कुरो भएन ।’ बैनीले प्रष्ट पारिन् ।
धेरैले खाना लिएको देखेर पनि मलाई भोक लागेन । किनभने बिहान साढे सात बजे म राम्रो खाजा खाएर घरबाट निस्किएको थिएँ ।
‘दाइ, हजुरलाई मैले बिहानै चिनेको रहेछु, तर ढुक्क थिइन । अहिले ढुक्क भएँ ।’
पच्चिसे उमेरका ती भाइको कुरो सुनेर म छक्क परें ।
‘किन ? कसरी ? अहिले किन भनेको ?’ बग्रेल्ती प्रश्नहरु मैले पोखें ।
‘तपाईँलाई मैले बिहानै चिनेको रहेछु । तर तपाईंजस्ता मान्छेहरु बसमा यात्रा गर्छन् भनेर मैले कल्पनासम्म गर्न सकेको थिइन । अहिले पक्का भएर मैले तपाईंलाई भनेको ।’
‘हामी जस्तो मान्छे बसबाट यात्रा गर्दैनन् भनेर कसले सिकायो तिमीलाई ?’
‘कसैले सिकाउनै पर्दैन । यो हामीले जानेकै कुरा हो । मन्त्री र ठूला नेता भैसकेका मानिसहरु कित हवाईजहाजमा उड्छन् कि राम्रा र महङ्गा जिपमा गुड्छन् । फेरि तपाईंसँग त ‘पिएसओ’ (नीजि सुरक्षा अधिकृत) पनि छैन ।’
उसको वाक्पटुता र चातुर्य देखेर मलाई रमाइलो लाग्यो ।
‘ए संघिय गणतन्त्र, तँसँग कुनै विचार बाँकि छ भने यस्ता युवाहरुले भनि दे, ‘घुम्ने कुर्चीमा बस्तैमा कोही ठूलो हुँदैन । कुर्ची सान होइन, जनताको सेवक हो । कर खानेहरु ठूला होइनन् । कर तिर्नेहरु ठूला हुन् । ‘पिएसओ’ मालिकको सेवा गर्ने दास होइन, त्यो पनि हो जनताको सेवक ।’
सुन्दर छ हाम्रो संघिय लोकतान्त्रिक गणतन्त्र । यस्तो गणतन्त्र जहाँ गण दास भएको छ अनि गणनायकहरु मालिक भएका छन् ।

२५ मंसिर ०७२
पोखरा ।